सारा सिपाहीलाई हाइसञ्चो

युवाहरु दुःखी छन्, रोजगारी नपाएर । तर, यही देशमा अर्काथरि खुशी छन्, खाएको जागिर छाड्न पाएर !

यसरी नेपाली सेनामा तल्लो तहले अहिले उल्लास मनाइरहेको छ । बेलैमा जागिर छाडेर विदेश जान पाइने कारण । गत वर्ष भदौ १९ मा तल्लो दर्जाका सैनिकको निवृत्तिभरण (पेन्सन) सम्बन्धी व्यवस्था स्वीकृत भएपछि त्यस्तो स्थिति आएको हो । विद्यमान निवृत्तिभरण व्यवस्थालाई घटाएर १६ वर्ष बनाउने प्रस्ताव सेनाले पोहोरै पेश गरेको थियो । तर, अर्थको मन्त्री स्तरीय निर्णयबाट सैनिक सेवा नियमावलीको नियम ८० को संशोेधन मस्यौदासम्बन्धी प्रस्ताव अस्वीकृत गरिएको थियो । त्यसबेला अर्थले सेनालाई लिखित जवाफमा भनेको थियो, ‘नेपाल सरकारको पेन्सनको दायित्व बढ्दै गएको अवस्था र अन्य सरकारी सेवामा रहेको अवकाश र पेन्सनसम्बन्धी व्यवस्थामा एकरुपता कायम गर्नुपर्ने आवश्यकता समेतलाई विचार गर्दा निवृत्तिभरण पाउने सेवा अवधि घटाएर संशोधनको प्रस्तावमा सहमत हुन सकिँदैन ।’ तर, अहिलेका अर्थमन्त्री विष्णु पौडेलले सेनाको मागलाई बिनाशर्त स्वीकार्नुभएको छ ।

अबको १६ वर्षमा निवृत्तिभरण पाउने भएपछि जागिर छाडेर विदेशमा सेक्युरिटी र जेल गार्डका रुपमा जागिर खाने युवाहरुको ताँती लाग्ने भएको छ । विदेशमा ४० वर्षसम्म सेक्युरिटीको जागिर पाइन्छ । त्यो उमेर कटेपछि भने मजदुरमा जानुपर्ने हुन्छ । दुबई पुलिस, कतार पुलिस र मकाउमा जेल गार्डका रुपमा अधिकांश तालिमप्राप्त सेना, प्रहरीका युवाहरु जाने गरेका छन् । सेनामा अर्थले स्वीकृति दिएपछि अब यही व्यवस्था प्रहरी र सशस्त्रमा पनि लागू हुन सक्छ । यो काम छत्रमानसिंह गुरुङको कार्यकालमा अगाडि बढे पनि लागु हुन सकेको थिएन । अहिले भएको व्यवस्थाअनुसार, सेनाका सिपाही र पिपाको १६, हवल्दार १७, जमदार १८ र सुवेदारको १९ र त्योभन्दा माथिको दर्जाका अधिकृतको हकमा २० वर्षमा निवृत्तिभरण हुने व्यवस्था हुने भयो ।

टिप्पणीहरू