त्यसो भन्दाभन्दै ओली र देउवा उड्न तयार

प्रचण्डले वीरगञ्ज पुगेर टाइसुटमै रामदेवसँग अनुलोम–बिलोम गरी सारालाई हँसाएको भोलिपल्ट अर्को हाँसो चल्यो, काठमाडौं विमानस्थलमा ।
आइतबार विहान ११ बजेको उडानबाट सिमरातर्फ प्रस्थान गर्न कांग्रेस सभापति शेरबहादुर देउवा १० बजे नै विमानस्थल पुगिसकेका थिए । संयोग कस्तो प¥यो भने, त्यही उडानबाट केपी ओली पनि त्यतै जाँदै रहेछन् ।

देउवा वीरगञ्जमा आयोजित कांग्रेस सभा र ओली सिमराको नगर अधिवेशनका लागि जाँदै थिए । जहाज उड्नु १५ मीनेटअघि पार्टी स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र अंगरक्षकसहित केपी पनि विमानस्थल पुगे । त्यहाँको आन्तरिक टर्मिनलमा रहेको विशिष्ट कक्षमा ओली छिरेका मात्र के थिए, शेरबहादुर अचम्ममा परे । ‘अरे, तपाईं कसरी…?’ देउवाले सोध्नासाथ ओलीले भने, ‘सिमरा जान लागेको ।’ देउवाले अन्दाज गरे, ‘रामदेव भेट्न ?’ भनेर । केपीले भने, ‘त्यो त तपाईंहरुको काम हो, म पार्टी काममा जान लागेको ।’

यति भनेर केपी सोफामा बसे र कुरा निकाले, ‘मधेसी दलको माग पूरा गर्ने नाममा किन बीचको (बर्दियासम्म) भागमात्रै दिन लाग्नुभएको ? थारुको क्षेत्र (कैलाली) पनि आधा गरिदिनुस् न !’

देउवाले भने, ‘मधेसीलाई तपाईं विश्वासै गर्नुहुन्न । गर्नुस् न यार, उनीहरु राष्ट्रवादी पनि हुन्छन् नि !’ केपीले भने, ‘मैले विश्वास नगरेको कहिल्यै छैन । म मधेसी समुदायकै बीचमा हुर्किएको मान्छे । बरु, तपाईंचाहिँ थारुलाई किन विश्वास गर्नुहुन्न ?’ देउवा केही बोल्न खोज्दै थिए, तर केपीले आफ्नो कुरा रोकेनन् । ‘थारुलाई विश्वास गरेर त हेर्नुस्, मधेसीभन्दा धेरै राष्ट्रवादी हुन्छन्’, ओलीले यसो भन्नासाथ देउवा रिसाए । ‘तपाईं मलाई कति भन्नुहुन्छ यार, हुँदैन भनेको कुरा फेरि भन्नुहुन्छ ?’

ओलीले ‘मैले भनेकै के छु र ?’ भनी सोध्दासोध्दै देउवाले थपे, ‘कैलालीको कुरै छैन । तपाईं त्यही कुरा त भन्नुहुन्छ । यो मिल्दै मिल्दैन ।’ देउवासँग बसेका एकजना कांग्रेस नेताले भने, ‘पूर्वका तीन र सुदूरका दुई गरी पाँच जिल्लाको कुरा छ । त्यहीभित्र कैलाली पनि पर्छ । त्यसको छिनोफानो आयोगले गर्ने भनिसकेपछि सभापतिज्यूलाई त्यही कुरा फेरि पटक–पटक किन भनिराख्ने ?’

केपीले भने, ‘पहाडसँग अलग्याएर मधेसीलाई एउटै वा दुईटा प्रदेश सिंगै दिई मुठभेड निम्त्याउने कुरा मात्रै हो । राष्ट्रवादी त राष्ट्रवासी सबै हुन्छन् । तपाईंहरु थारुलाई पत्याउँदै पत्याउनुहुन्न । भोलि केही प¥यो भने हेर्दै गर्नुहोला, हामीलाई बचाउने थारु नै हुन्छन् । देशमात्र होइन, थारुले अहिलेसम्म हाम्रो ज्यान पनि बचाउँदै आएका छन् ।’

फेरि शेरबहादुर गनगन गर्न थाले, ‘तपाईं कैलालीको कुरा बहुत गर्नुहुन्छ । हुन्न के हुन्न ! तपाईं पूर्वको तीन जिल्ला मधेसमा हाल्नुहुन्छ ? त्यो गर्नुभयो भने कुरा मिल्छ !’

केपीले भने, ‘हुन्छ कि हुन्न, देख्दै जानुहोला । अहिले तपाईंको र मेरो हातमा सबैथोक छ र ?’ गलफत्ती चल्दाचल्दै जहाज टेकअफ हुन लागेको खबर आयो ।

टिप्पणीहरू