महामारीमा महँगा अस्पतालको ब्रम्हलुट,सरकार मौन,बिरामी फर्कंदा सर्वसाधारणको घरबास सिध्दिने
कोरोना महामारीको पहिलो लहरमा चर्को शुल्क लिएर तहल्का मच्चाएका राजधानीका ठूला र महँगा अस्पतालले दोस्रो लहरमा पनि त्यो व्यापारिक रणनीतिलाई निरन्तरता दिएका छन् । सर्वसाधारणको ढाड सेक्नेगरी तोकिएको महँगो बेड चार्जको बारेमा सरकार बेखबर देखिएको छ ।
त्यहि क्रममा चक्रपथ धुम्बाराही चोकबाट मण्डिखाटारतर्फ जाने बाटोमा रहेकाे ह्याम्स अस्पतालले हालै तोकेको कोभिड १९ उपचार सम्बन्धी शुल्कमा उल्लेख गरिएको बेड चार्ज अर्को उदेकलाग्दो देखिएको छ । अरु सबै शुल्क छ्ट्टै लाग्ने जनाउँदै अस्पतालले तोकेको प्रतिदिन बेड चार्जमा साधारण वार्डतर्फ ७ हजार,दुईवटा बेड भएको कोठामा प्रति बेड १५ हजार,तीन वटा बेड भएको कोठामा प्रतिबेड ११ हजार रुपैयाँ उल्लेख छ ।
त्यसैगरी आइसोलेसनको निम्ति प्रति कोठा २१ हजार,सोही प्रयोजनको लागि डिलक्स कोठा २६ हजार,बिलासी स्वीट रुम ५० हजार र ती सबैमा आईसीयु सुविधा जडान गर्नु परेमा २२ हजार छुट्टै लाग्ने उल्लेख छ ।
अस्पतालले तयार गरेको मञ्जुरीनामा लेखिएको छ ‘बेड शुल्कबाहेक औषधि,ल्याब तथा अन्य परीक्षण शुल्क,यातायात शुल्क,अन्य रोगको उपचार शुल्क, चिकित्सक शुल्क हरेक पटकको १५ सय,नर्सिङ शुल्क छुट्टै एवम् खानाको रकम छुुट्टै तिर्नुपर्नेछ ।’
स्वास्थ्य मन्त्रालयले विज्ञप्ति र पत्रकार सम्मेलनमा अस्पतालले चर्को शुल्क लिन नपाइने भनेपनि व्यवहारमा उल्टो देखिएको छ । त्यसैलाई चुनौती दिँदै अस्पतालको मञ्जुरीनामामा लेखिएको छ ‘सरकारी अस्पतालमा उपचार निःशुल्क हुने अस्पताल प्रशासनले जानकारी गराए तापनि म मेरो बिरामीलाई आफ्नो इच्छाले यस अस्पतालमा उपचार गराउन चाहन्छु । यस अस्पतालमा लाग्ने सम्पूर्ण खर्च स्वयम् व्यहोर्ने छु, यसबारेमा उजुरबाजुर गर्ने छैन ।’
अस्पतालहरूको ब्रम्ह्लुटप्रति इंगित गर्दै मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले लेखेका छन् ‘लाचार र पीडितलाई सहयोग गर्नुको सट्टा आर्थिकलाभ उठाउनु अत्यन्तै निन्दनीय कार्य हो । चाहे जोसुकै हुन्,महामारीमा शुल्क बढाएर आर्जित सम्पत्तिले न भविश्य सप्रिन्छ,न भाग्य । बेलैमा चेतना होस् । स्वास्थ्य मन्त्रालय र सरोकारवालाको ध्यान जाओस् । मूल्यको सीमा तोकियोस् ।‘
स्मरण रहोस् उक्त अस्पतालमा उपचार गराएर फर्केका धेरैजसो बिरामीका आफन्तले न्यूनतम १० लाख रुपैयाँदेखि माथि तिरिएको बताएका छन् । यो प्रवृत्ति काठमाडौंका अधिकांश ठूला र नाम चलेका सबै अस्पतालमा रहेको बताइन्छ ।
टिप्पणीहरू