बालुवाटारमा झुल्कियो ‘नक्कली बेटा’
‘हाँ, वो मेरी माँ है । मैँ उनका इकलौता बेटा हुँ । मेरी माँ नेपालके सुप्रिम कोर्टमे चिफ जस्टिस है †’ सद्दे हुन् या दिमागी सन्तुलन बिग्रिएका, तर यी ठिटा १५ दिनअघि बालुवाटारमा गनगन गर्दै रहेको अवस्थामा भेटिए । दावी थियो, मुलुककी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्की आफ्नी आमा भएको ।
देशवासीको जानकारीमा रहेअनुसार, नेपालकी प्रधानन्यायाधीशका एकमात्र छोरा छन्, प्रशान्त सुवेदी । प्रशान्त त्यसदिन विहानै बालुवाटारस्थित आमाको सरकारी निवासबाट निस्किएर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुगेका थिए । तर, जब डाक्टरी शिक्षा पढ्न थाले, तब आमाको सरकारी निवास पुगेर अर्कै भारतीय युवक सुशीलालाई आमा दावी गर्दै थियो । उनी थिए, भारतको फारविसगञ्जनजिकै घर भएका २७–२८ वर्षजस्तो देखिने अर्जुनकुमार । मूलगेटमा सुरक्षार्थ तैनाथ नेपाल प्रहरीका एकजना हवल्दारले भने, ‘आप उनकी बेटा नहीँ है । और, उनसे मिल्नेके लिएर आपने कोही अपोइन्टमेन्ट भी नहीँ लिया है !’ तर, जिद्दी स्वभावको ठिटोले जसो भन्दा पनि मान्दै मानेन । भन्यो, ‘नहीँ साप, मैँ अभि–अभि फारबिसगञ्जसे विराटनगर, और विराटनगरसे काठमाडौं आया हुँ । वो मेरी माँ है । एकबार उनसे मिल्ने दिजिए, वो मेरेको अच्छेसे पहचान्ती है †’ प्रहरीले पत्याउने कुरै थिएन । जान–पहिचानको खास छोरो एक घण्टा अघि त्यही गेटबाट निस्किएर कलेज पढ्न गएको छ, एक घण्टापछि नामोनिसानै नसुनेको भारतीय ठिटो आएर प्रधानन्यायाधीशलाई आमा दावी गर्छ ! यसपछि बालुवाटारका डुयुटीवाल प्रहरीले माथिल्लो दर्जाका हाकिमलाई फोन गरेर सोधे । हाकिमहरुले भने, ‘परिवारका कोही सदस्यलाई त्यो केटो देखाउनु । उनीहरुले आफन्त नै हो भन्छन् भने भेटाइदिनु । यदि होइन भने सर्वोच्च अदालतको मूलगेटमा पठाइदिनु !’
यही आदेशानुसार ती हवल्दारले प्रधानन्यायाधीशकी एकजना घरेलु सहयोगीलाई बोलाएर देखाए । परिवारका सबै सदस्य चिन्ने ती सहयोगीले ठिटोलाई चिनिनन् । र, प्रहरीले ठिटोलाई सर्वोच्च अदालतको प्रहरी सहायता कक्षमा पठाए ।
अचम्म कस्तो भने, नाइटबसमा काठमाडौं आइपुगेर, गौशालामा ओर्लिएका अर्जुनकुमार आँखा मिच्दै बालुवाटार पुगेका थिए । त्यहाँबाट सर्वोच्च पठाइँदा बिहानको ९ बजेको थियो । शायद हिँडेर गए । सर्वोच्चका कर्मचारीले हाजिर गर्नुअघि नै अर्जुनकुमार मूलगेटअगाडि पुगे । बालुवाटारबाट सर्वोच्चका प्रहरीलाई पुगेको खबर थियो, ‘एउटा साइको टाइपको केटो छ, जथाभावी बोल्न नदिनु । सोधपुछ गरेर प्रधानन्यायाधीशको सचिवालयलाई जानकारी दिनु ।’ अघि बालुवाटारमा हवल्दारसँग भएको कुराकानीको रिपोर्ट त्यहाँ टिपाइएको थियो । सर्वोच्चमा पुगेर ठिटोको बयान लिन थाले, एसपी कृष्णहरि शर्माले ।सोधे, ‘तिमी धर्मपुत्र हौ ?’ उनले हिन्दीमा जवाफ दिए, ‘हैन, म उहाँकै कोखबाट जन्मिएको छोरा हुँ ।’ प्रहरीको सोधाई थियो, ‘सुशीला कार्की विराटनगरको मान्छे, तिमी फारबिसगञ्जको । तिमी उहाँको छोरा भए विराटनगरको हुने थियौ । के आधारमा उहाँलाई आमा भन्दैछौ ?’ अर्जुनले जवाफ दिए, ‘०४६ सालअघि उहाँहरु फारबिसगञ्जमा भूमिगत बस्नुहुन्थ्यो । त्यही बेला म जन्मिएको…!’ उनले भनेका केही कुरा मिल्ने र केही कुरा नमिल्ने थिए । जस्तो कि, सुशीलाका पति तथा वरिष्ठ राजनीतिज्ञ दुर्गा सुवेदीबारे प्रहरीले सोध्यो । उनले भने, ‘हाँ, वो प्लेन हाइज्याकर, विराटनगरमें रहेनेवाला पोलिटिसियन है !’ प्रहरीले सोध्यो, ‘उहाँको घर विराटनगरमा कहाँ पर्छ ?’ भन्यो, ‘मिल्स एरियाके आपसपासमे तो है…!’ यो कुरा मिलेन, किनकि उनीहरुको घर मिल्स एरियामा होइन । बरु, मिल्स एरिया जोगवनी हुँदै फारबिसगञ्ज जाने बाटो हो । प्रहरीले सोध्यो, ‘उहाँ तिम्रो आमा नै हो भने प्रधानन्यायाधीश हुनेबित्तिकै थाहा हुनुपर्ने, भेट हुनुपर्ने । यत्तिका दिनपछि कसरी यहाँ आयौ ?’ ठिटोले रुखो शैलीमा जवाफ फर्कायो, ‘ये सब डिटेल्स आपको क्युँ चाहिए ?’ प्रहरीले उनलाई प्रधानन्यायाधीशले भेट्न चाहनुभयो भने फोन गरौँला भने । तर, नम्बर माग्दा आफूले मोबाइल प्रयोग नगर्ने बताए । अरु कसैको नम्बर दिनु भन्दा दिन चाहेनन् । बसाइ कहाँ हो भनी प्रहरीले सोध्यो, उनले भने, ‘गौशाला धर्मशालामेँ ।’ प्रहरीले कोठा नम्बर सोध्यो, उनले भने, ‘रुम नम्बर बताना कोही जरुरी नहीँ है ।’
सर्वोच्च पुग्दा आइरन गरेको सर्ट र पाइन्ट लगाएका थिए । दाह्री काटेर चिटिक्क परेका थिए । जुत्ता पनि राम्रै थियो, पोलिस गरेर टल्काएको । प्रहरीले उनी आएको बारे प्रधानन्यायाधीशको सचिवालयमा खबर पठायो । खबर पठाउँदै भनिएको थियो, ‘भेटाउनै पर्छ जस्तो हामीलाई लागेन । तर, यसो भन्दै आएको हुँदा के गर्ने हो ? श्रीमान्को कानसम्म पु¥याइदिनुप¥यो ।’ सचिवालयका कर्मचारीले प्रधानन्यायाधीशको कानमा कुरा पु¥याए । तर, प्रधानन्यायाधीशले वास्तै गरिनन् । ती ठिटाचाहिँ प्रधानन्यायाधीश विदेश जानु तीन दिनअघिसम्म सर्वोच्च धाइरहेका थिए, ‘मेरेको माँसे मिलादिजिए एसपी साहेब’ भन्दै ।
टिप्पणीहरू