कांग्रेसमा कोट्याइन थालिएका नयाँ कुरा

अब शेरबहादुर देउवा प्रधानमन्त्री होलान् भन्ने आश कांग्रेसले नै मार्न थालिसके । पछिल्लो समय भारतीय चासो बढेसँगै नेपाल मामिलामा चीन आक्रामक भएर आएको छ । उसले आफ्नो प्रतिकूलतामा भएका सबै गतिविधिलाई नियाल्दै अविश्वासिला भए पनि पुष्पकमलहरूलाई खबरदारी गर्न थालिसकेको छ । र, शेरबहादुरलाई रोक्नुपर्छ भन्नेमा अब प्रचण्ड नै लाग्ने अवस्था छ । कांग्रेस नेता नै भन्छन्, ‘शेरबहादुरजी चाहिनेभन्दा बढी भारतपरस्त बने ।’

प्रधानमन्त्रीले यो साता संविधान संशोधन विधेयक र स्थानीय निर्वाचनबारे गरेको औपचारिक र अनौपचारिक छलफलमा कांग्रेसलाई उति महŒव नदिएबाट पनि बुझ्न सकिन्छ, कांग्रेसका निम्ति माओवादीसँगको अबको सहयात्रा सहज छैन । देउवालाई संशोधन टेबुल मात्रै भए पुग्ने तर प्रचण्डलाई संशोधन अगाडि बढ्दा आफ्नो पार्टीभित्रै ‘धार्नी मिलाउन’ हम्मे पर्ने कारण आलटाल भएको देखिन्छ । संशोधन प्रस्ताव अगाडि नबढाई चुनावमा नजाने मधेसी गठबन्धनले त्यो प्रस्ताव असफल भएपछि पनि चुनावमा जान्छु भन्दैन । तर, संशोधनलाई पछि सारेर चुनावलाई अगाडि ल्याउने गरी प्रचण्ड र मधेसी मोर्चासम्बद्ध नेताबीच अनौपचारिक छलफल भइरहेको बालुवाटारस्रोतले बताएको छ । देउवाका निम्ति संशोधन र चुनावभन्दा मुख्य कुरा पूर्वसम्झौताबमोजिम नेतृत्व परिवर्तनको हो । एउटा निर्वाचन माओवादीले गराएलगत्तै अर्को निर्वाचन गराउने गरी देउवा प्रधानमन्त्री हुने सरकार गठनपूर्वको सहमति यतिबेलासम्म संकटमा परिसकेको छ । माओवादी सरकार नछाड्ने, बरु एमालेसँग मिल्ने गरी विभिन्न सर्त तयार पारेर बसेको छ ।

उता, देउवाले खुमबहादुर खड्कासँग महामन्त्री सिफारिस गर्न अनुरोध गर्दा खुमबहादुरले पूर्णबहादुर खड्काको नाम दिए । तर, शेरबहादुर चाहन्छन्, ज्ञानेन्द्र कार्की । बालकृष्ण खाँणहरू पनि ज्ञानेन्द्रलाई कुनै हालतमा दिन नमान्ने । बालकृष्ण आफैँ महामन्त्रीको दाबेदार हुन् । त्यसमाथि ज्ञानेन्द्र बनाउने अवस्थामा पूर्णबहादुर अगाडि सार्दा ज्ञानेन्द्र रोकिएलान् भन्ने हिसाब हो । विमलेन्द्र निधि पूर्णबहादुरभन्दा ज्ञानेन्द्र नै हुन् भन्ने चाहने । किनभने, ज्ञानेन्द्र ‘यसम्यान’ मात्र हुन् । पूर्णबहादुरचाहिँ वैचारिक, तार्किक र कुशल संगठक पनि । उनलाई अहिले महामन्त्री बनाउनु अबको महाधिवेशनमा सभापतिको उम्मेदवार हुनु हो । तर, विमलेन्द्र अहिले उपसभापति भएर अर्कौपालि सभापतिका लागि तयार हुने रणनीतिसाथ अघि बढेका छन् । अर्कातिर, पाएको मन्त्री पनि छाडेर गोपालमान श्रेष्ठ उपसभापति बन्ने दिन पर्खिरहेका छन् । बरु, पदाधिकारी नथप्ने तर पूर्णबहादुरलाई हुन नदिने विमलेन्द्रको दाउ हो ।

कांग्रेसको दलित संघको अधिवेशन फागुनमा हुनुपर्ने । तर, मन्त्री पद नपाएर मुर्मुरिएका मीनबहादुर विश्वकर्मामा अझै अधिवेशन गराउने चालचुल छैन । रामचन्द्र पौडेलहरूले फागुनसम्म मात्र पर्खिएका छन्, नत्र समानान्तर दलित संघ घोषणा गर्न मात्रै बाँकी छ । उनले प्रकाश स्नेहीलाई अगाडि सारेका छन् । उनी पहिलाका महासचिव हुन् । पार्टीको केन्द्रीय सदस्यमा चौथो नम्बरमा (हारेका) व्यक्ति हुन् । दलितको तीन सिटमा मानबहादुर, मीनबहादुर र जीवन परियारले जिते तर उनले हारे । उनी बझाङका बासिन्दा हुन् ।

त्यस्तै भाँडभैलो छ, नेविसंघमा । स्ववियु चुनावमा २८ वर्षको उमेरसीमा तोकिनुपर्ने मुख्य माग नै ४३ वर्षीय सभापति नैनसिंह महरको हो । तर, अहिले २८ भए चुनावमै जान्नौँ भन्ने त्यही नेविसंघ ! मान्छे नभएर होइन, नेता बूढा भएर नेविसंघ अत्तालिएको छ । १० वर्षपछि नेविसंघको अधिवेशन भयो । २० वर्षदेखि काम गर्दै आएको विद्यार्थी ३० वर्षका भइसके । ०६४ देखि स्ववियु निर्वाचन भएको छैन । त्यतिबेला आइएमा भर्ना भएका १७ वर्षीय विद्यार्थी अहिले २७ वर्ष पुगे । तिनले सरासर पढ्दा पनि व्याचलर सकिवरी आ–आफ्नो मेलोमेसोमा लागिसके । उपाध्यक्ष उर्मिला थपलियाले शशांकको सेवा गर्दागर्दै ४० नाघिन् ।

महामन्त्री सरोज थापालाई ३९ वर्षीय स्वास्थ्यमन्त्री गगन थापाले दाइ भन्छन् । कुन्दन ३६ वर्षका हुन् । कार्यसमितिमा २८ मुनिका बिरलै छन् । क्याम्पसमा चुनाव उठाउनैका लागि त २८ वर्षीय विद्यार्थी पाइएलान् तर नेविसंघ नै भनेर ज्यान फाल्ने विद्यार्थी त्यो उमेरका कम छन् । बरु, अखिलमा ३८ वर्षीय नवीना लामा अध्यक्ष, ३६ वर्षीय ऐन महर महासचिव, त्यति नै उमेरकी रश्मि आचार्य उपाध्यक्ष, ३२ वर्षीय सुदेश पराजुली, समिक बडालहरू नेतृत्वमा छन् । तल पनि त्यहीअनुसार कार्यकर्ता उत्पादन भइरहेका छन् ।

टिप्पणीहरू