नाम उही,झण्डा उही तर दुईतिरै कारबाही धुईंधुईं

नाम उही,झण्डा उही तर दुईतिरै कारबाही धुईंधुईं

जनता समाजवादी पार्टी नेपाल (जसपा) मा महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले उपेन्द्र यादव पक्षलाई कारबाही गरेको पत्रमा सही नधस्काउँदै उपेन्द्र पक्षले पनि ठाकुर र महतो पक्षलाई जस्ताको तस्तै कारबाही गरेको छ । झण्डा, नाम,छाप,पत्रको व्यहोरा, स्पष्टीकरणको म्याद एउटै भएपनि दस्तखत भने फरक छ ।

उपेन्द्रलाई सोधिएको पत्रमा ठाकुरले र ठाकुरलगायतलाई सोधनी भएको पत्रमा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले दस्तखत गरेको देखिन्छ । दुबैथरिले हिजो लेखेको पत्रमा २४ घण्टाको म्याद दिइएको छ ।

पत्रको व्यहोरामा दुवै पक्षले पार्टी विधान तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १८ (१), (२), (३), र पार्टी विधानको दफा ४९ को (१), (२), (३), (५), (७), (८) र दफा ५० (१) विपरित कार्य गरेकाले २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ ।

उपेन्द्र पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र केन्द्रीय कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण सोधेको हो । उता ठाकुरले भने अध्यक्ष उपेन्द्र यादवलाई त्यस्तै स्पष्टीकरण सोधेर पालोको पैँचो तिरेको शैली देखाएका छन् ।

टिप्पणीहरू