ताप्लेजुङको पापुङमा यार्सागुम्बा
-कमल भट्टराई
ताप्लेजुङको पापुङ मिक्वाखोला गाउँपालिकामा पर्दछ । यो साविकको पापुङ गाविस हो । यो ताप्लेजुङकै फक्ताङ्लुङ गाउँपालिका र संखुवासभाको थुदाम जस्ता दुर्गम क्षेत्रसँग जोडिएको छ । पापुङ ताप्लेजुङको दुर्गम तथा हिमाली गाउँ हो । गाउँको तल्लो क्षेत्रको बस्तीबाट २ दिन हिँडेपछि तोक्पेगोला पुगिन्छ ।
तोक्पेगोलाबाट २ दिन हिड्दा संखुवासभाको थुदाम पुगिन्छ । त्यसै गरी तोक्पेगोलाबाट २ दिन हिँड्दा ताप्लेजुङ कै ओलाङ्चुङगोला पुगिन्छ भने तोक्पेगोलाबाट २ दिन हिँड्दा चीनको तिब्बतको रियु अम्बोलाचा पुगीन्छ अथवा तोक्पेगोलाबाट कुनै पनि मानव बस्ती भेट्न २ दिनको पैदल हिड्नु पर्दछ ।
तोक्पेगोलामा बसोबास गर्नेहरु अल्पसंख्यक ढोक्प्या जातिमा पर्दछन् । तोक्पेगोला साविक पापुङ गाविसको वडा नं.१ हो । उक्त वडाबाट पञ्चायतकाल देखिनै चुनाव हुने, वडाध्यक्ष र अन्य सदस्यहरु चुनिने यस वडाबाट नागरिकता बनिने भएता पनि यस स्थानको जग्गा कुनै पनि व्यक्तिको नाममा नापी गरी लालपूर्जा दिइएको छैन ।
तोक्पेगोला पापुङको पर्यटकीय क्षेत्र पनि हो । विशेषत सोदोपोखरी, भूतपोखरी, तोक्पेगोला बस्ती र जङ्लोङगुम्बा, यहाँका रमणीय क्षेत्रहरु हुन । अन्य रमणीय स्थानमा तीनपोखरी, इलीमा झरना, होवेन झरना, युमिक पोखरी रहेका छन् । माथिल्लो भेगमा रहेका ताल, पोखरीहरु सो क्षेत्रका पानीका टावरहरु हुन् भनिन्छ ।
पापुङको माथिल्ला क्षेत्रमा पर्यटकीय स्थानसँगै बहुमूल्य जडिबुटीहरु पदमचाल (केञ्जो), कुट्की, विख्मा, विषजरा, जटामसी, पाँचऔले, सतुवालगायत हिमाली क्षेत्रमा पाइने केही महत्वपूर्ण जडिबुटीहरु पाउन सकिन्छ । पापुङको तोक्पेगोला क्षेत्रभन्दा माथिल्लो भागमा यार्सागुम्बाको खोजी गर्न थालिएको छ ।
यसको गुणस्तर र प्राप्त हुनसक्ने परिणाम भने यकिन भएको छैन । तोक्पेगोला क्षेत्रमा यार्सागुम्बा पाइएको पुष्टि भइसकेको छ ।
टिप्पणीहरू