अदालतको सेवा कटौती

अदालतको सेवा कटौती

कोरोना महामारीका कारण जारी निषेधाज्ञा लम्बिएसँगै काठमाण्डौँ जिल्ला अदालतले सेवा कटौती गरेको छ ।

दोस्रो लहरबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै अदालतले कामकारबाही र आफ्नो सेवालाई सीमित बनाएको हो । अदालतको आजको पूर्ण बैठकले स्थानीय प्रशासनबाट बैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञालाई जेठ २० गतेसम्म लम्ब्याइएको कारण सेवा विस्तारमा संकुचन ल्याउनु परेको जनाइएको छ ।

तर पनि अदालतबाट म्याद थप, पक्राउ पुर्जी,कल डिटेल अनुमति र जरुरी पक्राउ पुर्जीको समर्थनसम्बन्धी कार्य, अभियोगपत्र दर्ता गर्ने, अभियुक्तको बयान लिने,थुनछेक आदेश गर्ने,बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदन लिने,प्रहरीद्वारा पक्राउ गरिएका फरार प्रतिवादीको बयान तथा थुनछेकको कार्य भने यसबीचमा गरिने निर्णय छ ।

त्यस्तै,घरेलु हिंसासम्बन्धी फिरादपत्रको दर्ता र सुनुवाई,बाल सुधारगृहमा बालबालिका जिम्मा लिनेसम्बन्धी निवेदन, निषेधाज्ञापूर्व कसूर ठहर भई सजाय निर्धारण हुन बाँकी मुद्दाको सुनुवाई गर्ने तथा काम कारबाही तथा सेवा प्रवाह स्थगन भएका समयमा मुद्दा,रिट तथा निवेदनहरुमा रहेका हदम्याद,म्याद र तारिख नगुज्रने गरी निर्णय गरिएको अदालतका स्रेस्तेदार ज्ञानेन्द्र इटनीद्वारा जारी सूचनामा उल्लेख छ ।

टिप्पणीहरू