माधव खेमाद्वारा ओलीको प्रस्ताव नामन्जुर

माधव खेमाद्वारा ओलीको प्रस्ताव नामन्जुर

नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले हिजो साँझ अघि सारेको पार्टी एकताको ६ बुँदे प्रस्ताव अस्वीकार गरेको छ ।

भर्खरै सम्पन्न सो समूहको स्थायी कमिटी बैठकले ओलीको प्रस्तावमा एकताको भन्दा पनि जालझेल गर्ने मनशाय देखिएकाले अस्वीकार गर्ने निर्णय गरेको हो । बैठकले साँच्चै एकता गर्न चाहेको भए यसअघि आफूहरुले अघि सारेको ६ बुँदे प्रस्ताव स्वीकार गर्न अध्यक्ष ओलीलाई आग्रह गरेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताउनुभयो ।

‘उहाँ (ओली)को प्रस्ताव एकताको मनशायबाट आएको देखिएन । त्यसैले बैठकले उहाँले अघि सारेका बुँदा स्वीकार नगर्ने निर्णय गरेको छ’,भुसालले भन्नुभयो, ‘साँच्चै उहाँले एकता चाहेको भए यसअघि नै हामीले ल्याएको ६ बुँदे प्रस्ताव स्वीकार गर्नुपर्छ भन्ने कुरा छ । निर्णयको लिखित जानकारी केहीबेरमा सार्वजनिक हुन्छ ।’

“जेठ २ मा फर्किने हो भने पार्टी एकतापनि बच्छ,त्यसपछि उहाँले नै डेढ वर्ष सरकार चलाए भैहाल्छ ।”

ओलीले गरेको प्रस्ताव प्रथम दृष्टिमै त्रुटिपूर्ण र भ्रामक रहेको भुसालले बताउनुभयो । पार्टीलाई ७५ जेठ ३ मा फर्काउँदा नेकपा एमालेको कमिटीलाई आधार मान्नुपर्ने आफूहरुको माग भएपनि ओलीले नेकपाको कमिटीलाई आधार मान्ने प्रस्ताव गरेपछि अस्वीकार गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

त्यस्तै,स्थानीय कमिटीहरुलाई मूलभूत रुपमा जेठ २ को अवस्थामा फर्काउने ओलीको प्रस्तावले आफूहरुले उठाउँदै आएको माग सम्बोधन नगरेको भुसालले बताउनुभयो । ‘हामीले सम्पूर्ण रुपमा भनेका हौँ,उहाँले मूलभूत रुपमा भन्नुभएको छ । यसले उहाँ जालझेल र षड्यन्त्रमा हुनुहुन्छ भन्ने देखाउँछ ।’

बैठकले प्रतिनिधिसभा विघटनविरुध्द सर्वोच्च अदालतमा दायर रिट निवेदनबाट पछि नहट्ने निर्णय गरेको भुसालको भनाइ छ । उहाँले जेठ २ मा फर्किने र हस्ताक्षर फिर्ता गर्ने कुरा आफैँमा अन्तरविरोधी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीलाई जेठ २ मा फर्काउने र हस्ताक्षर फिर्ता गर्ने कुरा आफैँमा अन्तरविरोधी छन् । जेठ २ मा फर्किने हो भने पार्टी एकतापनि बच्छ,त्यसपछि उहाँले नै डेढ वर्ष सरकार चलाए भैहाल्छ ।

त्यसैले कुनै हालतमा हस्ताक्षर फिर्ता गर्ने कुरा स्वीकार गर्न सकिंदैन । अहिले चुनावमा जाने बेला पनि होइन । प्रतिनिधिसभालाई विघटनमा जान दिनु हुँदैन

टिप्पणीहरू