नेकपा जुट्दा फुटेको कर्मचारी महासंघ नेकपा फुट्दा जुट्यो
तत्कालीन एमाले र माओवादीका दुईवटा कर्मचारी महासंघबीच एकीकरण भएको छ । पार्टी एकताको तीन वर्षसम्म पनि एकीकरण हुन नसकेका कतिपय कामहरु अहिले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई सर्वोच्चले रोक लगाएपछि भटाभट हुन थालेको छ ।
हिजो पूर्वएमाले निकट पेशागत महासंघ र पूर्वमाओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनबीच एकीकरण भएको हो । एकीकरण पश्चात् संगठनको नाम पेशागत महासंघ नेपाल नै रहेको छ ।
दुई महासंघबीच एकीकरणको प्रस्ताव पेश भएको पौने तीन वर्ष बितिसक्दा समेत जिम्मेवारी लिएकाहरुले कानमा तेल हालेर बसेपछि एकीकरणको काम ओझेलमा पर्दै आएको थियो । २०७५ भदौ ५ गते नै दुई महासंघबीच एकताको घोषणा गर्ने तयारी थियो । तर,प्रधानमन्त्री निकट कर्मचारी नेताहरुको योजना र स्वार्थमा त्यो काम रोकिएको बताइन्छ । अहिले कर्मचारीहरुमध्ये छबिन्द्र बेलबासे र अर्का एकजनाले ओली क्याम्पमा फड्को मारेको देखिन्छ । तर,अरु सबै दुरुस्त रहेको एकीकरणको क्रममा जानकारी दिइएको थियो ।
एकतालाई अझ मजबुत बनाउन नयाँ महासंघमा पहिलेको कार्यसमिति संख्यालाई बढाएर तीन सय बनाइएको छ । पहिले कार्यसमिति दुई सय जनाको हाराहारीमा थियो भने अब थपिने झण्डै एक सय जना सबैजसोले जिल्लाबाट प्रतिनिधित्व गर्नेछन् । एकीकरणको क्रममा ६० र ४० प्रतिशतको अनुपातलाई अवलम्बन गरिएको देखिन्थ्यो ।
टिप्पणीहरू