बेपत्ता पुरुष घर फर्किने आश, प्रहरी डिएनए रिपोर्ट कुर्दै

बेपत्ता पुरुष घर फर्किने आश, प्रहरी डिएनए रिपोर्ट कुर्दै

-दोरेन्द्र खड्का

गत वर्ष साउन २ गते बेपत्ता भएका बझाङको छविस पाथिभेरा–७ का ५५ वर्षीय काशी बोहरा अझै भेटिएका छैनन् । त्यो दिन साँझ छबिस पाथिभेरा,मजखोरीबाट घर (खोरी) जान्छु भनेर हिँडेका बोहरा अहिलेसम्म घर पुगेनन् । बोहरा सम्पर्कविहीन भएको एक वर्ष हुन लाग्यो ।

परिवारले बेपत्ता बोहरा घर फर्किने आश मारेका छैनन् । ‘अझै घर फर्किन्छन् कि भन्ने आश छ, त्यसैले मृत्यु संस्कार पनि गरेका छैनौं’, एकजना आफन्तले भने ।

बोहरा सम्पर्कविहीन भएको झण्डै एक वर्ष पुग्न लाग्दासमेत प्रशासनले उनको सोधखोज र अनुसन्धानमा आनाकानी गरेको आफन्तको गुनासो छ । बोहराका नाती पर्ने बसन्त बोहरा भन्छन्, ‘बाजे बेपत्ता भएको एक वर्ष पूरा हुन लाग्यो । हामीले प्रशासनसँग खोजीको लागि अनुरोध गर्यौं । तर,चित्तबुझ्दो सुनुवाई भएको छैन । हामीलाई आफन्त बेपत्ता भएको पीडा एकातिर छ, अर्कोतिर प्रशासन मौन बसिदिँदा झन निराशा छाएको छ ।’

बाजेको हत्या भएको आशंका गर्दै बसन्त भन्छन्, ‘खोलाले बगाएको आशंका गर्ने ठाउँ कम छ, किनभने खोरी र मजखोरीकोबीचमा पर्ने खोला निकै सानो छ । त्यसले मान्छे बगाउने अवस्था छैन । केही तल रहेको तारु गाडले बगाउन सक्ला तर, घर आउन हिँडेको मान्छे त्यहाँ जाने कुरा पनि भएन ।

आत्महत्या गरे होलान् भनेर विश्वास गर्ने ठाउँ पनि छैन । बाजे आत्महत्या गर्ने स्वभावका मान्छे होइनन् । राजनीतिमा ठोस अडान लिने हक्की स्वभावका थिए । सानोतिनो समस्याले आत्महत्या नै गर्लान् भनेर कसैले सोचेका छैनौँ । राजनीतिकरुपमा सक्रिय हुने स्वभाव भएकाले गाउँघरमा केही दुश्मनी चाहिँ थियो । त्यसैले हत्याको आशंका गरेका छौं, तर हत्या नै भएको ठोस प्रमाण प्रशासनले पनि नभेटेको बताइएको छ ।’

अघिल्लो वर्ष बोहराको खोजी गर्न सक्रियता देखाएको प्रहरी अहिले भने सुस्ताएको आफन्तको भनाई छ । अघिल्लो वर्ष बोहोराको खोजतलासमा सक्रिय रहेको प्रहरीले घटनासँग शंकास्पद ५० जना भन्दा बढीसँग सोधपुछ गरिसकेको छ । शंकास्पदहरुलाई थप अनुसन्धान गर्नुपर्ने आधार नभेटिएकाले अहिले कसैलाई पनि नबोलाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

खोरी गाउँछेउ भएर बग्ने तारु गाडमा प्रहरीले भदौको महिनामा एक जना व्यक्तिको शंकास्पद कंकाल भेटेको थियो । खोलामा भेटिएको कंकाल बोहराको हुनसक्ने भन्दै डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यता जिल्ला प्रहरी कार्यालयले भने विधिविज्ञान प्रयोगशाला एउटा मात्र भएकाले डिएनए परीक्षणको रिपोर्ट आउन ढिलो भएको बताएको छ ।

टिप्पणीहरू