दूतावासमा २ घण्टा बिताएर महन्थ,राजेन्द्र फेरि बालुवाटार दुई मन्त्रीको कित्ताकाट
केही महिनादेखि प्रधानमन्त्री केपी ओलीको सुखदु:खको साथी बन्दै आएका जसपा नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतो प्रतिनिधिसभा भंग भएको भोलिपल्टै आज दिवाभोजनको दुई घण्टा भारतीय दूतावास लैनचौरमा बिताएर मन्त्रीहरूको संख्या र नाम बुझाउन अहिले बालुवाटार छिरेका छन् ।
राजेन्द्र महतो खेमाका एक सांसदका अनुसार उनीहरुले राजदूत विनयमोहन क्वात्रासँग आगामी सत्ता समीकरणवारे लामै भलाकुसारी गरेका थिए ।
लैनचौरबाट निस्किएका उनीहरुको अहिले भने प्रधानमन्त्री ओलीसङ्ग वार्ता चलिरहेको छ । राजेन्द्र महतोको नेतृत्वमा जसपाका ८ भाइ मन्त्री बन्ने कुरा छ ।
उता राजेन्द्र महतो पछिल्लो समय ओलीसँग टाँसिएपछि उनी निकट दुई मन्त्री उपेन्द्र यादवको क्याम्पमा प्रवेश गरेका छन् ।
प्रदेश नम्बर दुईका दुई मन्त्री राजेन्द्रलाई छाडेर उपेन्द्रको क्याम्पमा प्रवेश गरेको उपेन्द्र खेमाका एक सांसदले जनआस्थालाई जानकारी दिए ।
उनका अनुसार,नवलकिशोर साह सुडी र रामनरेश रायले महतोको क्याम्प फेरेका हुन् । सुडी त्यहाँका सामाजिक विकास मन्त्री हुन् भने रामनरेश राय सोही प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री ।
टिप्पणीहरू