साउनदेखि अवैध मोबाइल सेट नचल्ने
आगमी साउन महिनादेखि आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेटले काम नगर्ने भएको छ । साउन १ गतेदेखि मोबाइल डिभाईस म्यानेजमेण्ट सिस्टम लागू हुने भएकाले अवैध रुपमा भित्र्याइएका मोबाइल सेट नचल्ने भएको हो । सरकारले बजेटमार्फत् आगामी आर्थिक वर्षदेखि एमडिएमएस लागू गर्ने घोषणा यसअघि नै गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एमडिएमएस लागू भएपछि आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेट चल्न नसक्ने तर साउन महिनाभित्र मोबाइल प्रयोगकर्तालाई आईएमईआई नम्बर दर्ता गराउन समय दिइने तयारी गरिएको बताउनुभयो ।
मोबाइल फोन आयातकर्ता संघको अध्यक्षसमेत रहनुभएका नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपककुमार मलहोत्राले एमडिएमएस प्रणाली पहिलोपटक लागू हुन लागेकाले हाल प्रयोगमा रहेका मोबाइल र विदेशबाट उपहारमा प्राप्त र पर्यटकले बोकेर ल्याउने मोबाइल सेटलाई कसरी सुचारु गर्ने भन्नेबारे मोबाईल फोन आयातकर्ता संघसँग दूरसञ्चार प्राधिकरणले छलफल गरिरहेको बताउनुभयो ।
पर्यटकले नेपाल घुम्न आउँदा बोकेर ल्याउने फोनलाई १५ दिनसम्म प्रयोग गर्न मिल्ने गरि व्यववस्थान गर्ने र पुनः सुचारु गर्नुपरे भीसा र पासपोर्टको विवरण राखेर गर्न सकिने व्यवस्था मिलाउन प्राधिकरणलाई संघले सुझाव दिएको छ । यसैगरी उपहारमा प्राप्त फोन सेट पहिलो १५ दिनसम्म चलाउन कुनै बाधा नपर्ने सुझाव दिइएको अध्यक्ष मलहोत्राले बताउनुभयो ।
एमडिएमएस लागू भएपछि मोबाइल फोन आयातकर्ताले आयात गरेको सम्पूर्ण मोबाइल फोनको आईएमईआई नम्बर दूरसञ्चार प्राधिकरणमा दर्ता गरेर मात्र बिक्री वितरण गर्ने गरिन्छ ।\
टिप्पणीहरू