आमाको तिलहरी र ढुङ्ग्री बेचेर गर्जो टार्छु भन्ने नसोचे हुन्छ : राजदूत डा.युवराज खतिवडा

आमाको तिलहरी र ढुङ्ग्री बेचेर गर्जो टार्छु भन्ने नसोचे हुन्छ : राजदूत डा.युवराज खतिवडा

मुलुकमा कोरोना संक्रमणले दैनिक सयौंको मृत्यु र दश हजार नजिकको संक्रमित थपिँदा उता अमेरिकामा राजदूत रहेका युवराज खतिवडा विभिन्न राज्यको घुमघाममा हुनुहुन्छ ।

सरकारले विभिन्न मुलुकसँग कोरोनाविरुद्धको खोप र आर्थिक सहयोगको निम्ति अथक प्रयास गरे पनि अहिलेसम्म हात लागे शून्यको अवस्था देखिएको छ ।

गत साता परराष्ट्र र स्वास्थ्य मन्त्रालयले काठमाण्डौस्थित चिनियाँ,अमेरिकी,बेलायती र रुसी दूतावाससँग खोप खरिद वा सहयोगको निम्ति पहल गरेका थिए । तर,उता बेलायतमा रहेका राजदूत तथा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र अमेरिकामा रहेका पूर्व अर्थमन्त्री खतिवडाको भने त्यसतर्फ कुनै पहल देखिएको छैन । राज्यको यो पारालाई प्रशासनविज्ञहरूले ताप्के नतातेसम्म बीँड तातेर भात नपाक्ने भनेका छन् ।

“यहिँ कमाउनुहोस्,यहिँ खन्याउनुहोस् । सक्नुहुन्छ भने उता पनि लैजानुहोस् । तर,उताको ल्याउँछु भनेर नसोचेहुन्छ ।”

जिम्मेवारी सम्हाल्न अमेरिका उड्नुअघि धुम्बाराहीको आफ्नै निवासमा भेट्न गएका पुँजीबजारका नामुद खेलाडी तथा सेयर दलालहरूलाई खतिवडाले आफू सात समुन्द्रपारी भएपनि पुँजी बजारको समस्या समाधानमा सँधै तल्लिन हुने वचन दिनुभएको थियो । तर,एमसीसीलगायत वैदेशिक आर्थिक सहयोगका परियोजनालाई मुलुकमा भित्र्याउन हात धोएर लागेका खतिवडा र रेग्मीले मुलुक अप्ठेरो अवस्थामा परेको बेलामा भने आफ्नो ‘बोल्ड’ भनिएको क्षमता देखाउन नसकेको र उल्टो सयरमा रमाएको देखिन्छ ।

खतिवडा अहिले दूतावासको घुम्ती शिविर टोली र गैरआवासीय नेपालीहरूको संगठन एनआरएन अमेरिकाको चुनावी आवरणमा वासिङ्गटनबाट टेक्सास पुग्नुभएको छ । केही साताअघि निजी भ्रमण भन्दै मेरिल्याण्डतिर घुम्न निस्कनुभएको थियो ।

‘नेपालमा भएको आफ्नो श्रीसम्पत्तिको भोगचलन सरकारले गर्न पाउने गरी सहजिकरण गरिदिनुहोस् ।’

शुक्रबार र शनिबार टेक्सासमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनुभएका खतिवडाले दिएको भाषण अहिले त्यहाँका नेपालीहरूलाई पचाउन निकै गाह्रो भएको बताइन्छ । उहाँले एनआरएनका अभियन्ताहरूलाई सम्झाउँदै भन्नुभएको थियो ‘नेपालमा भएको आफ्नो श्रीसम्पत्तिको भोगचलन सरकारले गर्न पाउने गरी सहजिकरण गरिदिनुहोस् ।’

त्यतिले पनि नपुगेर खतिवडाले अमेरिकामा बसेका नेपालीलाई ‘आमाको गहना बेचेर गर्जो टार्छु भनेर नसोच्नुहोला । यहिँ कमाउनुहोस्,यहिँ खन्याउनुहोस् । सक्नुहुन्छ भने उता पनि लैजानुहोस् । तर,उताको ल्याउँछु भनेर नसोचेहुन्छ’ भन्नुभएको थियो ।

त्यसअघि एनआरएनका अभियन्ताहरूले बोल्ने क्रममा नेपालमा भएको आफ्ना सम्पत्ति बेचेर वैधानिक तवरले अमेरिका ल्याउने व्यवस्था गरिदिन अनुरोध गरेका थिए ।

खतिवडाले वैदशिक लगानीको निम्ति नेपाललाई ‘भर्जिन ल्याण्ड’ भन्नुभयो । तर खतिवडाको वैदेशिक लगानीसम्बन्धी योजना सुनेपछि आक्रोशित हुँदै स्थानीय एकजना पत्रकारले भनेका छन् ‘सायद उहाँले अमेरिका नजिकैको भर्जिन आइल्याण्ड भन्न खोज्नुभएको होला । मुखबाट ल्याण्ड मात्र चिप्ल्यो ।’

खतिवडाको भाषणपछि टेक्सासमा रहेका केही नेपालीले व्यंग्य कस्दै सामाजिक सञ्जालमा स्टाटससमेत लेखेका छन् । स्थानीय सरोज घिमिरेले लेखेका छन् ‘गफको हद हुन्छ नि ! एक पटक नेपाल ल क्याम्पस एलएलएमको क्लासमा बसेर सुन्नुस्,के कुराले लगानी ल्याउने हो थाहा हुन्छ । सी ग्रेडको अमेरिकी लगानीकर्ता ल्याउनुस् पहिला ।’

डिसीबाट दूतावासका कर्मचारीको हुल बाँधेर ‘डुअर सर्भिस’ भन्दै खतिवडा अमेरिका भ्रमणमा निस्कनुभएको हो । यसअघि सिकागोमा भएको यस्तै कार्यक्रममा नेपालीहरूको सहभागिता अत्यन्त न्यून थियो भने त्यहाँ पनि उहाँका भनाईको आलोचना भएको बताइन्छ ।

अहिले टेक्सासमा पनि सोचेको संख्यामा नेपालीको उपस्थिति नभएको त्यहाँबाट प्राप्त समाचारमा उल्लेख छ । अमेरिकाको विभिन्न राज्यमा रहेका नेपालीलाई दूतावासको सेवा चुस्त संयन्त्र बनाएर हुलाकमार्फत् दिन सकिनेमा राजदूतले अमेरिका भ्रमण गर्ने योजनासहित ‘डुअर सर्भिस’ को अवधारणा ल्याएको बताइन्छ ।

अमेरिका संसारमै सबैभन्दा राम्रो र विश्वसनीय हुलाक सेवा भएको मुलुक हो । गत नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा समेत लाखौं मतदाताले आफनो मत निर्वाचन अगावै हुलाकबाट पठाएका थिए ।

कोरोना महामारीले देश आक्रान्त भएको बेला दूतावासमा बसेर अमेरिकी सरकारसँग आवश्यक पहल गर्नुपर्ने राजदूत अमेरिका भ्रमणमा निस्कनुले उहाँको कूटनीतिक कौशलतामा समेत प्रश्न उठाइएको छ । कूटनीतिक क्षेत्रका जानकारहरूले मन्त्री सरहको सुविधामा अमेरिका पुगेका खतिवडाको कामकारबाही र सोच भने सुब्बाको भन्दामाथि नरहेको प्रतिक्रिया दिएका छन् ।

टिप्पणीहरू