मुलुक द्वन्द्वमा धकेलिने डर

मुलुक द्वन्द्वमा धकेलिने डर

नेपाल नागरिक अभियानले हाल उत्पन्न मुलुकको अप्ठेरो राजनीति र जारी नागरिकता अध्यादेशलाई लिएर अन्तराष्ट्रिय सञ्चार माध्यमहरुको विश्लेषणलाई आधार मान्दै मुलुक पुनः द्वन्द्वमा धकेलिएको ठहर गरेको छ ।

उसले पछिल्लो साताभित्र उत्पन्न राजनीतिक घटनाक्रम र विदेशी प्रतिनिधिहरु समेतका अभिव्यक्ति एवम् चासोलाई विश्लेषण गर्दा नेपालका आन्तरिक तथा वैदेशिक थाति रहेका मुद्दाहरुको पाण्डोरा बक्स खुल्न लागेको आशंकालाई बढाएको समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।

अभियानले हालै हिन्दुस्तान टाइम्समा प्रकाशित पूर्वभारतीय राजदूत रञ्जित रे को लेखमा के.पी. ओली सरकारले संसद विघटन गरेर नेपाललाई द्वन्द्वमा धकेलेकाले राजनैतिक खतरा उत्पन्न भएको विषयलाई समेत प्रमुखताका साथ उठाएको छ ।

राजनीतिक घटनाक्रमलाई उल्लेख गर्दै उसले भनेको छ ‘जेठ ९ र १० गते परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिकी उप–विदेश मन्त्रीसँगको भर्चुअल बैठकु, अमेरिकी राजदूतले यता एमसीसी कार्यान्वयनको कुरा उठाउनु, उता अमेरिकाको लागि नेपाली राजदूत खतिवडाले पनि एमसीसीको कुरा उठाउनुलाई अनौठो संयोग मान्न सकिँदैन ।’

पछिल्लो समयमा बाहिर आएका सबै सरकारी अभिव्यक्ति र विदेशी लेखहरुलाई विश्लेषण गर्दा एमसीसी कार्यान्वयनको निम्ति अध्यादेश जारी हुन लागेको र अमेरिकाले संसदवाट स्वीकृत गराउने अडान छोड्न खोजेको बताउँदै वाह्य हस्तक्षेपका लागि कुटनीतिक क्षेत्रका अभिव्यक्ति र चासोले मार्ग प्रशस्त गर्न लागेको समेत उसको निश्कर्ष रहेको छ ।

पछिल्ला आन्तरिक तथा वाह्य राजनीतिक घटनाक्रमको विश्लेषणपछि अभियानले मुलुक ठूलो बबण्डरयुक्त भूमरीतर्फ अघि बढेको ठहर गरेको छ । उसले अदालत, नागरिक समाज, वुद्धिजिवी, पत्रकार, सञ्चारकर्मी तथा कथित लोकतन्त्रवादी संघ, संस्था सबैको विवेक र क्षमताको परीक्षणको घडी आएको समेत बताएको छ ।

स्वतन्त्र मुलुकको अस्तित्व मेटिन नदिन विदेशी चलखेलकाविरुद्ध खबरदारी गर्न समेत अभियानले समाजका सबै वर्ग, तह र तप्काका सचेत नागरिकसमक्ष अपिल गरेको छ ।

टिप्पणीहरू