क्यानाडाको लोभ देखाउने कर्याप्पै

क्यानाडाको लोभ देखाउने कर्याप्पै

क्यानाडा पठाइदिने नाममा करोडौं रुपैयाँ ठगी गर्ने एक युवा पक्राउ परेका छन् । काभ्रेको पाँचखाल नगरपालिका ४,तामाघाट स्थायी घर भई हाल काठमाण्डौँको नयाँबानेश्वर बस्ने २१ वर्षीय प्रजिन अधिकारी समातिएका हुन् ।

अधिकारीले सर्लाहीको लालबन्दी नगरपालिका ७, रानीगञ्जकी ३० वर्षीया यमुना बस्नेतलाई वर्किङ भिसामा क्यानाडा पठाई राम्रो कम्पनीमा काम लगाइदिने प्रलोभन दिएका थिए । अधिकारीको प्रलोभनमा परेर बस्नेतले सत्र लाख रुपैयाँ दिएपछि उनी सम्पर्कविहीन भए ।

आफू ठगिएको भन्दै बस्नेतले महानगरीय अपराध महाशाखामा बैशाख १३ गते दिएको जाहेरीका आधारमा उनलाई काभ्रेको बनेपा २, दाहालगाउँबाट पक्राउ गरिएको हो ।

साथै अधिकारीले अन्य व्यक्तिहरूलाई समेत वर्किङ भिसामा क्यानाडा लगायतका मुलुक पठाइदिने भन्दै प्रलोभनमा पारेर १ करोड ५० लाख रुपैयाँभन्दा बढी ठगेको बुझिन आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनलाई थप अनुसन्धानको निम्ति महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको छ । अरु कोही अधिकारीबाट ठगिएको भए महाशाखामा सम्पर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।

टिप्पणीहरू