भित्रका व्यथा झन् भयंकर

विभिन्न मुद्दामा सजाय कटाइरहेका महिला जेलभित्रै ठगिएका छन् । समय–समयमा विभिन्न कारणले चर्चामा आइरहने जनता महिला केन्द्रीय कारागार फेरि पनि चर्चामा छ । कारागारभित्रका कैदीबन्दीको सहयोग र सुविधाका लागि नाइके कैदीबन्दीबाटै छानिन्छ । तर, लामो समयदेखि जेल प्रशासन र केन्द्र नाइकेको मिलेमतोमा अनियमितता हुँदै आइरहेको छ ।

जेलर, डिएसपी फेरिएपिच्छे नियम परिवर्तन हुँदै आइरहेको जेलमा हरेक नाइके आउटर निस्कने र लामो अनुभवका आधारमा बैदार, चौकीदार हुने नियम भएपछि यो पटक पनि नियम मिच्दै पैसा दिएकै भरमा कामदारी नै नबसी कुनै जरिवाना तिर्न नसकेर जेल बिताइरहेकी सरिता बस्नेतका भाइ बैदार बनेकी छन् । यो निर्णयले धेरै कामदारी नाइके निराश बनेका छन् । उनी वर्तमान चौकीदार पासाङ वाइवाको निकट भएकै कारण र पैसा तिरेकै कारण जरिवाना नतिरेकाले जेल बसेकी भए पनि भाइलाई बैदार बनाएकी छन् । जबकि जरिवानामा बस्नेले आउटर नाइके नपाउने व्यवस्था छ । मंसिरमा पनि जेलरको समयमा पैसाकै चलखेल बढेका कारण व्यापक विरोध भएकाले जेठमा चौकीदार दुर्गा श्रेष्ठ, हेडमास्टर सपना केसी र भाइ चौकीदार आशा लामा (तीनै जना लागुऔषध) लाई सरुवा फ्याँकिएको थियो ।

लाइबे्ररी नाइके मनमेन्दो लामा (जिमावे) समेतलाई फ्याँकिएको थियो । प्रमाण फेला परेपछि जेलर, डिएसपी र पुलिस, प्रशासनमा पनि सरुवा फ्याँकेर कुरा गुपचुप बनाइयो । हाल उनीहरू नुवाकोट र रसुवाको कारागारमा जेल जीवन बिताइरहेका छन् । हाल जेलरको मिलेमतोमा चौकीदार पासाङ वाइवा र बैदार अनिला श्रेष्ठले (दुवै ला.औं)कसैलाई थाहै नदिई दुई जना स्टाफ नाइके निकालेका छन् । लामो सयम कामदारी गरिसकेका भित्रका नाइके यो निर्णयबाट रुष्ट छन् ।
भित्रै ढुकुटी
बाहिर, ढुकुटी खेलेकै कारण जेलभित्र पुगेका महिला भित्रै ठगिने गरेका छन् । आउटर नाइकेबीच ढुकुटीको ठूलो चलखेल हुने गरेको भए पनि जेल प्रशासन मौन छ । नाइके ढुकुटी खेल्ने र सर्वसाधारणसँग सापट पैसा लिने र नतिर्ने गरेका छन् । सर्वसाधारणको दालको पैसासमेत ढुकुटीका लागि चलाउने गरेका छन् । जसकारण समय–समयमा झगडा हुने गरेको छ । जसमा चौकीदार पासाङ, भाइ चौकीदार तिलमाया लामा बैदार अनिला श्रेष्ठ, भाइ बैदार सरिता बस्नेत, शान्ति तामाङ, मीरा केसी निसा दिनाल, मेरिना शाक्य, सरिता खनाललगायत छन् ।

अचाक्ली महँगो
जेलको गेटभित्र पुगेपछि ५० रुपैयाँको सामानको मूल्य ३ सय ५० हुने गरेको छ । हरेक सामान चौबर मूल्य हालेर किन्न सर्वसाधारण बाध्य छन् । जेलभित्र चौकीदारले किराना र बैदारले कस्मेटिक पसल गरेका छन् । उनीहरूले सबै सामानको मूल्य आफैं निर्धारण गर्छन् । अनुगमन गर्न गएकाहरूलाई पोल लगाएमा सरुवा फ्याँकिदिने भन्दै धम्क्याउने गरेका कारण पुलिस चुप बस्ने गरेका छन् । जेलभित्र आर्थिक कारोबार ठूलो हुने गरेको छ ।

सबैलाई पागलको औषधि
कारागारभित्र मेडिकल (फार्मेसी) उपलब्ध भए पनि सर्वसाधारणले सिटामोल खान पनि हस्पिटल नाइकेको गुलामी गर्नुपर्छ । रुघाखोकी लागेका बिरामीलाई समेत पागलले खाने औषधि दिने गरिएको छ । औषधि बाँड्न नेपाली तथा अंग्रेजी अक्षरसमेत नजान्ने निरक्षर ल्याम्मू तामाङलाई (जो चाइनिज हुन) राखिएको छ । जसकारण धेरै महिला आफ्नो स्वास्थ्यमा खेलवाड भएको भन्दै असन्तुष्ट छन् । अस्पताल नाइके सरिता खनाल आफैं पनि औषधिसम्बन्धी ज्ञानबाट अनविज्ञ छिन् ।

उनको हेलचेक्र्याइँले धेरै बिरामी अलपत्र छन् सबै उपचार खर्च सरकारले व्यहोर्ने भए पनि खनालले बिरामी कैदीबन्दीबाट पैसा लिने गरेकी छन् । उनको लापरबाहीले मानसिक सन्तुलन गुमाउनेहरू अझ बढेका छन् । महिला कारागारमा विभिन्न समस्या भए पनि जेल प्रशासन मौन छ । कैदीबन्दीको आफन्तले ल्याइदिएको रकम पनि चौकीदार आफैंले चलाउने (जुन गेटबाटै उनी लिन्छिन्) र २/३ महिनापछि मात्र दिने गरिएको छ । सरुवा फ्याँकिदिने डरले कैदीबन्दी मौन छन् । कैदीबन्दीकै सुविधाका लागि नाइके राखिन्छ तर उनीहरूको व्यवहारले कारागारभित्र पुलिस झन् मर्कामा छन् । भित्रका कामदारी नाइकेले भन्दा आउटर नाइकेले आफ्नो सुविधामा बढी प्रयोग गर्छन् ।

फोनको फारम भर्न ५ रुपैयाँ
हरेक साता कैदीबन्दीले फोन गर्ने फारम भर्न ५ रुपैयाँ तिर्ने गर्छन् । जबकि फोन कार्ड अलग किन्नुपर्छ । फोन नाइकेले हरेक कैदीबन्दीसँग पैसा लिँदै फर्म भर्ने गरेका छन् । हरेक क्षेत्रमा कैदीबन्दी महिला पीडित र शोषित भए पनि जेल प्रशासन चुप छ । धेरै पटक प्रशासनमा गुनासो पोखे पनि कुनै सुनुवाइ भएको छैन ।

– केन्द्रीय महिला कारागारका पीडित बन्दी

टिप्पणीहरू