महामारीको मौका छोपेर अस्पतालमा मनपरी
नेपालमा महामारीको समय कालोबजारी गर्नु कुनै नौलो होइन । विगतमा झैँ अहिले पनि कालोबजारीका घटनाहरू छ्याप्छ्याप्ती बाहिरिएका छन् ।
अक्सिजन,पल्स र अक्सिमिटर, सेनेटाइजरलगायतका स्वास्थ्य सामाग्रीको कालोबजारी गरेको भन्दै प्रहरीले कयौँलाई पक्रेको छ ।
तर,अचम्म महामारीको समयमा बिरामीको उपचार गरिने अस्पतालभित्रको चमेना गृहले समेत कालोबजारी गरेको खुलेको छ ।
जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा सञ्चालित चमेना गृह (क्यान्टिन) ले कालोबजारी गरेको गुनासो बढेको छ ।
महामारीको समय स्थानीय प्रशासनले गरेको निषेधाज्ञाको मौका छोपी क्यान्टिनमा गुणस्तरहीन र महंगो दरमा खाना र पानी दिने गरेको बिरामीका आफन्तले बताएका छन् ।
एक प्लेट चना र कुखुराको फुल एउटाको ९० रुपैयाँ तिर्नुपरेको बिरामीका आफन्तले बताएका छन् । उनीहरूका अनुसार सोही परिमाणको चना र फुलको बजारमा ३० रुपैयाँभन्दा बढि नपर्ने उनीहरू बताउँछन् ।
‘क्यान्टिन सञ्चालकले एक लिटर पानी तताएको समेत ५० रुपैयाँ लिने गरेको बताइएको छ । बिरामीका आफन्तहरूका अनुसार नाम मात्रको दाल र भातको प्रतिछाक तीन सय रुपैयाँ असुल्ने गरिएको छ । जबकि बजारमा १ सय २० रुपैयाँमा त्योभन्दा मीठो पाइने उनीहरूको अनुभव छ ।’
आईसोलेसनमा रहेका बिरामीलाई भेट्न आउने आफन्तजन, कुरुवाहरू निर्वाध रुपमा खाना तथा खाजा खान आउने गरेको, सतर्कता नअनाएको,क्यान्टिनका परिकार गुणस्तरहीन रहेको एकजना कुरुवाको गुनासो छ ।
क्यान्टिनसँगै जोडिएको प्रतिक्षालय समेत संक्रमणको अर्को डरलाग्दो ठाउँ भएको बताइन्छ । यस विषयमा जिल्ला स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख विष्णुबहादुर बुढाथोकीले तत्काल क्यान्टिनको अनुगमन गरेर व्यवस्थापन गरिने बताउनुभएको छ ।
गुनासो आउनेबित्तिकै अस्पताल प्रशासनले काम थालेको बुढाथोकीको भनाई छ ।
टिप्पणीहरू