पक्राउ परेका तिब्बती शरणार्थीलाई छाडियो

आज बिहान स्वयम्भूस्थित एउटा गुम्बामा निषेधित कार्यक्रम गरेबापत समातिएका दुई जना तिब्बती शरणार्थी साँझ रिहा भएका छन् । स्थानीय थिक्चिन साङ्नाङ छोइलिङ गुम्बामा आयोजित कार्यक्रममा तिब्बती शरणार्थीहरूले आयोजना गरेको प्रतिनिधि छनौटसम्बन्धी निर्वाचन कार्यक्रममा पक्राउ परेका नुर्बु लामा र कर्मा घ्याछौलाई प्रहरीले साँझ पौने ७ बजे छाडेको हो ।

झण्डै दुई दर्जन तिब्बती शरणार्थी सहभागी कार्यक्रममा प्रहरीले निर्वाचन गर्न नपाइने भन्दै दुई जनालाई पक्राउ गरेको थियो । स्वयम्भू क्षेत्रमा बसोबास गर्दै आएका तिब्बती शरणार्थीहरूले निर्वाचन कार्याक्रममार्फत् पाँच जना प्रतिनिधि छनौट गर्न लागेका थिए ।

तर महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले निर्वाचन गर्न ठिक्क पारिएको नामावलीसहितको रजिस्टर, निर्वाचनसम्बन्धी सबै कागजात र निर्वाचन प्रक्रियामा खटिएका दुई जनालाई सोधपुछको लागि बिहानै वृत्तमा पुर्याएको हो ।

पक्राउ परेका नुर्बु लामा र कर्मा घ्याछौलाई प्रहरीले मानव अधिकारकर्मी शम्भु लामाको रोहबरमा अन्य क्रियाकलाप नगर्ने शर्तमा छाडेको बताइएको छ ।

टिप्पणीहरू