नेपाल-खनाल अब ओलीबाट झन टाढिँदै

नेपाल-खनाल अब ओलीबाट झन टाढिँदै

नेकपा एमाले खनाल-नेपाल समूहले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टी फुटाउने दुराशयका साथ बरिष्ठ नेता माधव नेपालसहितका नेतालाई स्पष्टीकरणका नाममा झुटा लान्छना लगाएको निष्कर्ष निकालेको छ । पार्टीभित्र बिचार र संगठनको सम्बन्धमा छलफल र बहस गर्ने ढोका बन्द गरेर ओलीले पार्टी बिभाजनको रेखा फराकिलो पारेको सो पक्षको निष्कर्ष छ ।

खनाल-नेपाल पक्षको आज बसेको स्थायी कमिटी बैठकले नवौं महाधिवेशनको मार्गनिर्देशन, विधान र पद्दति मिच्दै ओलीले एकपछि अर्को निरंकुश र स्वेच्छाचारी कदम चालेको निष्कर्ष निकालेको हो । बैठकका निर्णयबारे जानकारी दिन सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा ओली व्यक्तिगत स्वार्थ, अहंकार,अराजकता र कम्युनिस्ट आन्दोलनको बिसर्जनतर्फ उन्मुख भएको बताइएको छ ।

‘आफैंले गोप्य सम्झौता गरेर घोषणा गरेको माओवादी केन्द्रसंगको एकताविरुद्ध अनेकौं षड्यन्त्र गर्दै पार्टी एकतालाई भंग गर्न उध्यत केपी शर्मा ओलीबाट फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमाले पुनर्जीवित नेकपा (एमाले)लाई समेत विभाजन गरी नेपालको कम्युनिष्ट आन्दोलनलाई नै विसर्जन गर्ने दुष्प्रयास भैरहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा पार्टीलाई एकतावद्ध बनाउने आफूहरुको प्रयास ओलीकै कारण सफल नभएको र छुट्टै भेला गर्नु परेको उल्लेख गरिएको छ । पार्टी एकीकरण पूर्वको स्थितिमा फर्केपछि सबै संगठनात्मक संरचनाहरु तथा जनसंगठनलाई पूर्ववत अवस्थामा क्रियाशील गराएर पार्टी एकताबद्ध बनाउने आफूहरुको प्रस्ताव ओलीले नमानेको बताइएको छ । ओलीले कम्युनिष्ट पार्टीहरुको एकता र सहकार्यलाई आत्मसात गर्न गरेको आग्रह नमानेको बरु फागुन २८ गते बालुवाटारमा गुटको भेला बोलाएर पार्टी विधान उल्लंघन गरी निर्वाचित कमिटी भंग गरेको विज्ञप्तिमा बताइएको छ ।

प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय अदालतले बदर गरेपछि उत्तेजित बनेका ओलीले राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै एमाले विभाजित गरी कम्युनिष्ट आन्दोलन ध्वस्त बनाउने षड्यन्त्रपूर्ण कार्य गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा प्रधानमन्त्री बनेपछि ओलीले निरन्तर मुलुक र जनताको हितमा आघात पुर्याउने गतिविधि गरेको आरोप लगाइएको छ । साथै राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानमा आँच पुर्याउने काम गरेको बताइएको छ । ओलीले सुशासन दिन नसकेको, मुलुकमा भ्रष्टाचार मौलाएको भन्दै विज्ञप्तिमा पार्टीका बैठकहरुमा पटक-पटक सचेत गराउँदा पनि नमानेको आरोप लगाइएको छ।

प्रधानमन्त्री ओलीले शक्ति र स्रोतको उन्मादले ग्रसित भएर पार्टी विभाजनको रेखालाई फराकिलो बनाउने दुराशयबाट नेताहरुमाथि प्रहार गरेको खनाल-नेपाल समूहको ठहर छ । विज्ञप्तिमा नवौं महाधिवेशनबाट निर्वाचित बरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई झुट्टा आरोप लगाई स्पष्टिकरण सोधेर पार्टीभित्र अन्तरसंघर्ष चर्काउने दुराशय राखेको उल्लेख छ ।

बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल,उपाध्यक्ष युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य र भीम रावल,उपमहासचिव घनश्याम भुसाल,सचिव भीम आचार्य, गोकर्ण बिष्ट र योगेश भट्टराई स्थायी कमिटी सदस्यद्वय मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेले जारी गरेको संयुक्त विज्ञप्तिमा पार्टी विधान मिच्ने ओली कदमका विरुद्ध दृढतापूर्वक उभिन र एकतावद्ध भएर देशव्यापी रुपमा सक्रिय हुन आमकार्यकर्ता,पार्टी सदस्य र शुभेच्छुकहरुमा आव्हान गरिएको छ ।

 

टिप्पणीहरू