आफ्नै बाटो खुलाउन भारतसँग हारगुहार
सिंहदरबारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउने सार्वजनिक हुङ्कार छोडेको धेरै भएको छैन । सिंहदरबारमा नभएकाहरु माइतीघर मण्डलामा बेलाबेला राष्ट्रियताको पक्षमा चर्काचर्का भाषण गरिरहेका हुन्छन् ।
सिंहदरबार र माइतीघरमा उभिएर राष्ट्रियताको पक्षमा चर्को स्वर गर्नु र सीमामा बसेर आफ्नो भूमिको रक्षाका लागि पहलकदमी लिनुमा कति फरक पर्छ भन्ने बुझ्न एउटा तथ्य काफी छ ।काठमाडौँमा उर्लने राष्ट्रियताको भेल र महाकालीमा उर्लेको पानीको भेलले पुर्याएको क्षतिको भेद बुझ्न भारतका कारण अवरुद्ध नेपाली बाटो खुलाउन दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सिडियो)ले भारतका समकक्षीलाई लेखेको एउटा पत्र हेरे पुग्छ ।
भारतीय पक्षको कमजोरीका कारण नेपालीले सास्ती पाउँदा प्रशासकले दृढ अडानका साथ आफ्ना कुरा राख्नुपर्नेमा अनुनय, बिनय गर्दै दार्चुलाका सिडियोले लेखेको पत्रले भारतपरस्त मनोविज्ञान उजागर गरेको छ । भारततर्फ सडक खन्ने क्रममा खसेको पहिरोका कारण महाकाली नदी थुनिएर बाटो अवरुद्ध हुँदा स्थानीय प्रशासनको पत्रमा निरिहता देखिएको हो ।
जेठ २५ गते साँझ भारतको पिथौरागढ पाङला ग्रामीण पन्चायतअन्तर्गत पर्ने गर्भाधातु भन्ने स्थानमा सडक मर्मतका क्रममा ब्लास्ट गर्दा सडकको तल र माथिको पुरै चट्टान महाकाली नदीमा खसेर नदी थुनिएको थियो । ब्यास गाउँपालिका- २ कल्जिमुर नजिकै महाकाली थुनिएपछि छाङ्ग्ग्रु र टिँकर जाने गोरेटो बाटोको करिब १५० मीटर पूर्णरुपमा क्षति हुँदा आवागमन अवरुद्ध हुन पुगेको थियो ।
भारतीय पक्षले गरेको गल्तीका कारण महाकाली थुनिएर बाटो अवरुद्ध हुँदा नेपाली प्रशासकले भने बिनम्रतापूर्वक आग्रह गर्दै सहयोग र समन्वयका लागि गुहार मागेका छन् । अस्ति २७ गते पिथौरागढका जिल्ला अधिकारीलाई सम्बोधन गर्दै दार्चुलाका सिडियो सिद्धराज जोशीले लेखेको पत्रमा नदी खोलेर बाटोको सहज आवागमनका लागि सहयोग गरिदिन अनुरोध गरिएको छ ।
‘प्रस्तुत विषयमा यस जिल्लाको ब्यास गाउँपालिका-२ कल्जुखोला नजिक तहाँको सडक निर्माण गर्ने क्रममा जिलेटिन पड्काउँदा माथिबाट पहिरो खसी महाकाली नदीमा पानी जम्मा भई नेपालतर्फको घोरेटो बाटो अवरुद्ध भएकाले तहाँबाटै उक्त जम्मा भएको पानि खोली बाटोको सहज आवागमनका लागि अनुरोध छ’, पत्रमा भनिएको छ ।
गृह मन्त्रालयअन्तर्गतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा, सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र पिथौरागढका उपजिल्ला अधिकारीलाई बोधार्थ गरिएको पत्रमा व्यास-१ स्थित सीता पुलको संरक्षणका लागि तार जाली आवश्यक पर्ने भएकाले सहयोगको मागसमेत मागिएको छ ।
बाटोको निरीक्षण गर्न सशस्त्र इन्स्पेक्टर नरेन्द्रसिंह बोहोरा नेतृत्वको टोली पुगेर बेसमा फर्किएको छ ।
टिप्पणीहरू