खेल बुझे हुन्छ नि खुरुक्क
– मनोजकुमार कर्ण
केही दिनयता राजधानी काठमाडौंलगायत देशका प्रमुख शहरमा दर्जनौं भुरेटाकुरे संस्थाहरूद्वारा सनातन धर्र्मलाई ल्याउने अनि सोको संरक्षकका रूपमा राजसंस्था ब्यँुताउने खेल भइरहेको देखिन्छ ।
सत्ताधारी दल नेकपानिकट दृष्टि, साँघु, समयबद्ध, ताजाखबर, युगसंवादलगायत समाचारअनुसार सडकमा राजावादीको उल्लेख्य प्रदर्शनमा कांग्रेसका केही नेताको हात छ भने सभापति शेरबहादुर देउवाको असहयोगका कारण अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायमा नियुक्ति ढिलाइ भएको हो । उनीहरूका अनुसार केही साताअघि काठमाडौंमा ‘र’ का एक गुप्तचरसँग कांग्रेस सभापति देउवालाई विभिन्न दैनिकमा सम्पादक तथा बिबिसीमा काम गरिसकेका एकजना राजावादी पत्रकारले भेटाएका थिए । छलफलको विषयचाहिं नेपालमा सनातन धर्म ल्याएर सोही आडमा राजतन्त्र पुनर्बहाली थियो । सोही प्रयोजनका लागि बानेश्वरस्थित श्यामश्वेत एउटा दैनिकमा कार्यरत मधेशीमूलका स्तम्भकारले कांग्रेसका गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, डा. प्रकाशशरण महतलगायत नेतालाई ‘र’का दूतसँग भेट्न देउवाले दिएका थिए । प्रकाशमान सिंहले पहिला पनि पूर्वराजा ज्ञानेन्द्र शाहसँग शंकास्पद भेटेको समाचार आइसकेको छ । देउवा पत्नी डा. आरजू राणाकै निर्देशनमा नेविसंघ तथा तरुण दलका कार्यकर्ताले मास्क लगाएर धनगढीमा राजावादीको प्रदर्शनमा भाग लिएका छन् ।
महामन्त्री शशांक कोइरालाले त खुलेआम नेपाललाई राजारहित सनातन धर्मसापेक्ष राज्य बनाउन पार्टीमा एउटा धार बनाइरहेका छन् जो देउवाका लागि आउने महाधिवेशनमा नेता विमलेन्द्र निधिका विकल्प पनि हुन् । यसबीच, देउवाले सुदूरपश्चिमबाट प्रहरी महानिरीक्षक बन्न नपाएका जयबहादुर चन्दलाई अख्तियार आयुक्तमा सिफारिस गराएका छन् । उनीहरूका अनुसार देउवाले चन्दको नियुक्तिबाट दुई–तीनवटा सिकार गर्न सक्छन् । जस्तै ः सभापतिमा उठ्ने उद्घोष, उपसभापति विमलेन्द्र निधिविरुद्ध अकुतमा कारबाही, उनै निधि गृहमन्त्री रहेका बेला आईजीपी बन्न नवराज सिलवाललाई सहयोग गरेका थिए भने देउवाले सोही बेला पञ्चायत विद्यार्थी नेता जयबहादुर चन्दलाई उचालेका थिए ।
कांग्रेसनिकट तरुण, नयाँ विकल्प, देशान्तर, विमर्शहरूको लेखाइअनुसार भारतीय गुप्तचर ‘र’ प्रमुख सामन्त गोयलको करिब सवा महिनाअघि भएको नेपाल भ्रमणको बेला प्रम ओलीले पार्टी, अर्का अध्यक्ष प्रचण्डलगायत कुनै मन्त्रीसमेतलाई जानकारी नदिई बालुवाटारमा राति घण्टौंसम्म गरेर गोप्य भेला नेपाललाई सनातन धर्म बनाउने, गणतन्त्रको साटो पुरानै टु–पिलर सिष्टम अर्थात् संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा फर्काउने बाचा गरेका छन् । उनीहरूका अनुसार प्रम ओलीले देखावटी रूपमा सर्वदलीय बैठक बोलाए पनि संविधानकै विरुद्ध उत्रेका राजावादीलाई ग्रिन सिग्नल दिएर सडकमा उतारेका हुन् । स्वयं राष्ट्रपति विद्यादेवी भण्डारी बिनाकुनै रगतको साइनो वा सम्बन्ध पूर्वराजा ज्ञानेन्द्र शाहको नातिनातिनीको जन्मदिनमा पुग्ने गर्छिन् भने पछिल्लोपटक ज्ञानेन्द्र शाहले आमजनतालाई ‘माटोको पुकार सुनी हृदयमाथि हात राखेर गणतन्त्र हटाउन, राजसंस्थाको पुनर्बहाली निम्ति सडकमा आउन र आफू राजा बन्न तयार नै रहेको’ विज्ञप्ति जारी गरेका छन् ।
दुवै शंकास्पद
वर्तमान सत्ताधारी नेकपा र प्रतिपक्षी कांग्रेस वा जसपाले एकअर्कामाथि राजासँग मिलेको भनी हिलो छ्याप्नुभन्दा दलबीच भिडाउने, फुटाऊ र राज गर भन्ने अंग्रेजहरूको खेल त्यही दरबारले गरिरहेको बुझ्न जरुरी छ । यो त सत्य हो कि सत्ताधारीको राजावादीको प्रदर्शनप्रति आक्रामक नियन्त्रण, योजना केही पनि देखिँदैन भने प्रतिपक्षी कांग्रेसले पनि बाहिर परिवर्तनको पक्षमा बोलेअनुसार व्यवहारचाहिं शंकास्पद देखाइरहेको छ । ‘संघीयता’को विरोधमा बोल्दा नेकपा, कांग्रेस, राजावादी सबैको एकमत छ । मधेशी–थारू र अन्यमाथि संघीयता माग्दा आक्रामक भई राज्यसंयन्त्र नै प्रयोग गरियो, त्यसरी सरकार राजावादीमाथि खनिएका । देशमा गरिबी संघीयताले नदेखिएर नेता तथा कर्मचारीले गरेको आर्थिक भ्रष्टाचारले जन्माएको हो ।
टिप्पणीहरू