किर्ते कागजात बनाउने ग्याङ्ग नै गिरफ्तार
महानगरीय प्रहरी अपराध महाशाखाले सवारीसाधनको किर्ते कागजात बनाउने गिरोहलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भन्सार छलेर र चोरी गरेर ल्याएको सवारी साधनका नक्कली सवारी दर्ता किताब समेत तयार गरी कारोबार गर्ने चार जनाको गिरोहलाई पक्राउ गरेको हो ।
ग.३च. १४६२ र प्रदेश ३–०१०२४ च ०२५३ नम्बर प्लेटको हुण्डाई कम्पनीको क्रेटा गाडीहरु भन्सार छली काठमाडौं ल्याई ती सवारीसाधनको नक्कली सवारी दर्ता किताबलगायतका कागजातहरु तयार गरी कारोबार गरेको पाइएको छ । त्यसरी कारोबार गर्नेमध्ये कमलबाबु पुरी भनिने लमजुङ सुन्दरबजार नगरपालिका ३ घर भई काठमाडौंको सामाखुसी बस्ने कमलबाबु भट्टलाई महाशाखाको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका ८ बस्ने अरुण खड्का र भक्तपुर चाँगुनारायण नगरपालिका २ बस्ने मधु सिलवाल समेत रहेको महानगरीय अपराध महाशाखा प्रमुख चन्द्र कुवेर खापुङले बताउनुभयो ।
त्यस्तै गाडीमा फेला परेको कमलबाबु पुरीको नामको नक्कली सवारी दर्ता किताब तयार गर्न संलग्न रहेका मोरङ बयरबन घर भई काठमाडौंको शान्तिनगर बस्ने रेवती रमण निरौलालाई पनि प्रहरीले पक्राउ गरेको छ । निरौलाको कोठाबाट विभिन्न व्यक्तिको नाममा रहेको शैक्षिक प्रमाणपत्र, सरकारी कार्यालयका छापहरु, होलोग्राम, लाइसेन्स, राहदानीलगायत सरकारी लिखितहरु समेत बरामद भएको महाशाखा प्रमुख खापुङले बताउनुभयो ।
पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महानगरीय अपराध महाशाखा प्रमुख चन्द्रकुवेर खापुङले बताउनुभयो ।
टिप्पणीहरू