तराईका भूपू मन्त्रीहरू फेरि खाने तयारीमा
सर्वाेच्च अदालतले ८ असारमा प्रधानमन्त्री ओलीका २० सहयोगीको मन्त्री पद खाइदियो तर सोही क्याबिनेटमा १३ र २० दिन मन्त्री भएकामध्ये अझै केहीले पुल्चोकस्थित सरकारी निवास छाडेका छैनन् ।
शहरी विकासमन्त्री राजेन्द्र महतो, गृहमन्त्री खगराज अधिकारी, सञ्चार नैनकला थापा, पर्यटन उमाशंकर अरगरिया, सामान्य प्रशासन गणेश पहाडी र खेलकुदमन्त्री एकवाल मियाँ मात्र आफ्नै घर फर्किएका छन् । त्यहाँका ५ वटा ब्लकमा १९ वटा क्वार्टर छन् । जसमध्ये शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक वसन्त नेम्बाङ, कानुनका लीलानाथ श्रेष्ठले तीन वटा क्वार्टर प्रयोग गरिरहेका छन् । राष्ट्रिय सभाको उपाध्यक्षलाई एउटा ब्लक दिइएको छ भने ८ असारको अदालती आदेशपछि मन्त्री पद गएकामध्ये केहीले अझै सामान सारेका छैनन् ।
अर्थमन्त्री विष्णु पौडेलले सरकारी निवास प्रयोग गरेका छैनन्, परराष्ट्रमन्त्री रघुवीर महासेठ क्वार्टरमै बसेनन् । राजकिशोर यादव गौरीघाटबाट पुल्चोकस्थित मन्त्री क्वार्टर सर्ने तयारी गर्दागर्दै मन्त्री पद गयो । अनिलकुमार झाहरूचाहिँ अझै क्वार्टरमा छन् । केही मन्त्रीले क्वार्टर छाडे पनि सामग्री नसारेको र क्वार्टरमा फर्कने आसमा रहेको त्यहाँका एक कर्मचारीले जनआस्थालाई बताए ।
राजेन्द्रको रहर
नयाँ जोगीले बढी खरानी घस्छ, उसै भनिएको होइन । राजेन्द्र महतो २१ जेठमा उपप्रधानसहित शहरी विकास मन्त्री नियुक्त भए । दुई हप्तापछि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा पुगे र त्यहाँका कर्मचारीलाई क्वार्टरको व्यवस्थापन र मर्मत सम्भार गर्न निर्देशन दिए । विभागीय मन्त्रीकै निर्देशन पाएपछि कर्मचारीले हतार हतार सिनियर डिभिजनल इञ्जिनियर महालक्ष्मी जोशी र पवित्रा बस्नेतलाई ८ असारको दिन अध्ययनका लागि पुल्चोक पठायो । रमाइलोचाहिँ जुन दिन कर्मचारी मन्त्री क्वार्टरमा खटिए, सोही दिन सर्वाेच्चले मन्त्रीको पद खाइदियो ।
पुल्चोकस्थित मन्त्री क्वार्टर ०३२ सालमै बनेको हो, त्यहाँ ए देखि डीसम्म ४ वटा ब्लक छन् । मन्त्रीकै निर्देशन पाएपछि कर्मचारीले कहाँ के बिग्रिएको छ ? कुन सामग्री आवश्यक छ भन्ने ५ पन्ने प्रतिवेदन तयार पारेका छन् । प्रतिवेदनअनुसार सी फोर र डी २ ब्लकबाहेक अन्य ब्लक र क्वार्टरमा कतै पानी चुहिने, कतै फ्लस बिग्रिएको, बत्ती बिग्रिएको, प्यान फेर्नुपर्ने, ढलको पानी बाहिर बग्ने गरेकोलगायत समस्या छ ।
ए वानभित्र ५ वटा ब्लक छन् । जहाँ कुनै ब्लकमा गिजर, रंगीन माला बत्ती र स्यानिटाइजर मेसिन बिग्रिएको, मुख्य प्रवेशद्वारको जाली फेर्नुपर्नेदेखि वाइफाइको राउटर बिग्रेको समस्या टिपोट गरिएको छ ।
यस्तै, ब्लक बीभित्र रहेका ४ वटा क्वार्टरमा कतै किचन र बैठक कोठामा पानी चुहिने, कोठाको बत्ती बिग्रेको, किचेनको पाइप बिग्रेकाले पानी जाम हुने, ढलबाट पानी पास नभई बाहिर जाने, डोरम्याट नआएको समस्या टिपोट भएको छ ।
ब्लक सीभित्र ५ वटा भवन रहेकोमा प्रिन्टर, टेलिफोन सेटको अभाव, वाइफाइको स्पिड कम भएको, मास्टर बेडको गलैंचा नआएकोजस्ता समस्या देखिएको छ । डी ब्लकमा ५ वटा भवन रहेकोमध्ये टि–टेबल बिग्रेको, एसी नचल्ने, पानी चुहिने, इन्भर्टर किन्नुपर्ने, कम्प्युटरमा करेन्ट लाग्नेलगायत समस्या छ । दिउँसोसम्म सबै टिपोट तयार पारी प्रतिवेदन तयार पार्दासम्म मन्त्री नै भूपू भइसकेका थिए ।
मन्त्रीको धपेडी
अहिले ओली क्याबिनेटमा ५ मन्त्री छन् । ओली हत्तपत्त सिंहदरबार छिर्नुहुन्न । उहाँले सम्हालेको रक्षा मन्त्रालय सचिवविहीन बनेको छ । रक्षा र परराष्ट्रका केही फाइल सदर गराउनुपरे फाइल बोकेर बालुवाटार धाउनुपर्ने धपेडीमा छन् त्यहाँका कर्मचारी ।
अन्तचाहिँ मन्त्रीको धपेडी हेर्नलायक छ । अर्थमन्त्री विष्णु पौडेलको भागमा ५ मन्त्रालय परेपछि उनी बिहानै ९ बजे सिंहदरबार छिरिसक्छन् । अर्थबाहेक हरेक दिन गृह मन्त्रालय पुग्छन् र १ घण्टा समय व्यतित गर्छन् । बाँकी समय अर्थमै रहन्छन्, उद्योग, वाणिज्य, आपूर्ति, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दैनिकजसो फाइल बोकेर मन्त्रीको कार्यकक्षमा छिर्छन् । सचिवालयका एक कर्मचारीका अनुसार पौडेल बेलुका ६ बजेसम्म सिंहदरबारतिरै भेटिन्छन् ।
शिक्षामन्त्री श्रेष्ठ काम परे मात्र अन्य मन्त्रालयमा जाने, नभए त्यही मन्त्रालयबाट अरु मन्त्रालयको पनि काम गर्छन् । वसन्त नेम्वाङचाहिँ बिहान १० देखि १ बजेसम्म प्रायः भौतिक योजनामै भेटिन्छन् । त्यसपछि आइत, मंगल र बिहीबार खानेपानीमा १ देखि ३ बजेसम्म र सोमबार, बुधबार र शुक्रबार शहरी विकासमा ३ बजेदेखि ५ बजेसम्म सञ्चार र कृषिलाई दिन थालेका छन् । यस्तै, लीलानाथ श्रेष्ठको सचिवालयका अनुसार आइतबार, मंगलबार, बिहीबार सामान्य प्रशासन र भूमि, सोमबार, बुधबार र शुक्रबार पर्यटन र महिला बालबालिका मन्त्रालयमा दुई घण्टा समय व्यतित गर्न थालेका छन् ।
टिप्पणीहरू