पदका लागि जातै परिवर्तन

पदका लागि जातै परिवर्तन

पदका लागि राजनीतिक पार्टी परिवर्तन गरेको उदाहरण त नेपाली समाजमा नौलो होइन । तर, पद लिन जाति नै बदलेको बिरलै सुनिने घटना बेलायतमा भएको छ ।

प्रसंग नेपाल आदिवासी जनजाति महासंघ बेलायतको जुन १९ मा सम्पन्न निर्वाचनको हो । कर्मा पहाडी शेर्पा सो निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित भए तर उनी विगतमा आबद्ध शेर्पा संघ बेलायतले २९ जुनमा विज्ञप्ति निकालेपछि शेर्पाले अध्यक्ष बन्न जात नै परिवर्तन गरेको खुलेको हो ।

जातीय संस्थाले औपचारिक रूपमा पठाएको प्रतिनिधि मात्र कार्यसमितिमा चुनिन पाउने वैधानिक व्यवस्था रहेको महासंघमा शेर्पा सन् २०१५–२०१८ सम्म शेर्पा संघ बेलायतका तर्फबाट प्रतिनिधित्व गर्दै महासचिव बनेका थिए । तर, अहिले अध्यक्ष बन्ने बेला भने शेर्पा संघ बेलायतले प्रतिनिधि नपठाउने भएपछि तोक्पेगोला समन्वय समिति युकेबाट प्रतिनिधि बनी अध्यक्ष निर्वाचित भएका छन् ।

शेर्पा संघ बेलायतका अध्यक्ष आङदाबा शेर्पा भन्छन्, ‘कर्माजीले विगतमा गरेको क्रियाकलापको समीक्षा गरी शेर्पा संघ बेलायतले उहाँलाई आदिवासी जनजाति महासंघ बेलायतको अधिवेशनमा प्रतिनिधि नबनाउने निर्णय गरेपछि उहाँले अर्कै जातीय संस्था गठन गरी अध्यक्ष बन्नुभयो ।’ उनले प्रश्न गरे, ‘एउटै व्यक्ति एउटै संस्थामा महासचिव बन्दा एउटा जातिको प्रतिनिधि र अध्यक्ष बन्दा अर्को जातिको कसरी हुन सक्छ ?’

कर्मा पहाडी भने आफूले जात परिवर्तन गरेको स्वीकार्न तयार छैनन् । उनी भन्छन्, ‘म शेर्पा हुँ र शेर्पा नै रहिरहन्छु । तोक्पेगोला पनि शेर्पा नै हो । तर, अलि फरक विशेषता भएको शेर्पा हो ।’ उनले चुनाव हारेपछि आफूविरुद्ध अनावश्यक लाञ्छना लगाइएको जिकिर पनि गरे ।

पहाडीले दाबी गरे पनि नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ अनुसार सूचीकृत ५९ आदिवासी जनजातिमा तोक्पेगोला अलग्गै जातिका रूपमा सूचीकृत छ भने शेर्पा अलग जातिको रूपमा छ । यति मात्र होइन, कर्मा पहाडी यसअघि शेर्पा संघ बेलायतको उपाध्यक्ष रहिसकेका छन् भने शेर्पा संघ बेलायतको प्रतिनिधित्व गरी शेर्पा संघ युरोपको महासचिव पनि भइसकेका हुन् ।

कर्मा पहाडी पनि विगतमा आफू शेर्पा संघ बेलायतमा आबद्ध रहेको नकार्दैनन् । महासंघकै यसअघिको अधिवेशनमा पनि शेर्पा संघ बेलायतले आफूलाई प्रतिनिधि पठाएको उनी उल्लेख गर्छन् । ‘तर यसपटक शेर्पा संघमा कोही प्रतिनिधि छन् भने पठाउनुहोस् नत्र मलाई पठाउनुहोस् भन्दा आफूमाथि विभेद गरिएपछि अरू समुदायबाट प्रतिनिधि बन्न बाध्य भएको हुँ’, उनले भने ।

शेर्पा संघ बेलायतका अध्यक्ष आङदाबा शेर्पा कर्मा पहाडीले यसअघि महासंघमा कुनै जातीय संस्थाबाट प्रतिनिधित्व नगरेको भए समस्या नहुने बताउँछन् । शेर्पा संघ बेलायतमा रहेर एक दशकभन्दा बढी काम गरेको मान्छे अहिले अध्यक्ष बन्न सिफारिस गरिदिएन भन्दैमा नाम र पदका निम्ति अर्को जातमा जानु दुःखलाग्दो भएको उनको भनाइ छ ।

शेर्पा संघ बेलायतले नेपाल आदिवासी जनजाति महासंघ (नेपाल) बाट चित्तबुझ्दो जवाफ नआएसम्म आफ्नो प्रतिनिधि फिर्ता बोलाउने निर्णय गरेको छ ।

टिप्पणीहरू