नेपाल भेरियन्ट !
-सुरेशकिरण
नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट भेटियो भनेर एउटा बेलायती अखबारले समाचार लेखे पछि बबालै भयो । समाचार बेलायतमा छापियो तर नेपालमा त्यस्तो त्यस्तो कुनै भेरियन्ट पाइएकै थिएन । डाक्टरहरू दौडेको दौड्यै,कहाँ पाइयो नयाँ भेरियन्ट भनेर । तर नेपालमा कसैले भेट्टाउन सकेन ।
आखिर कहीं नभेटिएपछि बेलायतको त्यही समाचार छाप्ने पत्रकारलाई कसैलाई सोधेछ, ‘पत्रकारज्यू, तपाइँले त ‘नेपाल भेरियन्ट’ भेटियो भने समाचारै छापिदिनुभयो । तर नेपालमा त त्यस्तो कुनै भेरियन्ट भेटिएको छैन । कसरी थाहा पाउनुभयो ?’
पत्रकारले भने, ‘खोइ,त्यो त मलाई थाहा भएन । तर मलाई उच्चस्तरबाटै सूचना आएकोले समाचार छापेको हुँ ।’
‘कस्तो उच्चस्तर ? भन्न मिल्छ ?’ पत्रकारलाई सोधियो । पत्रकारले भने, ‘हेर्नोस्,मलाई यो कुरा नेपालका प्रधानमन्त्री मिस्टर केपी शर्मा ओली आफैले भन्नुभएको हो । प्रधानमन्त्रीले नै भन्नुभएका कारण मैले लेखेको हुँ ।’
‘प्रधानमन्त्रीले ?’ प्रश्नकर्ता चकित भए, ‘के प्रधानमन्त्रीले नयाँ भेरियन्ट नै पत्ता लाग्यो भन्नुभएको हो ?’ ‘नयाँ भेरियन्ट मात्र होइन, उहाँले त भेरियन्टको नामै भन्नुभएको थियो– ‘नेपाल भेरियन्ट’ ।
यो बडो डरलाग्दो भेरियन्ट हो भन्नुभएको थियो । उहाँले भन्नुभएको थियो कि अहिले उहाँको पार्टीकै कतिपय कार्यकर्ताहरू ‘नेपाल भेरियन्ट’ को शिकार भएका छन् रे । कार्यकर्ता मात्र होइन ‘नेपाल भेरियन्ट’ ले पार्टीलाई समेत खत्तम पारिसक्यो समेत भन्नुभएको थियो ।
अब नेपालकै प्रधानमन्त्रीले नेपालमा ‘नेपाल भेरियन्ट’ को खतरा छ भने पछि मैले नछापी भयो ?’ बेलायती पत्रकारको प्रश्नले प्रश्नकर्ता नै प्रश्नहीन बने ।
टिप्पणीहरू