साँच्चै कि लुकाउनलाई कारबाही गरेको मन्त्रीज्यू !
-आशिका लम्साल
बन्द सिनेमा हलभित्र पहुँचवालाहरूलाई सुटुक्क कोभिडविरुद्धको खोप लगाएको घटना सार्वजनिक भएपछि प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले कर्मचारीलाई विभागीय कार्वाहीको चेतावनी दिएकी छन् ।
निर्देशनविपरीत १४ जेठमा लकडाउनका बेला विराटनगरको तीनपैनी चौकस्थित बन्द सिनेमा हलभित्र पहुँचवालाहरूलाई भेला गराएर कोभिडविरुद्धको खोप लगाएको घटना बाहिर आएपछि मन्त्री राईले स्वास्थ्य कार्यालय मोरङका कर्मचारीलाई चेतावनी दिएकी हुन् ।
मन्त्री राईको सचिवालयले जनाएअनुसार बन्द सिनेमा हलभित्र कसको निर्देशनमा खोप लगाएको हो र क–कसले खोप लगाए भन्ने लिखित र चित्तबुझ्दो जवाफ दिन स्वास्थ्य कार्यालयका संलग्न कर्मचारीलाई निर्देशन गरिएको छ । प्रमाणसहित चित्तबुझ्दो जवाफ नआए उनीहरू विभागीय कारबाहीमा पर्नेछन् ।
मन्त्रीका प्रमुख स्वकीय सचिव वीरेन्द्र मगरका अनुसार बन्द सिनेमा हलभित्र खोप लगाउन मन्त्री वा मन्त्रालयले स्वास्थ्य कार्यालयलाई कुनै निर्देशन दिएको थिएन । तर,झमझम पानी परिरहेका बेला लकडाउनलाई बेवास्ता गर्दै विराटनगर–२ तीनपैनीको सिटी सिनेमा हलमा बाहिर गेट बन्द गरेर १४ जेठमा करिब दुई सय जनालाई सामाजिक विकास मन्त्रालयको जीपमा गएका स्वास्थ्य कार्यालयका कर्मचारीले खोप लगाएका थिए ।
गोप्य रुपमा बन्द सिनेमा हलभित्र खोप लगाएको थाहा पाएपछि स्थानीयले होहल्ला गर्दै विरोध गरेपछि घटना सार्वजनिक भएको थियो । विरोधपछि सामाजिक विकास मन्त्रालय लेखेको पिकअप भ्यानमा कर्मचारीहरु प्रहरीको सुरक्षा घेरामा भागेका थिए । तत्काल प्रहरी,महानगरपालिका, जनप्रतिनिधि कसैले पनि खोप लगाउनेबारे आफूहरूलाई जानकारी नभएको बताएका थिए ।
स्थानीयले मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीको निर्देशनमा पहुँचवाला र कार्यकर्तालाई सुटुक्क बन्द सिनेमा हलभित्र खोप लगाएको आरोप लगाएका थिए । घटनाको सर्वत्र विरोध भएको थियो । उक्त घटनाको प्रदेश सभामा विपक्षी दलले पनि विरोध गरेका थिए ।
मन्त्री राईको सचिवालयका अनुसार मन्त्रालयले सीमित रुपमा रहेको कोभिड शिल्ड खोप सरकारले जारी गरेको निर्देशिकाको प्राथमिकताका आधारमा क्रमशः आवश्यकताअनुसार दोस्रो डोज पारदर्शी तरिकाले लगाउन स्वास्थ्य कार्यालयलाई अनुमति दिएको थियो । अपारदर्शी तरिकाले खोप लगाउन कसैलाई भनेको थिएन । प्रमुख स्वकीय वीरेन्द्र मागरले भने, ‘मन्त्रीज्यूले घटनालाई गम्भीर रुपमा लिनुभएको छ, छानबिनपछि निष्कर्षमा पुग्नुहुनेछ ।’
मुख्यमन्त्री र महानगरपालिका प्रमुखबाट पनि खण्डन
यता,सिनेमा हलभित्र सुटुक्क खोप लगाएको घटनामा प्रदेश १ का मुख्यमन्त्रीको सचिवालयले पनि अनभिज्ञता प्रकट गरेको छ । मुख्यसचिव शेरधन राईका प्रेस सल्लाहकार ध्रव सुवेदीले खोप लगाउने कार्यमा मुख्यमन्त्री तथा सचिवालयको कुनै निर्देशन नभएको र लगाएको आरोप निराधार भएको प्रस्ट्याएका छन् ।
विराटनगर महानगर प्रमुख भीम पराजुलीले पनि खोप लगाउने कार्यमा आफूहरूको कुनै संलग्नता नरहेको र त्यसबारे कुनै जानकारी नभएको बताएका छन् ।
टिप्पणीहरू