ओलीलाई घनश्यामको ११ पृष्ठ लामो जवाफ : तपाईंका आरोप बनावटी छन् !
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टी विभाजनको अवस्थामा पुगेको बताउनुभएको छ । महासचिव ईश्वर पोखरेलका नाममा सोधिएको स्पष्टिकरणको जवाफ अध्यक्ष ओलीको नाममा दिँदै भुसालले ओलीले कंगारु अदालतको अभ्यास गरेको पनि बताउनुभएको छ ।
११ पृष्ठ लामो स्पष्टिकरणमा भनिएको छ, ‘पार्टी कार्यालयबाट प्रेषित औपचारिक पत्रको भाषा, त्यसको गुढार्थ र तपाईंले अपनाएको प्रक्रियाले तपाईं के गर्दै हुनुहुन्छ भन्ने प्रष्ट छ । नक्कली प्रक्रिया र प्रमाणका आधारमा कसैका विरुद्ध सुनियोजित रुपले लक्ष्यित तथाकथित न्यायिक प्रक्रियालाई कंगारु अदालत भनिन्छ ।’
अध्यक्ष ओलीले आफूलाई पठाएको स्पष्टिकरणमा शत्रु देशका नागरिकलाई जस्तो व्यवहार गरिएको उहाँको भनाइ छ । भुसालले ओलीको स्पष्टिकरण पत्रलाई तथाकथित भन्दै प्रथम दृष्टिमै कंगारु अदालतको अभ्यासमा रहेको प्रमाणित भएको बताउनुभएको छ ।
६ वटा शीर्षकमा लेखिएको जवाफको प्रारम्भमै भुसालले अध्यक्ष ओलीले बोलाएको बैठकलाई अवैधानिक भन्नुभएको छ । ‘तपाईंको गुट-भेला र पार्टीको वैधानिक अवस्था’ शीर्षकमा सर्वोच्च अदालतको फागुन २३ गतेको निर्णय विपरित अध्यक्ष ओलीले गुटको बैठक राखेर पार्टी विभाजनको रेखा कोरेको उल्लेख छ । उहाँले फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकलाई कथित बैठक भन्नुभएको छ ।
त्यस्तै, ‘तपाईंका आरोप बनावटी छन्’ शीर्षकमा भुसालले आफूमाथि लगाइएको आरोप बनावटी र तथ्यहीन रहेको दाबी गर्नुभएको छ । ‘ममाथि लगाइएका चार आरोपमध्ये पहिलो तत्कालीन पार्टीका कार्यकारी अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध १९ पृष्ठ लामो अराजनीतिक,तथ्यहीन, शत्रुतापूर्ण आरोप तयार गर्न पुष्पकमल दाहाल प्रचण्डको मतियार भै पार्टी हित विरुद्ध काम गरेको भन्ने छ । प्रथमत: तपाईंले लगाएको आरोपमा मेरो कुनै संलग्नता छैन । यो कुरा तपाईं र तपाईंको गुटका धेरै कमरेडलाई थाहा छ ।’
भुसालले अध्यक्ष ओली पार्टी र आन्दोलनका विरुद्ध लागेको आरोप पनि लगाउनुभएको छ । ‘तपाईं पार्टी र आन्दोलनका विरुद्धमा हुनुहुन्छ’ शीर्षकमा भुसालले ओलीले ‘म’ र ‘मेरो पद’लाई नै विचारधारा बनाउँदै लगेको,पद र सम्पति आर्जन गर्न जे पनि गर्नुपर्छ भन्ने सिद्धान्त स्थापित गराएको र आफ्नो गुटको भए जस्तोसुकै अयोग्य भएपनि संरक्षण गर्ने र गुटमा नलाग्नेका विरुद्ध साम-दाम-दण्डभेदको नीति प्रयोगलाई नै राजनीति बनाउँदै लगेको बताउनुभएको छ । उहाँले नवौं महाधिवेशनको निर्णयानुसार योग्य नेता नभएकै कारण पार्टीमा अहिलेको अवस्था आएको जिकिर गर्दै ओलीको नेतृत्व क्षमतामाथि पनि प्रश्न उठाउनुभएको छ ।
‘तपाईं असहिष्णु हुनुहुन्छ’ शीर्षकमा लेखिएको जवाफमा उपमहासचिव भुसालले ओलीले आफ्नो गुटबाहेककालाई खेदो खनेको बताउनुभएको छ । उहाँको स्पष्टिकरणमा ओलीले आफूसंग असहमत हुने दोस्रो पुस्तालाई पहिले नै किनारा लगाइसकेको र बाँकी रहेकालाई पनि क्रोध र बदालाका साथ गुटवन्दीको सहारामा किनारा लगाइने उल्लेख छ । भुसालले ओलीसंग रहेका दोस्रो पुस्ताका नेताहरुमाथि गम्भीर आरोप लगाउनुभएको छ। स्पष्टिकरणमा भनिएको छ, ‘तपाईंसंग अहिले दोस्रो पुस्ताको जुन समूह छ,त्यसमध्ये केही धेरै अगाडिदेखि नै छलछाम र तिकडममा लागेर राज्य दोहनमा पारङ्गत भैसकेका छन् । उनीहरु जे गर्छन् राजनीतिको ब्यापार गर्छन् । तपाईंका असहिष्णु छाँयामुनि टाँसिएर उनीहरु केवल तपाईंका आदेशपालकको जमातमा परिणत हुँदै गएका छन् ।’
‘अन्तिम दुई प्रश्न’ भन्ने शीर्षकमा उहाँले गठबन्धन बनाउने,संसदमा वामपन्थी गठबन्धनको फराकिलो बहुमत बनाउने र पार्टी एकतासम्म गर्ने उपलब्धी हासिल भएपनि आज पार्टी एकता टुटेको भन्दै कम्युनिष्ट पार्टीका समस्त सदस्यहरु,शुभचिन्तक तथा समर्थकहरूमा भयानक निराशा मडारिएको बताउनुभएको छ । यस्तो अवस्थामा आफ्ना कमजोरीहरूप्रति इमान्दारी देखाउनु वा ती असफलताको जिम्मा लिनु र राजीनामा गर्ने तत्परता देखाउनु भन्दा उल्टै नेकपा एमालेको विधि,विधान र एकतासमेत भत्काउन ओलीले आतुरता देखाउनु रहस्यपूर्ण रहेको भुसालको भनाइ छ ।
फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको एकता बदर गरी एमाले र माओवादी केन्द्र पुनर्स्थापित हुने फैसला सुनाएको थियो । त्यसको पाँच दिनपछि २८ गते ओली पक्षीय नेताहरु मात्र उपस्थित रहेको केन्द्रीय कमिटी बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको थियो । बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले उक्त निर्णयलाई चुनौती दिँदै छुट्टै कार्यकर्ता भेला बोलाएको थियो । त्यसपछि ७ चैतमा बसेको ओलीपक्षीय केन्द्रीय कमिटी बैठकले भुसालसहित चार नेतालाई स्पष्टीकरण सोधेको थियो ।
उनीहरुमध्ये जवाफ दिएका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई अध्यक्ष ओलीले सोमबार मात्र ६ महिनाका लागि पार्टी सदस्यबाटै निलम्बन गरिसक्नुभएको छ । ओलीले भुसाल र पाण्डेलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिनुभएको थियो । आज मंगलबार भुसालले ओलीमाथि थुप्रै प्रतिप्रश्न गर्दै जवाफ पठाउनुभएको हो ।

टिप्पणीहरू