कोरोनाले थप ५ जनाको ज्यान लग्यो
कोभिड–१९ बाट सोमबार मध्यान्हसम्म ४ जनाको ज्यान गएको छ । बिराटनगरको कोशी कोभिड अस्पतालमा थप एक जनाको मृत्यु भएपछि कोभिडबाट निधन हुनेको संख्या पछिल्लो १२ घण्टामा ४ पुगेको हो । आइतबार राति झापा,दमकका ९२ वर्षीय बृद्धको मृत्यु भएको छ ।
मधुमेहका रोगी बृद्धको उपचारका क्रममा आइतबार मध्यरात मृत्यु भएको कोभिड–१९ उपचार केन्द्रका फोकल पर्सन एपोलो भगतले जानकारी दिएका छन् । उनका अनुसार बृद्धको शव आफन्तको जिम्मा लगाइसकिएको छ ।
कोशी कोभिड–१९ अस्पतालमा हाल २ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो दुई महिना अस्पताल सुनसान बनेपनि कोरोनाको दोस्रो लहर शुरु भएसँगै अस्पतालमा बिरामी आउन थालेको भगतले बताए ।
उता कैलालीमा पनि कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
फागुन पहिलो साता भारतबाट आएका उनमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । कडा खालको निमोनियासहित अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
सोमबार नै रुपन्देहीको बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा ३ जनाको मृत्यु भएको छ ।
टिप्पणीहरू