च्यासलमा भएकाे घोचपेच, देखिएकाे चिडचिडाहट
एमाले उपाध्यक्ष विष्णु पौडेलले सचिव योगेश भट्टराईलाई सुमसुम्याएपछि महासचिव शंकर पोखरेललाई चिडचिडाहट ! अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आसन्न महाधिवेशनमा पेश गर्न तयार पारेको अवधारण पत्र बुझाउन पार्टी मुख्यालय पुग्दा महासचिव शंकर पोखरेलको कार्यकक्ष (हल) मा देखिएको दृश्य हो, यो ।
वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली, सचिव योगेश भट्टराई, स्थायी समिति सदस्य कर्ण थापालगायत नेताहरु अवधारणा पत्र बोकेर हिजो दिउँसो च्यासल पुगेका थिए । त्यसअघि गुण्डु पुगेरै अध्यक्ष केपी शर्मा ओलीलाई अवधारणा पत्र बुझाउने मनासयमा रहेका पोखरेलसहितका नेताहरु पार्टी कार्यालयमै बुझाउने निष्कर्षसहित च्यासल पुगेको बताइन्छ । ‘पहिले पार्टी अध्यक्षलाई नै भेटेर बुझाउने कुरा थियो’, पोखरेल निकटस्थ एक नेताले भने, ‘तर पार्टीलाई बुझाउने पत्र घरघरमा पुगेर बुझाउँदा राम्रो सन्देश जाँदैन कि भनेर च्यासल गयौँ ।’
पोखरेलसहितका नेताहरु कार्यालय पुग्दा पार्टी मुख्यालयको दोस्रो तलमा महासचिव शंकर पोखरेलसँगै प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र स्थायी कमिटी सदस्य खगराज अधिकारी पनि थिए । त्यसपछि अवधारण पत्र हस्तान्तरण सँगै नेताहरुबीच राम्रै घोचपेच भएको थियो ।
शुरुमै महासचिव पोखरेलले ‘तपाईंहरु कार्यालय आउन लागेको समाचारबाट पो थाहा पाएँ’ भन्दै पूर्व जानकारी नगराएकोमा असन्तुष्टी पोखेका थिए । त्यसपछि वरिष्ठ उपाध्यक्ष पोखरेलको सट्टा कर्ण थापाले जवाफ दिँदै भने, ‘घरघरमा गएर पत्र बुझाउन पार्टीको पद्धतीले नदिँदोरहेछ, कमरेड !’
त्यहीबेला अर्का उपाध्यक्ष विष्णु पौडेल पनि हलमा प्रवेश गरे । तर थापा र खगराज अधिकारी घोचपेचमा उत्रिने क्रममा अधिकारीले भने, ‘पार्टीका दुई पूर्व महासचिव (पोखरेल र पौडेल) यहीँ हुनुहुन्छ, पार्टीको पद्धतीबारे उहाँहरुभन्दा बढी कसलाई थाहा होला र !’ त्यसमा थापाको जवाफ उद्धृत गर्दै स्रोत भन्छ, ‘केपी कमरेड नेतृत्वमा आएदेखि पार्टी कहिले पो पद्धतीमा चलेको छ र !’
महासचिव पोखरेलले अवधारणा पत्र बुझिसकेपछि सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीतिर हेर्दै सोही दिन बिहानको पत्रकार सम्मेलनको सन्दर्भ पनि जोडेका थिए, ‘हार्दिक होटलमा कार्यक्रम गर्नुभएछ, भिडियो देखेको थिएँ ।’
त्यसपछि उपाध्यक्ष ज्ञवालीले मुख खोले, ‘प्रेस चौतारीले हामीलाई नेता मानेन, आफैं कार्यक्रम गरेर विचार राख्नुपर्यो ।’ त्यतिबेला महासचिवको छेउमा बसेका चौतारीका इञ्चार्ज राजेन्द्र गौतमले अनुहार बिगार्दै भन्न खोजे ‘त्यस्तो हैन कमरेड ।’ तर सचिव योगेश भट्टराईले थपिदिए, ‘कहिलेकाहीँ यस्तै हुन्छ, हामी बुझ्छौँ नि !’ चौतारीले लामो समयदेखि पार्टी अध्यक्ष ओलीको मात्र भक्तिगान गाइरहेको भट्टराईको आशय थियो ।
नेताहरु हलबाट बाहिरिनुअघि ओलीको पक्षमा खुलेको भनिएका उपाध्यक्ष पौडेल र सचिव भट्टराईबीच देखिएको हार्दिकताले महासचिव पोखरेल, प्रचार विभाग प्रमुख गौतम र स्थायी समिति सदस्य अधिकारीले अर्कै अनुभूत गरेको बताइन्छ । ‘दुई जनाको हार्दिकता देखेर महासचिवज्यूले अनुहार बिगार्नुभयो’, स्रोत भन्छ, ‘विष्णु कमरेडले ठट्टा गर्दै म त एकताबाट आएको हो भने पनि उहाँको अनुहार खुलेको थिएन, भित्रभित्र चिडचिडाहट भएजस्तो देखिन्थ्यो ।’
टिप्पणीहरू