बहुउद्देश्यीय कालिगण्डकी डाइभर्सन बिरुध्द काठमाडौँमा प्रदर्शन
कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजनाविरुद्ध काठमाडौँमा बिरोध प्रदर्शन गरिएको छ । आज माइतीघर मण्डलामा जनविरोधी,सभ्यताविरोधी र पर्यावरण खल्बल्याउने भन्दै कालिगण्डकी तिनाउ डाइभर्सनविरुद्ध बिरोध प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा कालिगण्डकी सरोकार युवा काठमाडौंको आयोजनामा नेविसंघका महामन्त्री युवराज पाण्डे, त्यसविरुद्ध सर्वोच्चमा रिट निवेदक तुलसी पोखरेललगायतले सहभागिता जनाएका थिए ।
उता, तिनाउ नदी वरपरका स्थानीयले समेत कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजना आफूहरूको हितमा नरहेको भन्दै विरोध गरेका छन् ।
उनीहरूले विष्णु पौडेलले अर्थमन्त्रीको पदसँग साँठगाँठ गरेर बुटवललाई राजधानी बनाउने यसअघिको एजेण्डा छाडेको र जनतालाई फेरि एकपटक भुलाउनको लागि चुनावी एजेण्डाको रुपमा आयोजना अघि सारेको आरोप लगाएका छन् ।
कालीगण्डकी नदीमात्रै नभई सभ्यता पनि भएको भन्दै कालीगण्डकीको पानी डाइभर्ट गरेर तिनाउमा मिसाएमा संस्कृतिको धरोहरको रुपमा रहेको देवघाटमा समेत पानी अभाव हुनसक्ने आँकलन तिनाउवासीले गरेका छन् ।
कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजना निर्माण सम्बन्धमा केन्द्र सरकार र प्रदेश सरकारहरूबीच प्रभावकारी समन्वय हुन नसक्दा आयोजना प्रारम्भदेखि नै विवादित बन्ने पक्का भएको छ ।
टिप्पणीहरू