काङ्ग्रेसको हिसाबकिताब कस्तो छ ?
महाधिवेशनको मिति तोक्नै महाभारत परेको मुलुककै जेठो पार्टी नेपाली काँग्रेसमा जारी विवाद तत्काल साम्य नहुने देखिएको छ । डेढ महिना लामो रस्साकस्सीपछि आगामी पुस (२६-२८ गते) मा १५औँ महाधिवेशन गर्ने सहमति जुटेसँगै विवाद निप्टिएको ठानिए पनि भावी नेतृत्वका लागि त्रिपक्षीय हानथाप शुरु भएको छ । नेतृत्वका आकांक्षीहरू आ-आफ्नो शक्तिको आकलन गर्दै आन्तरिक जोडघटाऊमा लागिसकेका छन् ।
काँग्रेसको विधानमा यौटै व्यक्ति दुई कार्यकालभन्दा बढी सभापति हुन नपाउने व्यवस्था रहेकाले वर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको दौडमा छैनन् । जेनजी आन्दोलनका बेला घरमै कुटिएका उनले उपचारका लागि सिंगापुर जानुअघि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सुम्पिएपछि राजनीतिबाटै विश्राम लिएको अनुमान गरिएको थियो । तर,उताबाट फर्किएपछि पहिलेभन्दा बढी सक्रियता देखाएका देउवाले पार्टीमा आफ्नो दबदबा कायमै रहेको सन्देश दिएका छन् ।
पत्नी आरजुको व्यवस्थापनको सुनिश्चितता खोजिरहेका उनले भावी नेतृत्वबारे अहिलेसम्म मुख खोलेका छैनन् । तर,सभापतिको दावेदारी प्रस्तुत गर्दै आएका महामन्त्री गगनकुमार थापा र देउवाबीच मिलेर जाने भित्री समझदारी जुटेको कांग्रेस वृत्तमा चर्चा छ । पदीय लेनदेनमा दुई जनाले कुरा मिलाएको दावी गर्दै काँग्रेसका एक नेता सुनाउँछन्,'संसद पुनर्स्थापना भएको खण्डमा संसदीय दलको नेता नफेर्ने शर्तमा गगनलाई सभापतिको उम्मेदवार बनाउनेगरी सहमति भएको हो ।'
इतिहासमै सबैभन्दा लामो अर्थात् ४९ दिनसम्म चलेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अन्तत: नियमित कि विशेष महाधिवेशन भन्ने विवाद अन्त्य गर्दै नियमित महाधिवेशन गर्ने निर्णयमा पुग्यो । विशेष महाधिवेशनको माग गर्दै आएका गगनले निर्णयमा नोटअफ डिसेन्ट लेखेका छन् । तर,यो सबै बाहिर देखाउनका लागि मात्र गरिएको दावी ती नेताले गरेका छन् ।
'केपी ओलीले दिनदिनै फोन गरेर संसद पुनर्स्थापना हुन्छ,प्रधानमन्त्रीको तयारी गर्नुस् भनेर कन्भिन्स गरेका रहेछन्', देउवाका विश्वासपात्रहरूमार्फत् चुहिएको भित्री कुरा सुनाउँदै एक नेता भन्छन्, 'पहिला पनि ओलीले समयमै छोड्छन् अनि प्रधानमन्त्री हुन्छु भनेर ढुक्क थिए । त्यही विश्वासमा पर्दा देशै ध्वस्त भयो । आफैँले दुर्दिन ब्यहोर्नुपर्यो । तर,अझै चेतेका छैनन् ।'
स्रोतका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाको टिकट वितरणमा आफ्नो हिस्सेदारी खोजिरहेका गगनलाई मनाउन देउवाले सहमति जनाएपछि बैठक सो निर्णयमा पुगेको हो । काँग्रेसमा लामो समयदेखि संस्थापन र इतर खेमाबीच ६०-४० को अनुपातमा भागबण्डाको राजनीति चल्दै आएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको टिकट वितरणमा पनि यसैगरी भाग लगाउने गरिएको छ । अघिल्लो चुनावमा इतर पक्षबाट शेखर कोइरालाले त्यसको जिम्मा पाएका थिए । अब भने गगनलाई पनि भाग लगाइने छ ।
'आफ्ना मान्छे धेरै बनाएर पार्टी कब्जा गर्ने रणनीतिअन्तर्गत यसमा गगन सहमत भएका हुन्', स्रोतको दावी छ, 'यसबापत संसद पुनर्स्थापना हुँदा देउवालाई प्रधानमन्त्री बनाउन गगनले सघाउने शर्त छ ।'
विवाद साम्य पार्न उदारता देखाउँदै देउवाले राष्ट्रिय सभामा विशेष महाधिवेशन मागकर्ताहरूलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएको पनि भनिएको छ । राष्ट्रिय सभाको रिक्त १८ सदस्यका लागि आगामी माघमा निर्वाचन हुँदैछ । यदि काँग्रेसले अन्य पार्टीसँग गठबन्धन गरेन भने गगनको भागमा कम्तिमा पाँच जना पर्नेछ । उनको कोटाबाट मधु आचार्य,मनोजमणि आचार्य, फर्मुल्ला मन्सुर र सुवास पोखरेलको बढी सम्भावना रहेको बताइन्छ । तर,पछिल्लो समय कित्ता फेरेर गगनतिर लागेका कोषाध्यक्ष उमेश श्रेष्ठलाई समेट्न सुवासको नाम काटिनसक्ने चर्चा पनि छ ।
त्यसो त,जेनजी आक्रमणको शिकार बनेका बेला गगनले सामान्य सहानुभूतिसमेत प्रकट नगरेकोमा देउवा दम्पतीले चित्त दुखाएको थियो । बरु आक्रमणकारीलाई थप मनोबल बढ्ने गरी उनले आन्दोलन जायज थियो भन्ने हिसाबले पपुलिस्ट कुरा गर्दै हिँडेको हुँदा देउवाको समर्थन गगनलाई नमिल्ने अनुमान एकथरीले गरेका थिए । तर, देउवाले पार्टीलाई एक ढिक्का बनाउन 'स्टेटम्यानसिप' देखाएको देउवा निकटहरूको दावी छ ।
'केपी ओलीले दिनदिनै फोन गरेर संसद पुनर्स्थापना हुन्छ,प्रधानमन्त्रीको तयारी गर्नुस् भनेर कन्भिन्स गरेका रहेछन्', देउवाका विश्वासपात्रहरूमार्फत् चुहिएको भित्री कुरा सुनाउँदै एक नेता भन्छन्, 'पहिला पनि ओलीले समयमै छोड्छन् अनि प्रधानमन्त्री हुन्छु भनेर ढुक्क थिए । त्यही विश्वासमा पर्दा देशै ध्वस्त भयो । आफैँले दुर्दिन ब्यहोर्नुपर्यो । तर,अझै चेतेका छैनन् ।'
यता,देउवा र गगन मिलेको खण्डमा आफूलाई कठिन हुने बुझे पनि शेखर कोइरालालाई केन्द्रीय कार्यसमितिको निर्णयको विरोध गर्नसक्ने अवस्था छैन । शुरुबाटै कुनै हालतमा चुनावअगाडि महाधिवेशन हुनुपर्ने शर्त राखेका उनले भनेअनुसार नै पुसमा महाधिवेशन हुने भएपछि नैतिक दबाबमा परेका हुन् ।
नेतृत्व तहमा देउवा र गगनले लेनदेनका आधारमा सहमति गरे पनि क्रियाशील सदस्यता कसरी टुंगो लाग्छ र जिल्ला सभापतिहरू को,कता लाग्छन् भन्ने कुराले कसको पल्लाभारी हुन्छ भन्ने निर्क्यौल गर्नेछ । अहिलेसम्म सभापतिको उम्मेदवारका रूपमा चार जना बाहिर देखिएका छन् । देउवाले गगनलाई समर्थन नगरेको अवस्थामा संस्थापन अर्थात् 'सात भाइ' समूहबाट कृष्ण सिटौला र विमलेन्द्र निधिमध्ये एकजना उम्मेदवार हुने सम्भावना छ । १४ औं महाधिवेशनमा समेत सभापति उठेका विमलेन्द्र पहिलो चरणमै बाहिरिएका थिए । १३ औं मा उम्मेदवार बनेका सिटौलाले भने देउवालाई समर्थन जनाएका थिए ।
इतर खेमाबाट शेखर मैदानमा उत्रिसकेका छन् भने गगनले उम्मेदवारी घोषणा गरिसकेको अवस्था छ । देउवा र गगन मिलेको अवस्थामा विमलेन्द्रहरु शेखरसँग मिल्ने सम्भावनाको लेखाजोखा पनि कांग्रेसमा भैरहेको छ ।
अबको इक्वेसन कस्तो होला त ? स्रोत भन्छ- 'गगनले आरजुको व्यवस्थापन गर्ने विश्वास दिलाए उनी देउवाको क्यान्डिडेट हुन्छन् ।' भनिएअनुसार संस्थापनको ठूलो समूहले गगनसँग मिल्न पहिलेदेखि नै देउवालाई दबाब दिइरहेको थियो । काठमाडौँ उपत्यकामा राम्रै प्रभाव भएका ललितपुरका उदय समशेरलगायत थुप्रै युवा नेताले यस्तो भूमिका खेलिरहेको बताइन्छ । 'गगन नेतृत्वमा आउँदा काठमाडौँमा चुनाव जितिन्छ भन्ने उनीहरूलाई भ्रम छ',स्रोतले भन्यो ।
काँग्रेसमा नेतृत्व हात पार्न महाधिवेशन प्रतिनिधिको विश्वास जितेर मात्र हुँदैन,आर्थिक पक्ष पनि उत्तिकै महत्वपूर्ण रहन्छ । प्रतिनिधि चयनमै पैसाको चलखेल हुने भएकाले जसले स्रोत व्यवस्थापन गर्न सक्छ उसले बाजी मार्ने सम्भावना देख्नेहरू पनि छन् । १४ औं महाधिवेशनमा पनि विभिन्न जिल्लामा पैसा बाँडेको चर्चा थियो । त्यसो त काँग्रेसमा प्रतिनिधि किन्न पैसा बाँड्ने चलन गिरिजाकै पालादेखि शुरु भएको हो ।
'महाधिवेशनमा पैसा धेरै छर्न पर्ने बनाए शेरबहादुरले । उनले दिनमा सरदर ३ लाख खर्च गर्ने गरेका थिए', संस्थापनइतर खेमाको दावी छ, 'कार्यकर्ताको बानी बिग्रिसक्यो । शेखरका मान्छे पैसा नपाएकै कारण जिल्ला जान नमान्ने अवस्था छ ।'
बाह्य शक्ति केन्द्रको भूमिकालाई पनि काँग्रेसको आन्तरिक समीकरणमा महत्वपूर्ण 'फ्याक्टर' मानिएको छ । दावी गरिएअनुसार भावी नेतृत्वको विषयमा पश्चिम र दक्षिणको प्रत्यक्ष चासो छ । अमेरिकी लबीको भनिएका गगनलाई रोक्न भारतले कृष्ण सिटौला र विमलेन्द्र निधिलाई शेखरसँग मिलाइदिने सम्भावना स्रोत अस्वीकार गर्दैन ।
दक्षिणको विश्वासपात्र मानिएका शेखरले उत्तरतिर पनि राम्रै सम्बन्ध बनाएका छन् । एमसीसी र बिआरआइमा देश नै कित्ताकाटको स्थिति हुँदा उनी खासै खुलेर बोलेका थिएनन् । त्यसकारण उत्तरको पनि समर्थन रहने हिसाब शेखर निकटहरूको छ । 'एमसीसीमा पनि नबोलेर जिते,बिआरआईमा पनि चर्केर बोलेनन् । यो सन्तुलन रहिरह्यो भने देउवा र गगन मिल्दा पनि भारी पर्न टक्कर दिन सक्छन्', उनी निकट एक नेताले सुनाए ।
'भारतले सशांक र शेखरलाई मिलाइदियो भने ३० प्रतिशत भोट एक ठाउँमा हुने अवस्था छ', भन्छन्, 'पार्टी संकटमा पर्यो,कोइराला परिवार एक भएका छौँ भन्नेगरी गयो भने माहोल अर्कै हुनसक्छ !' यो सम्भव नहुँदा बालकृष्ण खाँण र एनपी साउदलाई आफूतिर तान्न सके गगनलाई टक्कर दिन सकिने हिसाब शेखर समूहको छ ।
टिप्पणीहरू