बल्ल मुख फोर्यो निर्वाचन आयोगले
भोलि हुने राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधि शुरु भैसकेपछि आचारसंहिता विपरित आफ्ना उम्मेदवारका पक्षमा वक्तव्यवाजी गरेको भन्दै निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री केपी ओलीले विज्ञप्ति निकालेर आफ्नो उम्मेदवारको पक्षमा भोट मागेको केही बेरमै आयोगले ध्यानाकर्षण गरेको हो ।
मौन अवधि शुरु भइसकेपछि पनि वक्तब्य दिने,प्रेस विज्ञप्ति निकाल्ने,प्रकाशन तथा प्रसारण गर्ने कार्य भैरहेको भन्दै आयोगले आचारसंहिता पालना नगरे कानूनबमोजिम कारवाही गर्ने चेतावनी दिएको हो ।आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ,‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिले आचार संहिताविपरीत वक्तब्य दिने,प्रेस विज्ञप्ति निकाल्ने,प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिको अन्तरवार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकोले यसतर्फ आयोगको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ ।’ उपनिर्वाचनका लागि जेठ ३ गते राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ । मौन अवधिमा उम्मेदवारको पक्षमा मत माग्नु आचारसंहिता विपरीत हुन्छ । निर्वाचन आचारसंहिता लागू भइसकेको सन्दर्भमा आचार संहिता विपरितका यस्ता क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयताप्रति नै आघात पार्ने आयोगको ठहर छ ।
आयोगले आचारसंहिता पालना नगर्नेलाई कारबाहीको चेतावनी पनि दिएको छ । ‘निर्वाचन आचारसंहिता विपरितका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयोगले कानून बमोजिम कारवाही गर्न सक्ने कुरा प्रष्ट गर्दै यसरी आचारसंहिता विपरीत कार्य गर्नेको अभिलेख राख्ने व्यहोरासमेत जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।
आयोगले राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको समेत जनाएको छ ।
टिप्पणीहरू