आज दिउँसो पत्रकारिता पुरस्कार घोषणा हुँदै
आज राष्ट्रिय पत्रकारिता दिवस हो । त्यसैगरी आजै गोरखापत्र दैनिकको स्थापना दिवससमेत हो । सरकारले यहि अवसरमा पछिल्ला दुई वर्षको पत्रकारिता पुरस्कार घोषणा गर्दैछ ।
पोहोर र यो वर्ष आजको दिन कोरोनाको कारण लगाइएको लकडाउन र निषेधाज्ञाका कारण इतिहासमा पहिलो पटक पुरस्कृतहरूलाई आज पुरस्कार वितरण भने गरिने छैन ।
प्राप्त समाचारअनुसार पुरस्कृतहरूको नाम आज दिउँसो १ बजे घोषणा गरिँदै छ । घोषणामा २०७६ र २०७७ वर्षका लागि आठ जनाको दरले १६ जनाको नाम उल्लेख गरिने छ । सञ्चार मन्त्रालयले आज घोषणा गर्न लागेका नामहरूमध्ये २०७६ सालतर्फ धरानका हर्ष सुब्बा र मरणोपरान्त शुकदेव नेपाल अर्थात् अग्निशिखालाई र २०७७ सालको हकमा रघु मैनाली र शार्दुल भट्टराईलाई वरिष्ठ पत्रकारिता पुरस्कार प्रदान गरिने छ । उक्त पुरस्कारको राशी २ लाख रुपैयाँको रहेको छ ।
त्यसैगरी १ लाख राशीको राष्ट्रिय पत्रकारिता पुरस्कारको निम्ति उजिर मगर,मातृका पौडेल, शेषराज दाहाल,संगिता खड्का, हेमन्त बिक र शीतल साहको नाम टुंगो लागेको छ । नेपाल टेलिभिजनका दिलिप थापा मगर,दिपेन न्यौपाने,दुर्गाप्रसाद शर्मा,शुरोजंग पाण्डे,नीतु पण्डित र पुनम पौडेल पनि पुरस्कृत हुनेमा परेका छन् ।
पण्डित सञ्चारिका समूहकी अध्यक्ष हुन् भने पौडेल कान्तिपुर टेलिभिजनकी पूर्व समाचार वाचिका हुन् । आज घोषणा गरिने पुरस्कार उपयुक्त समयमा हालको असहज अवस्था सहज भएपछि राष्ट्रपति विद्या भण्डारीको हातबाट प्रदान गरिने बताइएको छ ।
पोहोर र यो वर्ष आजको दिन कोरोनाको कारण लगाइएको लकडाउन र निषेधाज्ञा भएकाले इतिहासमा पहिलो पटक पुरस्कृतहरूलाई पुरस्कार पछि वितरण गर्न लागिएको हो ।
टिप्पणीहरू