ललितपुर महानगरपालिका घेराउ
स्मार्ट पार्किङका नाममा सेवाग्राहीलाई अनावश्यक हैरानी दिइएको भन्दै ललितपुरका स्थानीयले ललितपुर महानगरपालिका कार्यालय घेराउ गरेका छन् ।
‘जताततै पार्किङ गराई शु:ल्क उठाउने कार्य बन्द गर’, ‘स्मार्ट पार्किङको नाममा जनता लुट्न पाइँदैन’, ‘तानाशाह मेयर चिरिबाबु मूर्दावाद’, ‘पार्किङको नाममा कमिशन खानेहरु होशियार’, एउटै नगरभित्र छुट्टाछुट्टै शु:ल्क तोक्न पाइँदैन’, जस्ता प्लेकार्ड प्रदर्शन गर्दै महेश बज्राचार्यको नेतृत्वमा स्थानीयले महानगर घेराउ गरेका हुन् ।
आजै उनीहरुले ज्ञापनपत्र पनि बुझाएका छन् । ज्ञापनपत्रमा स्मार्ट पार्किङ संचालन गर्न निजी कम्पनीलाई दिने महानगरको निर्णय फिर्ता गर्न माग गरिएको छ ।
महानगरले २०७६ माघ १६ गते डिस्कभर सिटी नामको निजी कम्पनीलाई पार्किङको जिम्मा दिने सम्झौता गरेको थियो । सम्झौतापछि डिस्कभरले महानगरका विभिन्न ठाउँमा पार्किङ संचालन गर्दै आएको छ । डिस्कभरले सर्वसाधारणसंग प्रतिघन्टा दुई पाङ्ग्रेको २० र चार पाङ्ग्रेको ५० रुपैयाँका दरले दैनिक लाखौँ रुपैया संकलन गर्ने गरेको छ ।
डिस्कभरले सम्झौताअघि भने दुई पाङ्ग्रेको १० र चार पाङ्ग्रेको ३० का दरले शु:ल्क उठाउने गरेको थियो । ज्ञापनपत्रमा स्थानीय सरकार आएपछि झन् महँगो शु:ल्क तिर्नुपर्ने अवस्था आएको भन्दै तत्काल सम्झौता खारेज गर्न माग गरिएको छ । त्यस्तै, अस्पताल,मठमन्दिर, धार्मिक-सांस्कृतिक स्थलहरुमा संचालन गरिएका पार्किङले अस्तव्यस्त बनाएको र सेवाग्राही थप मारमा परेको ज्ञापनपत्रमा जनाइएको छ । महानगरले एउटै क्षेत्रमा दुई वटा कम्पनीलाई पार्किङ शु:ल्क उठाउन दिँदा भएको अस्वस्थ प्रतिस्पर्धाले झडपको स्थिति पैदा भएकोसमेत ज्ञापनपत्रमा उल्लेख छ ।
महानगरपालिकाकै वडा कार्यालयहरुले संचालन गर्दै आइरहेको लगनखेल,मंगलबजार, पुल्चोक लगायतका क्षेत्रमा दुई पाङ्ग्रेको प्रतिघन्टा १० र चार पाङ्ग्रेको ३० रुपैयाँ उठाउने गरिएको स्मरण गराउँदै ज्ञापनपत्रमा आफ्नै वडा कार्यालयहरुको भन्दा महँगोमा निजी कम्पनीलाई पार्किङको जिम्मा दिएर महानगर कमिशनको चक्करमा लागेको बताइएको छ ।
ज्ञापनपत्रमा सेवाग्राहीबाट उठाएको रकम एकपछि अर्को कम्पनीलाई बेचेर पैसाको खेलोमेलो भएको पनि आरोप लगाइएको छ । ‘सम्झौता पाएको कम्पनीले फेरि अर्को पक्षलाई सम्झौता गर्न मिल्दैन । तर यातायात व्यवस्था कार्यालय एकान्तकुनामा डिस्कभरका संचालकले महानगरपालिकालाई २० प्रतिशत बुझाएर प्राप्त गर्ने ८० प्रतिशतमध्ये २० प्रतिशत राखेर ६० प्रतिशत तेश्रोपक्षलाई बेचिसकेको कुरा बाहिरिएको छ’, ज्ञापन पत्रमा भनिएको छ ।तेस्रोपक्षले पनि आफूले खरिद गरेको ६० प्रतिशतमध्ये ४० प्रतिशत चौंथो पक्षलाई र चौंथो पक्षले फेरि २० प्रतिशत राखेर २० प्रतिशत अरुलाई बेच्ने गरेको तथ्य बाहिर आएको ज्ञापनपत्रमा दाबी गरिएको छ ।
उपमेयर गीता सत्याललाई बुझाइएको ज्ञापनपत्रमा महँगो शु:ल्क उठाउनकै लागि डिस्कभरसंग सम्झौता गरिएको जिकिर गरिएको छ । साथै सेवाग्राहीसंग लिइएको रकम एकपछि अर्को पक्षलाई बेचेर कमिशनको खेल भैरहेको आशंका ज्ञापनपत्रमा गरिएको छ । त्यस्तै, हरित क्षेत्र बनाउनुपर्ने चक्रपथ सडकका विभिन्न ठाउँमा पार्किङ बनाइएका कारण रुख विरुवा रोप्नसमेत अवरोध भएको भनिएको छ ।
यससम्बन्धमा उच्च अदालत पाटनमा मुद्धासमेत परेको जानकारी दिँदै ज्ञापनपत्रमा तत्काल सम्झौता रद्द गर्न आग्रह गरिएको छ । अन्यथा कडा आन्दोलन गर्नुपर्ने अवस्था आउने भन्दै चेतावनी दिइएको छ।
टिप्पणीहरू