कोरोनाका कारण ज्यान गएकि महिलाको गरगहना अस्पतालबाटै हराएपछि अस्पतालका कामदार भन्छन् –‘फोहोरसँगै गयो होला’
नेपालीमा एउटा बालगीत छ – ‘कुखरी काँ, बासीभात खा, खोई मेरो बासी भात ……….., खोई खोलो –सुक्यो !’ सुन्दा ठिक यस्तै लाग्ने तर गैर जिम्मेवार रुपमा अस्पतालका कर्मचारीको जवाफको कारण अहिले रुकुममा कोरोना संक्रमणका कारण आफन्त गुमाएका एक परिवारले थप पीडा खेपीरहेका छन् ।
कोरोनाका कारण अस्पतालमा ज्यान गुमाएकि आफ्ना परिवारको सदस्यको सामान माग्दा अस्पतालका कामदारले भनेका छन्, ‘फोहोर सँगै गयो होला ।’
कोरोना संक्रमितले समयमै उपचार नपाएको ज्यान गएको, समयमै र गरिबीको कारण थप उपचार नपाएर ज्यानै जाने गरेका दुखद् खबर सुनिएकै हो । कोरोना संक्रमणका कारण ज्यान गुमाएका व्यक्तिको लगाएको गरगहना र साथमा रहेको नगद रकम अस्पतालबाटै गायब भएको सुन्दा यहाँहरुलाई नमज्जा लाग्न सक्छ ।
तर, रुकुम पश्चिममा कोरोना संक्रमणको कारण ज्यान गुमाएकि एक महिलाको गरगहना र साथमा रहेको नगद रकम अस्पतालले नदिएको परिवारजनले आरोप लगाएका छन् ।
कोरोनाको नयाँ भेरियन्ट सुरु भएपछि गत बैशाख ६ गतेका दिन जिल्ला अस्पताल सल्लेमा जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर ७ की ४० बर्षिय सरस्वती परियारको कोरोना संक्रमणका कारण ज्यान गएको थियो ।
४ गते अस्पताल भर्ना भएकि उनले लगाएका गरगहना र साथमा रहेको नगद हाल सम्म परिवारले नपाएको मृतकका ससुरा सरबिर दमाईले बताएका छन् ।
‘ज्वरो आएको र श्वासप्रश्वासमा गाह्रो भएपछि हामीले तीन दिन अघि शनिबारका दिन अस्पताल लगेका थियौ’, मृतकका ससुरा सरबिरले जनआस्थासँग भने, ‘कोरोना संक्रमण भएको रिपोर्ट आएपछि आईशोलेशनमा राखियो, हामी बाहिरै बस्यौ ।
६ गते सोमबार बिहान मृत्यु भएपछि पनि हामीले नजिक गएर देख्न पाएनौ, सोहि दिन बेलुका नेपाली सेनाको टोलीले स्थानीय मुग्लु खोलामा दाहसंस्कार गरेको हो ।’ त्यसको केहि दिन पछि अस्पतालमा गएर बुहारीले लगाएको गहना र साथमा रहेको नगद रकम बारे कुरा गर्दा अस्पतालले गायब गरेको उनले आरोप लगाए ।
‘मैले अस्पतालका हाकिमलाई कुरा राखे,’ उनले भने, ‘हाकिम सापले उहाँको के के सामान थियो देउ भन्नुभयो, तर त्यहाँका कामदारहरुले फोहोर फाल्ने सँगै गयो होला भन्दै तर्किए ।’ त्यहाँका कामदारहरुको त्यस्तो जवाफले आफुलाई झन् शंका लागेको उनले उल्लेख गरे ।
सरबिरले बुहारीले १ तोलाको सुनको गहना लगाएको बताए । आठ आनाको कानबाली, मंगलसुत्र, लस्करी गरेर १ तोला सुनका गहना, उपचार खर्च भनेर घरबाट बोकेको १० हजार नगद रकम र नागरिकताको प्रमाणपत्र बुहारीकै साथमा रहेको उनको दाबी छ ।
‘आईशोलेशनमा लिएपछि मलाई भित्र जानै दिएनन्, जाने अवस्था पनि भएन’, सरबिरले भने, ‘अस्पताल वा प्रहरीले सामान सुरक्षित राखिदिएका होलान् भन्ने लागेको थियो, तर गायब बनाएछन् ।’ उनले हाल सम्म कारोनाको कारण बुहारीको मृत्यु भएको बारे अस्पतालले कुनैपनि कागज नदिएको गुनासो गरे ।
यस बिषयमा स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख बिष्णु बहादुर बुढाथोकीले मृतकका परिवारको गुनासो आएको बताए । गुनासो आउने बित्तिकै खोजि गर्दा अस्पतालमा सामान नदेखिएको बताउँदै निमित्त प्रमुख बुढाथोकीले भने, ‘बुझ्दै छौ, प्रहरी मुचुल्का हेर्छौ, संलग्न र उपस्थित कर्मचारीहरुलाई बुझेर खबर गरम्ला ।’
मृतक परियारका ३ भाई नाबालक छोरा रहेका छन् । उहाँका श्रीमान् रतिभान दमाई ३ बर्ष अघि देखि बैदशिक रोजगारीको सिलशिलामा कुबेतमा रहेका छन् ।
टिप्पणीहरू