केरुङ नाकामा नयाँ–नयाँ काण्ड
भन्न त विचार, व्यवहार, कार्यनीति र कार्यशैलीमा पनि जनतालाई नयाँपनको आभाष दिने भन्दै डा.बाबुराम भट्टराई नेतृत्वमा नयाँ शक्ति पार्टी गठन भयो । तर, नेपाली बजारमा चिनियाँ सामान आयात हुने नयाँ मुख्य नाका रसुवागढीमा चलेको दबदबा देख्दा लाग्छ, माओवादी अतिवादभन्दा केही कदम अघि नै रहेछन्, उनीहरु ।
जुत्ता गोल्डस्टार नै लगाउँछन्, तर उनै अर्बपति बनेका छन् । माओवादी पूर्वसभासद् तथा नयाँशक्ति पार्टीका केन्द्रीय नेता प्रेम तामाङ यही स्थितिमा छन् । गाउँका गरिब जनताको नागरिकता बटुलेर बैंकबाट बिनाधितो ऋण निकालिएको छ, कन्टेनर किनिएको छ र ‘पार्टीका लागि’ भन्दै दिनहुँ व्यापार चलेको छ । तामाङको दबदबा चल्ने व्यवसाय छ, ‘शारदा मेस’ नामक ।
त्यसअन्तर्गतका कन्टेनरमध्ये ५० प्रतिशतको स्वामित्व उनैमा छ । तर, आफ्नो नाम कहिँ छैन । भिबोर विकास बैंकले तामाङको सिफारिसका व्यक्तिलाई बिनाधितो ऋण दिन्छ । व्यक्तिहरु त देखाउनका मात्र हुन्, दिएकोचाहिँ प्रेमलाई नै हो । जसको नागरिकताबाट ऋण निकालिन्छ, ती व्यक्ति बैंकिङ कारोबार सकिएपछि पाखा लाग्छन् । अर्थात्, कारोबारमा उनीहरुको कुनै साझेदारी वा स्वामित्व हुँदैन । केही टाठाबाठा नागरिकताधारीले ठूलो स्वर गरेपछि व्यावसायिक साझेदारी त पाउँछन् । तर, मुनाफामध्येको अधिकांश रकम ‘पार्टीलाई बुझाउनुपर्छ’ भन्दै साझेदारको हातमा नाममात्रको पैसा पर्छ । भिबोर बैंकलाई पनि उनले ‘पार्टीले चलाएको’ भन्ने गरेका छन् ।
उता, दुःखले गाडी किनेर भाडामा यात्रु ओसार्ने काममा पनि उस्तै अत्याचार छ । ४५ लाख पर्ने स्कोर्पियो गाडी किनेर केरुङ नाका हुँदै नेपाल आउन चाहने चिनियाँ पर्यटकको सेवा गरिरहेका सवारी धनीहरु नयाँशक्ति नेता प्रेमसहितको एउटा समूहबाट निरन्तर प्रताडित छन् । चिनियाँ पर्यटकका लागि रसुवागढीबाट काठमाडौंसम्मको स्कोर्पियो भाडा हो, हजार आरएमबी ।
यसको नेपाली रुपैयाँ हुन्छ, १६ हजार । त्यसमध्ये सशस्त्रको चेकिङ छिर्नुअघि नै प्रेम तामाङहरुबाट परिचालित केही युवाले प्रति स्कोर्पियो चार हजार रुपैयाँ लिन्छन् । त्यहाँबाट अगाडि बढ्दा नेपाल पुलिस र सशस्त्रका अलग–अलग चेकपोइन्ट छन् । ती चेकिङमा थोरैमा पनि १५ सय रुपैयाँ पोको पारेर पुलिसको खल्तीमा नहालेसम्म गाडी अगाडि बढ्न पाउँदैनन् । कुनै गाडीले पैसा नदिई जबरजस्ती जान खोज्यो भने ड्राइभरलाई झाडीतिर लगेर लात्तैलात्ता हानी कम्तीमा डेढ–दुई घण्टा अल्मलाइदिन्छन् ।
माओवादीमा छँदैदेखि यस्ता काममा प्रेमको सक्रियता थियो । जस्तो कि, लाइट स्टोन काण्डमा हाकु गाविसका एक व्यक्तिको हत्यामा उनको प्रमुख भूमिका रहेको बताइन्छ । संकटकालका बेला उनीमाथि साँस्कृतिक विचलनको आरोप लागेको थियो । धादिङकी महिलासँगको उक्त मामिला पछि हिरानाथ र जगतजंगको मिलेमतोमा गुपचुप पारिएको हो । उनी ०६४ को संविधानसभामा रसुवाबाट माओवादीका निर्वाचित र ०७० मा एमालेका जनार्दन ढकालसँग पराजित भएका हुन् ।
– अनिला आचार्य, धुञ्चे
टिप्पणीहरू