अदालत नगएका योगेश र गोकर्णसमेत माधवसँग बैठकमा सामेल
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा अस्ति दायर रीटमा हस्ताक्षर गर्न इन्कार गर्ने योगेश भट्टराई र गोकर्ण बिष्टसहितका एमाले नेताहरु फेरि एकजुट भएर प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी,निरंकुश र प्रतिगमनकारी कार्यहरुको बिरुद्ध संघर्ष गर्न सहमत भएका छन् ।
माधव-खनाल खेमामा आवध्द रही लामो समयदेखि पार्टीलाई विधि,पध्दतिअनुरुप सन्चालन गर्न प्रयत्नरत यो खेमाका शीर्षस्थ नेताहरुको हिजो बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म छ घण्टा चलेको जुम बैठकको सहमतिअनुरुप आज १५ जना पदाधिकारीले साझा बिज्ञप्तीसमेत निकालेका छन् ।
आज प्रकाशित संयुक्त विज्ञप्तीमा भनिएको छ ‘हालै पार्टी निर्माणको आरम्भदेखि नै नेतृत्व दिनुभएका वरिष्ठ नेताहरुलगायत पार्टीको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्नुभएका महाधिवेशनबाट निर्वाचित पदाधिकारीसमेतका नेता एवम् सांसद गरी ११ जनालाई पार्टी सदस्यबाट निश्कासन गरिएको र १२ जनालाई स्पस्टिकरण सोधिएको निरकुंश तानाशाही निर्णय सार्वजनिक भएको छ । यस्तो स्वेच्छाचारी निर्णयको हामी घोर भर्त्सना गर्दछौं ।’
प्रधानमन्त्री ओली स्वयंले देशको संविधान र पार्टी विधानको उल्लंघन गरेको,लोकतान्त्रिक मूल्य र मान्यता कुल्चिएकोे,निरंकुश र तानाशाही व्यवहार गरेको,जनता कोरोना महामारीबाट आक्रान्त भएको स्थितिमा समेत आफ्नै दल र राष्ट्रलाई एकताबध्द तुल्याउनुको साटो फुट र अराजकताको बाटो समातेको उहाँहरुले ठोकुवा गर्नुभएको छ ।
‘ओलीले देशमा जताततै अस्तव्यस्त स्थिति सिर्जना गर्ने र राष्ट्रिय हित तथा स्वाभिमान विपरीतका क्रियाकलाप गर्ने,यस्ता कामकुराको बिरोध गर्दा कारबाही गर्ने कार्य निन्दनीय र हास्यास्पद रहेको’विज्ञप्तिमा उल्लेख छ ।
प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणाविरुद्ध अस्ति सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनमा हस्ताक्षर नगर्नुभएका गोकर्ण बिष्ट र योगेश भट्टराईले समेत आज प्रकाशित विज्ञप्तीमा हस्ताक्षर गर्नुभएको छ । हिजो दिउँसो भएको जुम बैठकको सहमतिमा आज उक्त विज्ञप्ती प्रकाशित भएको हो ।
हिजो बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको १५ जना स्थायी समिति सदस्यबीचको जुम बैठकमा सबैले आफ्ना धारणा स्पष्टसँग राखेको स्रोतको दाबी छ । नेता बिष्ट र भट्टराई एमालेबाट छुट्टिएर तुरुन्तै नयाँ पार्टी बनाउनेमा मात्रै आनाकानी गर्नुभएको तर अध्यक्ष ओलीको स्वेच्छाचारी गतिविधिको बिरोध गर्दै आउनुभएको स्रोतको दाबी छ ।
हिजोको जुम बैठकमा बिष्ट र भट्टराई पनि सामेल हुनुहुन्थ्यो । उहाँहरुले क्रमशः २० र १५ मीनेट बोल्नुभएको बताइन्छ । बिष्ट अहिले पनि बिमारीका कारण घरमै आराम गरिबस्नुभएको छ । हिजोको ६ घण्टा लामो बैठकपछि तयार पारिएको विज्ञप्ती सबैलाई देखाउने र सुझावअनुसार थपघट गर्दा आज मात्र सार्वजनिक भएको हो ।
हिजै साँझ प्रकाशित गर्ने तयारी गर्दा कोरोना महामारी र निषेधाज्ञाको प्रभाव विज्ञप्तीमा समेत परेको एक जना नेताले जानकारी दिनुभएको छ
टिप्पणीहरू