मृतक परिवारलाई २५ हजार
उदयपुरको कटारी नगरपालिकाले नगरभित्र कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई २५ हजार रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
साथै नगर कार्यपालिकाको बैठकले होमआइसोलेसनमा बसेका संक्रमितलाई स्वास्थ्य किटसमेत उपलब्ध गराउने निर्णय गरेको मेयर ज्ञानेन्द्र श्रेष्ठले बताउनुभएको छ ।
मेयर श्रेष्ठका अनुसार एकै परिवारका एकभन्दा बढीको संक्रमणबाट ज्यान गएमा प्रति मृतक उनको परिवारलाई २५ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ ।
कोरोनाका कारण मृत्यु भएका अतिविपन्न नगरवासीलाई वडा कार्यालयको सिफारिसमा आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।
संक्रमितलाई वितरण गरिने स्वास्थ्य किटमा आवश्यक औषधि,मास्क,स्यानिटाइजर लगायतका सामाग्री राखिने छ ।
कटारीमा कोरोना संक्रमणबाट ५ जनाले ज्यान गुमाएका छन् । हालसम्म कटारीमा सक्रिय संक्रमितको संख्या ९५ र निको हुनेको संख्या १५ जना रहेको छ ।
संक्रमितहरुमध्ये कटारी ३ को ताराघारी आइसोलेसनमा ७ जना, कटारी अस्पतालको आइसोलेसनमा अक्सिजनसहित उपचाररत १ जना रहेका छन् । अन्य सबै होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
टिप्पणीहरू