भारतका दक्षिणी राज्यमा कोरोना संक्रमित बढ्दै
भारतमा पछिल्लो २४ घण्टावीच २ लाख ११ हजार २ सय ९८ जना कोरोना संक्रमणको नयाँ बिरामी थपिएका छन् ।
त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा ३ हजार ८ सय ४७ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट ३ लाख १५ हजार २ सय ३५ जनाको निधन भएको छ ।
विगतमा महाराष्ट्र,नयाँ दिल्ली र उत्तर प्रदेशमा फैलिएको कोरोनाको दोस्रो लहर बिस्तारै दक्षिणतिर सरेको छ । पछिल्लो २४ घण्टामा भारतको तमिलनाडु राज्यमा सबैभन्दा धेरै ३३ हजार ७ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् ।
उता केरलामा पनि २८ हजार ७ सय ९८ जना नयाँ संक्रमित थपिएको छ । कर्नाटकमा २६ हजार ८ सय ११ नयाँ संक्रमित थपिँदा महाराष्ट्रमा पनि २४ हजार ७ सय ५२ थपिएका छन् ।
हालसम्म सबैभन्दा धेरै कोरोना संक्रमित भएका मुलुकको सूचीमा अमेरिका पहिलो स्थानमा रहेको छ ।
तर पछिल्लो एक सातामा भारतमा १८ लाख ४५ हजार ७ सय ८१ नयाँ संक्रमित थपिएका छन् । कोरोनाको दोस्रो लहरले अमेरिकाभन्दा भारतमा बढी क्षति पुर्याएको छ ।
टिप्पणीहरू