रक्सी खाँदै होली मनाउनेमाथि बिहानदेखि कडाइ

रक्सी खाँदै होली मनाउनेमाथि बिहानदेखि कडाइ

होली पर्वलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाभित्र सवारी चेकजाँचमा कडाइ गरेको छ ।

आइतबार उपत्यकाका ९० स्थानमा कडाइका साथ सवारी चेकजाँच गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभएको छ ।

होलीमा अवाञ्छित गतिविधि हुन नदिन र कोरोना संक्रमणप्रति थप सतर्कता अपनाउन ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको हो ।

‘होलीमा अवाञ्छित गतिविधि रोक्न र कोरोना सतर्कताका लागि सवारी चेकजाँचमा कडाइ गरिएको हो’ प्रवक्ता अधिकारीले बताए । दिउँसो डेढ बजेसम्म दुई सय भन्दाबढि मोटरसाइकल र स्कुटरलाई नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।

त्यसमध्ये १ सय ५० वटा मोटरसाइकल कागजात चेकजाँचमा परेका हुन् भने १० जना भन्दाबढी मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएकाले कारबाहीमा परेका छन् ।

आज काठमाडौँ उपत्यकामा आठ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ । प्रवक्ताका अनुसार दिउँसो १ बजेबाट चेकजाँचमा थप कडाइ गरिएको छ ।

दिउँसो डेढ बजेसम्म उपत्यकामा कुनैपनि सवारी दुर्घटना नभएको पनि ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीले मापसे गरेर सवारी चलाउनेलाई विशेष निगरानीमा राखेको छ । साथै चालक अनुमतिपत्र र बिलबुक नबोक्नेलाई कारबाही गरेको छ ।

टिप्पणीहरू