सर्वोच्चको फैसला स्वीकार्दै सहमति र एकता गर्न सकिन्छ : गोकर्ण बिष्ट (भिडियाे )

सर्वोच्चको फैसला स्वीकार्दै सहमति र एकता गर्न सकिन्छ : गोकर्ण बिष्ट (भिडियाे )

नेकपा एमाले स्थायी समिति सदस्य तथा पूर्वमन्त्री गोकर्ण बिष्टले प्रतिनिधिसभा विघटनविरुध्दको मुद्दामा सर्वोच्च अदालतबाट प्राप्त हुने फैसलालाई स्वीकार गर्ने गरी सहमति र एकता गर्न सकिने बताउनुभएको छ ।

पार्टीभित्रको आन्तरिक किचलो विभिन्न बहाना र रुपमा सर्वोच्च अदालत पुगेको भन्दै एकताको लागि सर्वोच्च अदालतले दिने फैसलालाई अब सबैले स्वीकार गर्ने र त्यसैमा सहमति गर्न सकिने स्पष्ट पार्नुभएको छ ।

बिष्टले दुवै पक्षका नेताहरुले व्यक्तिगत घमण्ड र अहंलाई त्याग्नुपर्ने बताउनुभएको छ । उहाँले प्रतिनिधिसभा बिघटन गर्ने पक्षलाई आफ्नो निर्णय फिर्ता लिन अप्ठेरो भएको र प्रधानमन्त्रीबिरुद्ध अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेहरुलाई समेत हस्ताक्षर फिर्ता लिन सजिलो नरहेको अवस्थामा सर्वोच्च अदालतले जे फैसला दिन्छ त्यसैलाई स्वीकारेर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

पार्टीभित्रको व्यक्तिगत टकरावको कारण कम्युनिष्ट आन्दोलन नै समाप्तीको दिशामा जान खोजेको अहिलेको अवस्थामा त्यसतर्फ जान नदिन पार्टी एकता र कम्युनिष्ट आन्दोलनबिरुद्धका सबै निर्णय खारेज गरेर समेत एकताको ढोका खोल्न सकिने उहाँको तर्क छ ।

आन्तरिक किचलोमा पार्टीभित्रका अतिवादी सोच भएका केही व्यक्ति र बाहिरका केही शक्तिले खेलिरहेको उहाँले स्वीकार गर्नुभयो । भन्नुभयो ‘बाहिर पुगेकालाई पार्टीभित्र ल्याउनै हुन्न भन्ने एकथरि र बाहिर रहेकाले आफ्नो अडान नमाने छुट्टै बाटो अपनाउनुपर्छ भन्ने विचारले अन्तरकलहलाई मलजल पुगेको छ ।’

टिप्पणीहरू