धसिएको त्रियुगा पुल पुरै ध्वस्त,नगर प्रमुख राईद्वारा छानविनको माग
शिवाइ र बेल्ही जोड्ने पुलका दुई स्पान त्रियुगा खोलामा आएको बाढीले पुरै ध्वस्त बनाएको छ । पुल धसाएको खबर सुनेर निरिक्षण गर्न आएका चौदन्डीगढीका नगर प्रमुख खगेन्द्र राई घटनास्थल आइपुग्दा नपुग्दै पुरै ध्वस्त बनेको हो । शनिवार दिउँसो ३ बजेर ४० मीनेट जाँदा पुल धसिन शुरु भएको थियो । चार बज्दा नबज्दै धसिएको पुल पूर्णरुपमा ध्वस्त बनेको हो ।
पुलको अवस्था देखेपछि पुल निर्माणको काम छानविन हुनु पर्ने माग चौदन्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले गर्नु भएको छ । उहाँले पुलको भासिएको स्पानको छानविन हुनुपर्ने बताउँदै त्रियुगा खोलामा आएको सामान्य बाढीले क्षतिग्रस्त पुलको माटो परिक्षण,डिजाइन र निर्माणमध्ये के मा त्रुटि भएको हो छानविन हुनुपर्ने जिकिर गर्नुभयो ।
मेयर राईले नगरको सम्वृद्धिका लागि मात्र नभएर वैकल्पिक सडकको निम्ति महत्वपूर्ण मानिएको यो पुल चौदन्डीगढी नगरपालिकाको लागि लाइफलाइन समेत भएको बताउनुभयो । शनिबार दिउँसो करिब पौने चार बजेतिर सो पुलको शिवाइतर्फको एउटा पिलर र दुई स्पान धसिएको खबर आएको थियो । पुलमा २५/२५ मीटरका १२ स्पान र ११ वटा पिलर छन् ।
पुलको लम्बाई ३ सय ७ मीटर र चौडाइ ५ मीटर रहेको छ । पुल निर्माणको जिम्मा महालक्ष्मी लोकप्रिय जेभी कन्स्ट्रक्सन कम्पनी कलँकी काठमाडौंले १२ वर्षअघि पाएको थियो । तर ठेकेदार कम्पनीले विभिन्न बहाना देखाउँदै निर्माण कार्यमा ढिलाइ गरेपछि स्थानीयले चर्को विरोध गरेका थिए । जनप्रतिनिधिहरुले पनि चर्को दवाव दिएका थिए । दवावका बाबजुद यसै वर्षमा निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको लागत पूर्नमूल्याकंन गरेर ९ करोड ७६ लाखबाट ११ करोड पुर्याइएको थियो ।
धसिएको पुलको डिजाइन र माटोको परिक्षण बालाजु काठमाडौं स्वाइल कन्सल्टेन्सी कम्पनी काठमाडौंले गरेको हो । सो पुल धसिंदा स्थानीय ४८ वर्षीय अख्तर मियाँ घाइते हुन पुगेका थिए । उनलाई खोलाबाट स्थानीयले उद्धार गरी बचाए । त्रियुगा खोलामा आएको साधारण बाढीले गर्दा पुल धसिएपछि यसको निर्माण वा डिजाइन वा स्वाइल टेस्टमा कुनै गम्भीर त्रुटि भएको हुन सक्ने अनुमान गरिएको छ ।
टिप्पणीहरू