स्त्री–पुरुष सम्बन्धका अनेक सिलसिला

स्त्री–पुरुष सम्बन्धका अनेक सिलसिला

-वैकुण्ठ ढकाल

‘आज सम्बन्धको कुरा गरौं ल ?’ कुरै कुरामा एउटा विषय फु¥यो, अनि म्यासेञ्जरमा टाइप गरें ।

‘शारीरिक सम्बन्ध’ उताबाट जवाफ आयो ।

‘सम्बन्धको कुरा भनेको मैले, सम्भोगको हैन ?’ मेरो प्रश्न थियो ।

‘किन लाज लाग्यो, एक्काइसौं शताब्दीको पुरुषलाई ?’ उताबाट अलि पेलेरै जवाफ आयो ।

‘कुरै गर्न त के फरक पर्छ र ?’ ‘तर यो एउटा विषय त नितान्त निजी हो, लोग्नेस्वास्नीबीच मात्रै सीमित रहनु पर्छ, र म जतिसुकै उदार भए पनि यो विषयमा कुरा गर्दिनँ ।’ (तिमी पुरुषको कान ठाडो अनि आँखा तेजिलो भइहाल्छ है, सेक्सको कुरा सुनेपछि । )

त्यसपछि धेरै समय कुराकानी भएन, केही समस्या भएर होला भन्ने भएर होला । केही दिन दिन नबोलेपछि खोजी गर्ने कुरा त भएन तर एकाएक किन कुराकानी नै बन्द भयो भन्ने कारणचाहिं जान्न मन थियो । धेरै समयपछि म्यासेञ्जरमा हरियो बत्ती बल्यो, हाइहेलोको जवाफ आएन, कुरा गर्न नचाहेको भन्ने बुझियो । तर एकदिन उनले जे कुरा गरिन् त्यो मेरो कल्पनाबाहिरको थियो ।

पूर्वी नेपालको एक जना महिला म्यासेञ्जरमा जोडिइन् । दिनहुँजस्तो कुराकानी पनि भयो । आत्मीय लाग्यो, विश्वास लाग्यो, केही कुरासेयर गर्छु भनिन् । मैले पनि कुरा सुनें ।

‘म तपाईंसँग कुरा गरिहँदा हराउँथे, बिजी भएँ भन्थें नि, म मेरो भूपूसँग कुरा गरिहेको हुन्थें, त्यो मेरो पहिलो प्रेम थियो, र अन्तिम पनि त्यही हो । विवाह र प्रेम त एउटै हैन नि ? मेरो प्रेमबारे परिवार बेखबर थिएन । तर परिवारलाई ब्राम्हण केटो नभइ भएन, मैले पनि परिवारको निर्णय नकार्न सकिन, त्यसका पछाडि धेरै कारण छन्, तर म अहिलेको सम्बन्धमा अलिकति पनि खुशी छैन ।’

‘त्यसो भए उसैसँग जाऊ’ मैले उनलाई जाँच्न भनें ।

‘साँच्चै नि, कहिलेकाहीं त त्यसै गरिदिऊँ कि जस्तो लाग्छ, तर … ।’

‘छोराछोरीको धेरै माया लाग्छ कि, भूपूको ?’ (उनका एक छोरा, एक छोरी छन् । )

‘ब्याजको माया धेरै लाग्छ नि हो ।’ पूर्वेली लवजमा जवाफ दिइन् ।

‘त्यसो भए, विगत बिर्सिऊ, वर्तमानमा रमाऊ, भविष्य बनाऊ, भूपूसँगको कुराकानी कम गर्दै जाऊ, बिस्तारै बानी लाग्छ । अब तिमीसँग त परिवार र सन्तानको भविष्य पनि जोडिएको छ ।’

‘हो, धेरै पटक कोसिस गरें, तर मेरै लागि भनेर ऊ बिहे नगरी बसेको छ, त्यसको पनि त पीर लाग्छ नि !’

‘भुइँको टिप्न खोज्दा पोल्टाको फुत्केला, ख्याल गर ।’

यो वार्तालापपछि ती पूर्वेलीसँग पनि कुराकानी पातलियो, भूपू मायालुसँग झ्याम्मिएकी हुन् कि परिवारसँग रमाएर फुर्सद नपाएकी हुन् थाहा भएन ।

विवाहको पहिलो वर्ष पूरा हुनै लागेको एक जोडीको कुरा सुनियो, छुट्टाछुट्टै । कुरा सुन्दा दुबैले वैवाहिक सम्बन्धमा अलिकति पनि खुशी नभएको अभिव्यक्ति दिइरहेका थिए । दुबैले आफूलाई पीडित, दुःखी महसुस भएको बताउँथे । र, अर्कोलाई पीडकको रुपमा प्रस्तुत गर्थे । दुबै एकै पटक पीडित र पीडक त हुनु नपर्ने । न्यायाधीश हुन सकिएन । सम्बन्ध अघि बढाउन मन भए दम्पत्तीले एक अर्कोमा विश्वास बढाउँदै लैजालान, सम्बन्ध विघटन गर्ने हो भने अदालत छँदै छ ।

यी केही उदाहरण मात्रै हुन् । सम्बन्धमा आएका उतारचढावका अनेकौं घटना छन् समाजमा । हरेक सम्बन्धमा विश्वास हुनै पर्छ । विश्वासमै हो सम्बन्ध बाँच्ने । अरु सम्बन्धभन्दा विवाह अलिक फरक हुन्छ । यसका आयामहरू फराकिला छन् । निभाउनुपर्ने दायित्वहरू पनि धेरै छन् । विवाह नामक संस्था वा सम्बन्ध अगाडि बढाउन विश्वास त हुनै पर्छ । त्यस अलावा प्रेम र स्वतन्त्रता पनि अनिवार्य छन् । प्रेमबिनाको विवाहको के अर्थ, प्रेम छ तर स्वतन्त्रता छैन भने पनि विवाहको अर्थ के हुन्छ ! पछिल्लो समय पारपाचुकेको दर पनि बढ्दै गएको छ । यसका कारण पनि अनेकौं छन् । जुन विवाहमा प्रेम छैन त्यो दिगो छ । जुन विवाहमा विश्वास छैन, त्यसको पनि कुनै अर्थ रहँदैन । प्रेम र विश्वास छ तर स्वतन्त्रता छैन भने पनि त्यो बैबाहिक सम्बन्ध अघि बढ्न निकै कठिन छ । मानिसको जिन्दगीमा वैवाहिक सम्बन्ध मात्रै हैन, अरु पनि धेरै सम्बन्ध छन् । व्यावसायिक सम्बन्ध हुन सक्छन् । साथीको सम्बन्ध होला । योसँगै विवाह संस्थाले जोडिल्याउने अनेकाँै सम्बन्ध छँदै छन् । यससँगै थपिने भूमिका पनि छँदै छन् ।

असार महिना विवाहको मौसम पनि हो । कतिपय युवायुवतीमा विवाहको तयारी पनि होलान् । आ–आफ्ना योजना होलान् । छनोट होलान् । यसका आधार पनि बनाएका होलान् युवायुवतीले । जे जे आधार बनाए पनि विचारको छनोट गर्नुहोला । समझदारीको छनोट गर्नुहोला । सम्मानको छनोट गर्नुहोला । सहकार्यको छनोट गर्नुहोला । स्वतन्त्रताको छनोट गर्नुहोला । प्रेमको छनोट गर्नुहोला ।

कहिलेकाहीँ नमागेको सल्लाह पनि दिने गरेको छु । विवाहबारे पनि युवतीलाई मेरो एक बुँदे सल्लाह छ, वैवाहिक सम्बन्ध शुरु नगर्नका लागि । यदि कुनै युवक तपाईंलाई ‘रानी’ बनाएर राख्छु भन्ने प्रस्ताव लिएर आउँछ भने पहिलो दृष्टिमै विवाह अस्वीकार गर्नुहोला । विवाह स्वीकार गर्न पनि मेरो एक बुँदे सुझाव छ– कुनै पुरुष ‘सहकार्य’को प्रस्ताव लिएर आउँछ भने आँखा चिम्लेर स्वीकार गर्दा हुन्छ । आखिर विवाह पनि सुख, दुःख अनि उकाली, ओेरालीको सहकार्य न हो ! अरु सम्बन्ध आवधिक होलान्, वैवाहिक सम्बन्ध आवधिक हैन । जीवनभरिको सम्बन्ध हो । भन्नलाई यसो भनिए पनि सम्बन्ध टुटेका उदाहरण पनि छन् । तर एकदिन टुट्छ भनेर सम्बन्ध शुरु नै नगर्ने भन्ने त हैन होला नि !

टिप्पणीहरू