अब कुन बुहारीलाई मन्त्री बनाउने प्रधानमन्त्रीज्यू ?
२०७३ फागुन २९ गते भैरहवामा संविधान रक्षार्थ भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मेची–महाकाली अभियानअन्तर्गत विशाल आमसभा सम्पन्न गर्यो ।
फागुन २१ गते झापाबाट शुरु भएको उक्त कार्यक्रम २९ गते भैरहवा आइपुग्दा भैरहवाको अञ्चलपुरमा उपस्थित मान्छेको भीड थेगिनसक्नु थियो । १५ दिने उक्त अभियान झापाको काँकडभिट्टाबाट शुरु भई कञ्चनपुर हुँदै चैत ५ गते सुर्खेत पुगेर समापन भएको हो ।
“सोही कारण सप्तरीमा एमालेको मेची–महाकाली अभियानका क्रममा ठूलो झडप भयो । उक्त झडपमा परी ५ जनाको निधनसमेत भयो ।”
भैरहवामा सम्पन्न आमसभामा तत्कालीन नेकपा एमाले अध्यक्ष तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भाषण यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भाषण सुन्ने लुम्बिनी अञ्चलका एमाले शुभेच्छुक मात्रै होइन,मञ्चमा आसीन नेताहरू यतिबेला बडो अप्ठ्यारोमा परेका छन् । ओलीको त्यो भाषण र हिजो जारी नागरिकतासम्बन्धी अध्यादेशले लुम्बिनीका एमाले नेताहरूलाई नाजवाफ बनाएको छ ।
एमालेले मेची–महाकाली अभियान चलाइरहँदा मधेसी मोर्चाले संविधान संशोधन हुनुपर्ने,नागरिकता जन्मसिध्दको आधारमा पाउनुपर्नेलगायत मागसहित तराईमा आन्दोलन चर्काइरहेको थियो । सोही कारण सप्तरीमा एमालेको मेची–महाकाली अभियानका क्रममा ठूलो झडप भयो । उक्त झडपमा परी ५ जनाको निधनसमेत भयो ।
“मधेसी मोर्चाको रडाको केमा छ भने हामीले उताबाट ल्याएका बुहारीले ५ वर्ष किन पर्खिने,बिहे गरेको भोलिपल्टै मन्त्री हुन पाउनुपर्छ ।’
सप्तरीको मलेठस्थित राजविराज गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित कार्यक्रमको विरोध गर्ने क्रममा फागुन २३ गते मधेसी मोर्चा र प्रहरीबीच भएको झडपमा परी पाँच जनाको मृत्यु भएको थियो ।
सप्तरीको मलेठका सञ्जन मेहता,पीताम्बर मण्डल र वीरेन्द्र महतो,प्रसवनी ५ टेंगरीका सिनियर अहेव आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । मृतकका परिवारलाई तत्कालीन सरकारले १० लाख रकम राहतस्वरूप दियो ।
त्यतिबेला मधेसी जनताले संविधान संशोधन र नागरिकता विधेयक संशोधनको माग गर्दा एमाले पंक्ति यति उग्र रूपमा प्रस्तुत भएको थियो कि सप्तरीमा अनाहक ५ जनाको ज्यान गयो ।
‘अब सिध्दार्थ नगरपालिकामा सांसद को बनाउनुपर्ने उतैबाट तोकिन्छ,हाम्रो एउटा चेलीसँग पारिको केटाको बिहे गराइन्छ,अनि त्यो केटालाई सांसद उठाइन्छ,पारिकै मान्छेहरू आएर मतदान गर्छन् अनि त्यो सांसद हुन्छ,त्यो मन्त्री पनि बन्छ । के यहाँ कोही नेपाली योग्य छैनन् ? हामी यो किमार्थ हुन दिँदैनौँ ।’
तत्कालीन पार्टी अध्यक्ष केपी शर्मा ओलीले भैरहवाको आमसभामा भनेका थिए,‘नेकपा एमालेले संशोधन प्रस्ताव कुनै पनि हालतमा पास हुन दिने छैन । संविधान संशोधनको यो प्रस्तावले पहाड र तराईलाई अलग गराउँछ । यसले नेपालको भौगोलिक अखण्डतालाई कमजोर बनाउँछ । यसैले यो कुनै हालतमा सफल हुन दिँदैनौँ ।’
यसैगरी,ओलीले भैरहवाको आमसभामा सहभागी हजारौं जनतालाई भनेका थिए, ‘नागरिकता नेपालीले पाउनुपर्छ । उहिले उहिले रानीको जन्मदिनमा केटाकेटीलाई चकलेट बाँडिन्थ्यो,नागरिकता चकलेट होइन,बोर्डरमा बसेर आउने जतिलाई दिँदै जाने !’
ओलीले भाषणमा थप चर्किंदै भनेका थिए, ‘वैवाहिक अंगीकृतलाई भारतमा ७ वर्षयता नागरिकता मिल्दैन,हामी आउनेबित्तिकै दिन्छौं । मन्त्री हुन पाँच वर्ष पर्खिनुपर्छ । मधेसी मोर्चाको रडाको केमा छ भने हामीले उताबाट ल्याएका बुहारीले ५ वर्ष किन पर्खिने,बिहे गरेको भोलिपल्टै मन्त्री हुन पाउनुपर्छ ।’
ओलीले नेपालमा जस्तो नागरिकता सहज ढंगले वितरण अन्य देशमा नभएको बताए । उनले भने, ‘संसारमा कोही पनि हुँदैन, आइपुग्नेबित्तिकै नागरिकता दिने,कोही हुँदैन । तर, नेपालमा चाहिँ हामीले आइपुग्नेबित्तिकै आउनेलाई नागरिकता त दिएका छौँ तर आउनेबित्तिकै सांसद वा मन्त्री बनाउन सक्दैनौँ।’
उनले नागरिकता जथाभावी बाँड्दा सिध्दार्थनगर र भैरहवाजस्ता सीमावर्ती गाउँ शहरमा भोलि नेता पनि सीमापारिकै र मतादाता पनि उतैको हुने भन्दै चिन्तासमेत व्यक्त गरेका थिए ।
उनले भने, ‘अब सिध्दार्थ नगरपालिकामा सांसद को बनाउनुपर्ने उतैबाट तोकिन्छ,हाम्रो एउटा चेलीसँग पारिको केटाको बिहे गराइन्छ,अनि त्यो केटालाई सांसद उठाइन्छ,पारिकै मान्छेहरू आएर मतदान गर्छन् अनि त्यो सांसद हुन्छ,मन्त्री पनि बन्छ । के यहाँ कोही नेपाली योग्य छैनन् ? हामी यो किमार्थ हुन दिँदैनौँ ।’
यसरी नागरिकतासम्बन्धमा रिजर्भ रहेका ओली करिब पाँच वर्षपछि मधेसी मोर्चाको मागमा लपक्कै भएका छन् । उनले नागरिकता विधेयकसमेत जारी गर्दै जो कोहीले पनि सहजै नागरिकता पाउने विधेयक अध्यादेशमार्फत जारी गरेका छन् ।
हिजोका ओली र आजका ओलीमा फरक यही देखिएको छ । हिजोका राष्ट्रवादी ओली आज प्रधानमन्त्रीको कुर्सी बचाउन नागरिकताजस्तो राष्ट्रियतासम्बन्धी विषयमा फितलो भएका छन् ।
हिजो उनले बोर्डरमा बसेर चकलेट झैं बाँड्न सकिन्न भनेको नागरिकता आज आफैँ सरकार प्रमुख भइरहँदा सीमामा बसेर नागरिकता बाँड्ने निर्णयमा पुगेका छन् । अब उनले बाँडेको नागरिकताबाट करिब ५० लाख भारतीयले नेपाली नागरिक हुने अवसर भने पाउनेछन् ।
टिप्पणीहरू