गरिब र दलितले मात्र बोक्सी बन्नुपर्ने ?

चाहे कल्लीकुमारी विक हुन् वा लक्ष्मी परियार– किन दलितलाई मात्र लाग्छ बोक्सीको लाञ्छना ? कुनै धनाढ्य महिलामाथि यस्तो आरोप लागेको कहिल्यै कसैले सुनेको छ ? हामी दलित हेपिएका छाँ, उपल्लो भनिएका जातबाट ।

म श्याम नेपाली । काठमाडांै बालकोटमा सिलाइ–बुनाइको काम गर्छु । घर, काभ्रेको सानोवाङथली । जहाँ १५ दिनअघि मलमूत्र कोच्याएर पिटिपिटी मारियो, हाम्री भाउजूलाई । हामी पाँच दाजुभाइमध्येको साहिँलो । जेठो दाजु मिलन किलागलमा नेपाली पोशाकको सिलाइ–बुनाइ गर्नुहुन्छ । हामी शहरमा थियौँ, भाउजूमाथि यो दुव्र्यवहार हुँदा । सानोवाङथलीमा ४ सय १९ घरपरिवार छ । त्योमध्ये हामी ४ परिवार मात्र दलितको । तामाङको बाहुल्य छ ।

गाउँमा कसैको विवाह आयो भने ढोल बजाउन हामी चाहिन्छ । कसैको कपडा सिलाउनुपरे हामी नै चाहिन्छ । यति मात्र होइन, कुनै नेताले गाउँमा पाइला टेके हामीले नै कर्नाल फुकेर तिनको स्वागत गर्नुपर्छ । तर हामी त्यही जाति हौँ, जसलाई बोक्सीको आरोप लाग्छ । मलमूत्र कोच्याइन्छ, पिटिपिटी मारिन्छ । तीन छोरा वर्ष १३ का सागर, १० का सुमन र वर्ष २ का सुशील । यीमध्ये दुई घर नजिकैका सूर्योदय माध्यमिक विद्यालयमा पढ्दैथे । यही विद्यालयमा सामाजिक विषयका शिक्षक हुन्, हीरा लामा । १५ महिनाअगाडि अस्थायी शिक्षकको रूपमा प्रवेश गरेका ।

यसअघि उनैले पटक–पटक मेरी भाउजूलाई मार्ने प्रयास गरेका हुन् । ०७० सालको निर्वाचनताका माओवादी पार्टीलाई भोट हाल्न दबाब दिएका थिए । तर, दाजुले उनीहरूले भनेको मान्नुभएन । यही समय चिर्पटले हानेर दाजुको टाउको फुटाएका थिए ।

भाउजूको स्वभाव अलि छुच्चो । मादक पदार्थ पिइरहनुपर्ने । २० मंसिरमा छिमेकी नरेश तामाङकोमा काम गर्न जानुभएको रहेछ, फर्कंदा बाटोमा जम्काभेट भएछ, काइँली लामासँग । काइँली हीराकी आमा । उनैले भुतल्दै–लुच्छ्दै सूर्योदय स्कुलको आँगनसम्म ल्याइन् । बोक्सी राँडलाई यहीँ मार्छु भन्दै स्कुलमा रहेको पोलमा बाँध्न छेडुपकी श्रीमतीसँग नाम्लो मागिन् ।

यही बीचमा हीरा, उनकै आमा काइँली र छेडुपकी श्रीमती मिलेर मेरो भाउजूलाई पोलमा बाँधियो । हीराले जुत्ता–जुत्ताले छातीमा प्रहार गरे । हीराकी आमाले भने चाउचाउको खोलमा मान्छे र सुँगुरको दिसा मिसाएर जबर्जस्ती कोच्याए । मरणासन्न हुनेगरी पिटेर छाडिदिए । यो घटना प्रत्यक्ष रूपमा भतिज सुमनले देखेको रहेछ । उसले प्रहरीलाई बयान पनि दिएको छ ।

मेरो भाउजूलाई निर्घात चुट्नेले अर्काे चतु¥याइँ गरे । भोलिपल्ट काइँली र छेडुपहरू चौबास प्रहरी चौकीमा पुगेर निवेदन दर्ता गराए मानहानीको । पिटाइसँगै मलमुत्र कोच्याउने मेरै भाउजूलाई अनि मानहानी हुनेचाहिँ छेडुप र काइँलीहरूको ? अज्जब दुँनिया, गज्जबको चाल भनेको यही होला । त्यहाँ छेडुपले उजुरी गरेका थिए, भाउजूले उनीहरूको भैंसी काटिन् भनेर ।

उनीहरूले कसरी सुनियोजित ढंगले हामीमाथि प्रहार गरे भन्ने यो एउटा उदाहरण हो । त्यहाँ निवेदन पुगेको थियो २१ गते । २० गते बेलुका भाउजूमाथि दुव्र्यवहार भएको हो । २२ गते दाजु काठमाडौंबाट गाउँ फर्कनुभयो । गाउँबाट करिब डेढ घण्टाको दूरीमा छ, चौबास चौकी । उनीहरूले निवेदन दर्ता गराएको एक दिनपछि आए प्रहरी । भाउजूले गर्धनमा हानेको भनिएको भैंसी हेर्नुपर्छ कि पर्दैन प्रहरीले ? भाउजूको शरीरभरि भएको नीलडामबारे सोधपुछ गर्नुपथ्र्याे कि पर्दैनथ्यो ? उ

ल्टै दुई वर्ष पुरानो घटनाको विषय बल्झायो । दुई वर्षअगाडि माइली लामासँग झगडा हुँदा पिटापिट भएको र सोबापतको पाँच हजार क्षतिपूर्ति दिनुपर्ने प्रहरीले ठहर ग¥यो । हिसाब चुक्ता नगरेको भन्दै पिटाइ र दिसा कोच्याइएकी भाउजूलाई एक महिनाको अल्टिमेटम दियो प्रहरीले । यति मात्र होइन, यो पैसा नतिरे गोठमा बाँधेको गाई नै लैजाने धम्की दिएर प्रहरी फर्कियो ।

शरीरभरका घाउ देखाउँदा उल्टै जाँड खाएर लडेको आरोप लगायो । घटनाको त्यही समयमा सत्यतथ्य अनुसन्धान गरेको भए भाउजूको हत्या हुन पाउँदैनथ्यो । असई प्रेमपुकार चौधरीको कमजोरीका कारण एउटा दलित महिलालाई मलमूत्र खुवाएर हत्या गरियो । अघिल्लो दिन यिनै असईसहितको टोलीले यसरी थर्काएको भोलिपल्ट बिहानै घर नजिकैको गोठमा भाउजूको शरीर हत्या गरिएको अवस्थामा फेला प¥यो । अहिले यही अभियोगमा दाजु मिलनलाई समेत प्रहरीले दोषी करार गरेको छ । उनीसहित हीरा, काइँली र निर्माया तामाङलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

यो पूर्वराज्यमन्त्री रेशम लामा, गणेश लामा, तीर्थ लामा, शेरबहादुरको गाउँ हो । यहीं नजिकै छ, अनेरास्ववियुकी नेत्री नवीना लामाको गाउँ । यति धेरै नेता जन्माएको ठाउँमा एउटी दलित महिलामाथि जघन्य अपराध हुँदासमेत कसैले मुख खोलेका छैनन् । यसको मतलव हामी कुनै दलका होइनाँै ? सायद हामी कुनै पार्टीका थियौँ भने घटनाले अर्कै मोड लिइसकेको हुन्थ्यो होला । एउटी निहत्था महिलालाई दिसा कोच्याइँदा बस्तीका मान्छे रमिते बनेर हेर्छन् ।

लरमा बाँधेर निर्घात चुटिँदा कसैले छुट्याउन चाहँदैनन् भने यो हामी सिंगो दलितमाथिको प्रहार नभएर अरू के हो ? घटना भएको १५ दिन बितिसक्दासमेत सत्यतथ्य प्रकाशमा आउन सकेको छैन ।

हीरा यो गाउँका वडाध्यक्ष हुन् । सबैलाई थर्काउँदै, चुट्दै हिँड्ने बानी हो । यही कारण पनि उनीसँग सिंगो गाउँ डराउँछ । जुन विद्यालयको आँगनमा भाउजूलाई चुटियो, पिटियो सो विद्यालयका प्राचार्य गंगा लामा हुन् । जसले मेरो भाउजूको हत्या ग¥यो उसलाई कडाभन्दा कडा सजाय होस् । एउटै चिन्ता छ, अब हामी चार घरपरिवार यो गाउँमा कसरी सुरक्षित रहन सक्छांै ?

भोलि यो ठाउँमा हाम्री भाउजूजस्तै अन्य सदस्यको यही हाल नहोला भन्ने ग्यारेन्टी के छ ? जहाँ पैसा बोल्छ, त्यहाँ बोल्छ डर–त्रास अनि हाउगुजी । यो घटनामा पीडितले साँच्चै न्याय पाउन सक्छन् कि सक्दैनन् ? यो केस अहिले एसपी सहकुल थापासम्म पुगेको छ । हामीजस्ता पीडितले न्याय पाउँछौं र यही स्थानमा निर्धक्कसँग बाँच्न चाहन्छौं । त्यो वातावरण राज्यले मिलाइदिनुपर्छ र दोषी हत्यारालाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।

– श्याम नेपाली, सानोवाङथली, काभ्रे

टिप्पणीहरू