बुटवलमा २ को मृत्यु,मुख्यमन्त्रीले भने पनि अक्सिजन हाहाकार
कोरोना भाइरस संक्रमणबाट रुपन्देहीको बुटवलमा दुई जनाको ज्यान गएको छ ।
बुटवल उपमहानगरपालिका–१ का ४८ वर्षीय पुरुष र बुटवल–११ की ३० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताउनुभयो ।
उहाँका अनुसार दुबै जना बैशाख २२ गते आइसीयुमा भर्ना भएका थिए । तीमध्ये ४८ वर्षीय पुरुषको गए राति ११ बजे र ३० वर्षीया महिलाको अहिले बिहान ५ बजेर ५२ मीनेटमा मृत्यु भएको हो । दुवैलाई निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको बताइएको छ ।
‘फेसबुकका भित्तामा लेख्ने तर सिन्को नभाँच्ने राजनीतिक नेतृत्वले अक्सिजनको सहज आपूर्ति आफ्नै मन्त्री, नेता र समर्थकहरुलाई गराएको हुनसक्छ ।’
यस्तै,अक्सिजन र शैया अभाव हुन थालेपछि धागो कारखानामा संक्रमितको भर्ना रोकिएको छ । प्रवक्ता गौतमले बताएअनुसार अस्पतालमा बेड र अक्सिजन अभाव भएको छ । “प्रत्येक ८ घण्टामा जम्मा २ बेड खालि हुन्छन्”- उहाँले भन्नुभयो ।
सामाजिक सञ्जालमार्फत् अक्सिजनको अभाव हुँदैन भनी आश्वस्त तुल्याउनुभएका मुख्यमन्त्रीको खण्डन गर्दै गौतमले स्वास्थ्य सामाग्री केही उपलब्ध नगराउने तर उपचारमा खटिएका डाक्टरहरुलाई जरिवाना तिराउने गरेकोमा रोष प्रकट गर्नुभयो ।
उहाँले भन्नुभयो ‘फेसबुकका भित्तामा लेख्ने तर सिन्को नभाँच्ने राजनीतिक नेतृत्वले अक्सिजनको सहज आपूर्ति आफ्नै मन्त्री, नेता र समर्थकहरुलाई गराएको हुनसक्छ ।’
उहाँले महामारीमा आवश्यक स्वास्थ्य सामग्री उपलब्ध नगराउने तर उल्टै स्वास्थ्यकर्मीहरुलाई कारबाही गर्ने प्रवृत्तिको भने कडा शब्दले आलोचना गर्नुभएको छ ।
टिप्पणीहरू