प्रचण्डको त्यो भिडियो हेरे हुन्छ पहिले

संविधान बन्नुअघि नै, जतिबेला संघीय सीमांकनका विभिन्न प्रस्तावित खाका दलपिच्छे र त्यसभित्रका पनि नेतापिच्छे फरक–फरक हुन्थे– त्यही बेला एमालेको एउटा पंक्तिबाट आएको सीमांकन देखाएर अहिले ५ नं. प्रदेशको सीमांकनमा गर्न खोजिएको हेरफेरलाई उतिबेला एमाले पंक्तिबाट आएको प्रस्तावसँग दाँज्ने प्रवृत्ति देखा पर्न थालेको छ । तर, गत मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीको मुख्यालय पेरिसडाँडामा आयोजित एक गोप्य भेलामा वास्तविकताको खुलासा गरेका छन् । भिडियोमै रेकर्डेड उक्त भेलामा प्रचण्डले बोलेका कुरा यस्ता छन् :

उनले अघिल्लो शनिबार बेलुकी नेपाल टेलिभिजनमा प्रशारित ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ मा पहिले कांग्रेस र एमालेले बनाएको प्रस्ताव नै ल्याएको र अहिले उनीहरुले नै विरोध गरिरहेको भनाइ जोड्दै थपे, ‘कांग्रेस र एमालेले जे ग¥या थे’, पहिला त्यहि नै चैं होइन है यो अहिले आ’को संशोधन प्रस्ताव !’ उनको भनाइ थियो, ‘कांग्रेस–एमालेले नवलपरासीदेखि बर्दियासम्मको एउटा प्रदेश भनेर बनाएका थिए ।

त्यतिबेला सहमतिको नक्सामा चाहिँ रोल्पा, प्युठान, रुकुम र सल्यान ६ नम्बर प्रदेशमा थियो । जो आज ड्राफ्ट भैरा’छ, मा चैं त्यस्तो छैन फेरि । रोल्पा, प्युठान र मगर बाहुल्य रहेको रुकुमको पनि पूर्वी बेल्ट नै ४ नम्बरमा राख्नुपर्छ, तमुवान र मगरातको क्लस्टर मिलाउनेमा कांग्रेस सहमत भा’छ । त्यस एरियालाई पोखरा सेन्टर हुनेगरी राख्ने भन्ने सहमति छ । त्यसकारण पहिले एमाले, कांग्रेसले ल्याएको जस्तो होइन त्यो । सबैले खोजेको त अर्घाखाँची, पाल्पा, गुल्मीको बुटवल सेन्टर हुन्छ । रोल्पा, रुकुम प्युठानको सेन्टरचाहिँ दाङ हो ।’

संघीय फोरम अध्यक्ष उपेन्द्र यादवसँग भएको कुराकानीको सन्दर्भ निकाल्दै उनले भने, ‘उपेन्द्रजी हो, अलि बढी नकारात्मक र मानिँदैन, आन्दोलन नै गरिहालिन्छ भन्ने । उहाँसँग पनि हिजो बिहान बोलाएर लामै कुराकानी गरेँ । ठ्याक्कै भन्नुस्, तपाईंले नगर्ने भन्ने हो भने म संशोधन दर्ता गर्दिनँ, कहिँ पनि समस्या हल नहुने हो भने किन गर्ने भन्दाखेरी उहाँले ल गर्नुस्, गर्नुपर्छ भन्नुभयो ।’

संशोधन दर्ता भइसकेपछि फोरमको नीति के हुनेबारे सोधेका रहेछन् । उपेन्द्रको जवाफ थियो, ‘हाम्रो एजेन्डा नि नछोड्ने, प्रचण्डलाई नि नछाड्ने भन्ने हुन्छ ।’ ‘एजेन्डा नि नछाड्ने, प्रचण्डलाई नि नछोड्ने भनेको कुरा अर्थपूर्ण छ’ भन्दै पुष्पकमल आफैँ हाँसे । भन्दै गए, ‘भन्नुको मतलब आलोचना भैराख्छ, यो संशोधनले  हाम्लाई पुग्यो नि भनिँदैन, तर यो सरकारलाई अप्ठ्यारो पर्नेगरी पनि गइन्न भन्ने नै उहाँको फाइनल कुरा थियो ।’

भेलामा बाबुरामसँग भएको कुराकानी पनि सुनाए । भने, ‘हिजो बेलुका बाबुराम जी आउनुभा’थ्यो, बालुवाटारमा । यो संविधान लावारिस भएर मुलुक फेरि दुर्घटनामा जान्छ कि भन्ने चिन्ता मलाई परेको छ, त्यसकारण यो प्रक्रिया अगाडी जाओस्, फुल सपोर्ट हुन्छ भन्नुभा’थ्यो ।’ यसो भनेर उनी फेरि हाँसे ।

यसपछि टोपबहादुर रायमाझी बोल्न थाले । भने, ‘अध्यक्ष कमरेडले मलाई सजिलो बनाइदिनुभएन । शायद, बाबुरामजीलाई यस्तै कारणले मैले छाडेको हुँ । यस्तै प्रवृत्तिका कारण मैले बाबुरामजीलाई छाड्या हुँ ।’ भने, ‘माग त कैलाली, कञ्चनपुरको पनि थियो । कैलालीलाई संशोधन गर्न नसक्ने, झापा, मोरङ, सुनसरीलाई छुन नसक्ने, चितवन र नवलपरासीको दाउन्नेवारीलाई छुन नसक्ने, राप्ती र लुम्बिनीलाई मात्र बिभाजन गर्ने ? यही ५ नम्बर प्रदेशमै हामीले चुनाव जित्ने सम्भावना थियो । तर, अब त गोर्खादेखि रोल्पासम्मको भूभाग अथवा हाड र मासु छुट्याइदिएपछि हाम्रो हालत के होला ?’ टोपबहादुरको जिकिर थियो, ‘अबध र थारु एकैठाउँ बस्न हुने, अनि मगरात र थारुवान चाहिँ किन मिलेर बस्न नसक्ने ? अबध के जनजाति हो ? थारू बरु जनजाति हो । हिजो लड्दा पनि सम्बन्धको हिसाबले मगरात र थारुको गाढा सम्बन्ध थियो ।’

उनको भनाइ थियो, ‘अध्यक्षले भनेजस्तै प्रस्ताव पारित भए नि नभए नि हामी निर्वाचनमा जान्छौं, तपाईंलाई नि छोड्दैनौं भनेको हिसाबले त ठीकठीकै लाग्छ । तर, यो प्रस्ताव पास हुँदैन र पास हुन पनि जरुरी छैन । त्यो भयो भने अलिकति राहत होला । होइन भने त त्यो प्रस्ताव दुर्भाग्यपूर्ण हुन्छ ।’ उपेन्द्र यादवसँग भएको कुराकानीको प्रसंगमा टोपबहादुरले टिप्पणी गरे, ‘पास नभए पनि हाम्रो समर्थन हुन्छ भनिएको छ । यसमा के नियतले काम गरेको छ, भन्नोस् त ?’

टोपबहादुर झन्झन् धाराप्रवाह बोल्न थाले, ‘पास हुन नपर्ने, अन्त किचलो हुनु नपर्ने, अन्त माग गर्नु नपर्ने । न यो एजेण्डाले हाम्रो पार्टी बच्छ, न जनआधार बच्छ, न हाम्रो पार्टीलाई यसले फाइदा हुन्छ, न त कुनै उत्पात नै हुन्छ । तैपनि, हामी किन त्यसो गर्दै छौं ?’

उनले आफूबारे चलेका अपवाह सुनाए, ‘मलाई त कति साथीले भन्दा रै’छन्, टोपबहादुर रायमाझी एमालेको एजेन्डामा छ । एमालेमा जान्छ भनेर कुनै एमालेले षड्यन्त्र ग¥यो कि भनेर अनुसन्धान गरेँ । अनुसन्धान गर्दा त स्ट्याट्स फेसबुकमा हाल्ने हाम्रै साथी रै’छन् । एमाले हैन भनेर मैले खण्डन गर्नुपर्ने स्थिति आयो । सबभन्दा पहिले टोपबहादुर बोल्या हो यसमा † बरु टोपबहादुरको एजेन्डामा एमाले आ’को हो, एमालेको एजेन्डामा टोपबहादुर गएको होइन ।’

उनले आन्दोलनको अगुवाई लिन पार्टी चुकिरहेको प्रसंगबारे चर्चा  गरे, ‘रोल्पामा आन्दोलन भै’राछ, प्युठानमा आन्दोलन भै’राछ । तराई, पहाडका सबै जिल्लामा सर्वदलीय–सर्वपक्षीय सहमतिबाट काम हुन्छ । तर, एउटै क्षेत्र थियो, त्यो पनि गुम्नेभो । बिसर्जन त बिसर्जन, झनै बिसर्जन हुनेमा । अब हामीले कसरी त्यहाँ राजनीति गर्ने ? जनकपुरका जनतासँग लुम्बिनीका जनतालाई छुट्याएर आनन्द मान्ने ?’ उनले भने, ‘यिनै एजेन्डा बोकेर जाँदा तेश्रो भइयो । अब पनि यस्तै ताल हो भने अरु तेस्रो हुन बेर छैन ।’ उनले थपे, ‘यदि संशोधन नै नभई नहुने, पारित नभए पनि हुने हो भने झापा, मोरङ, सुनसरीतिर पनि विवाद सिर्जना गर्दिऔँ । त्यसपछि एमालेसँग पनि हाम्रो सहकार्य हुन्नँ । अनि मात्र हाम्रो पार्टीको सहकार्य कांग्रेस र मधेसवादी दलसँग हुने भयो । त्यसका हाँगाबिंगा कहाँ छन् ? त्यतातिर सहकार्य हुने भो ।’

प्रचण्डले अप्ठेरोमा पारेको प्रसंगमा उनले भने, ‘हामीलाई कस्तो अप्ठेरो पारिदिनुभयो भने, आन्दोलन नगरौँ, चूप लागेर बसौँ भन्दा पनि सिद्दिने । यो देशै टुक्रा भएर सिद्दिन्छ कि भन्ने खतरा हुने † यो प्रस्ताव पास हुन्न । मधेसीले माने हामी, मान्दैनौँ, हामीले माने उनीहरुले मान्दैनन् । राप्ती, लुम्बिनीले नि मान्दैनन् । विवाद नभएको ठाउँमा नचलाऊँ । अहिले त्यहाँ दिइयो भने ए हाम्लाई नि दिने र’छन् भनेर उता किराँत या लिम्बुवान उग्र हुन्छ । अनि, ताम्सालिङ, नेवाःतिर सर्छ । त्यसैले राष्ट्रिय सहमति गरौँ । तर, विवाद नभएको ठाउँमा जिस्क्याउने काम नगरौँ ।’

टिप्पणीहरू