आज देउवासामु जसपाले के भन्ला ?

नयाँ सत्ता समीकरणको चर्चा चलिरहँदा काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र जनता समाजवादी दलका प्रमुख नेताहरूलाई भेटघाटको लागि आफ्नै निवास बूढानीलकण्ठमा आज दिउँसो बोलाउनुभएको छ ।

जसपाको तर्फबाट शीर्ष नेतृत्व बाबुराम भट्टराई,महन्थ ठाकुर, उपेन्द्र यादव,राजेन्द्र महतो र अशोक राई जाने करिब टुंगो लागेको छ । बूढानीलकण्ठबाट खासै एजेण्डा नतोकिएकाले सम्भवतः सत्ताको नयाँ समीकरणबारे छलफल हुने अपेक्षा गरेको स्रोतले बताएको छ ।

काँग्रेसले भोलि शनिबार केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको छ । त्योभन्दा अघि सत्ता समीकरणको निम्ति आफ्नो पक्षमा माहौल बन्छ भने बनोस् भन्ने उद्देश्यले आज दिउँसो छलफल डाकिएको देउवानिकट एकजना काँग्रेसी नेताले बताएका छन् ।

यता जसपाले भने सत्ता समीकरणसँगै नेतृत्वको कुरो उठे आफ्नै नेतृत्वमा नयाँ सरकारको दाबी गर्ने रणनीति बनाएको बुझिएको छ । जसपा स्रोत भन्छ ‘आजको छलफलमा नेतृत्वको बारेमाभन्दा पनि मुद्दामा केन्द्रित हुने रणनीति बनाइएको छ । तर, कुरो उठ्यो भने हामीले आफ्नो नेतृत्वको बारेमा मुख खोल्नेछौं ।”

विशेष गरी पारिको लाइन र सिग्नलमा मात्र हिँड्ने गरेको आरोप लागेको जसपाभित्रका पूर्व राजपा नेताहरूले भने आजको छलफलबारे खासै मुख खोलिसकेका छैनन् ।

टिप्पणीहरू