मात्र एउटा पत्रको करामत
पूर्वमुख्यसचिव तथा हाल चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले फेसबुकमा लेखेको एउटा स्टाटस भाइरल बन्यो । बाग्मती सफाइका अभियन्ता उनले स्थानीय समुदायले बाग्मती किनारमा रोपेका बिरुवा केही व्यक्तिले नष्ट गरेकोमा चिन्ता प्रकट गर्दै ती बिरुवाको संरक्षण गर्न वर्तमान मुख्यसचिव सोमलाल सुवेदीको ध्यानाकर्षण गराउन फेसबुकमा गहकिलो स्टाटस लेखेका थिए । पौडेलले सुवेदीलाई संबोधन गर्दै निवेदन शैलीमा लेखेको कुरालाई थुप्रै नेपाली अनलाइन सञ्चारमाध्यमले समाचार बनाएपछि सिंहदरबारमा खैलाबैला मच्चिएको छ ।
सुवेदी तत्काल परिपत्र जारी गर्न बाध्य भए । तत्काल कदम चालेकामा केही स्याबासी पनि पाए । तर, सो परिपत्र हात्तीको देखाउने दाँत मात्र भएको त्यतिखेर प्रमाणित भयो जतिखेर उनले परराष्ट्र सचिवलाई बोलाएर रोष व्यक्त गरे । गतसाता मुख्यसचिव सुवेदीले शंकर बैरागीलाई कार्यकक्षमा बोलाएर नराम्रोसँग गाली गरे । उनले पूर्वमुख्यसचिवको रिस बैरागीलाई पोखेका रहेछन् ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीले जनआस्थालाई बताएअनुसार सुवेदीले भने, ‘राजदूत भएर क्षेत्राधिकारभन्दा बाहिर गई सामाजिक सञ्जालमा जथाभावी लेख्न पाइन्छ ? बाग्मतीका बिरुवा उखेलियुन् कि रहुन् के चासो ? बेइजिङदेखि पत्र लेखेर हाम्रो धज्जी उडाउने ? हाम्रो नाकमा बसेको झिँगा विदेशबाट देखाएजस्तो गरेर आफू लोकप्रिय हुन खोज्ने ? यहाँ हामीलाई केही थाहा छैन, उसलाई मात्र जानकारी भएजस्तो पो गर्छ ए ? हरेक व्यक्तिले आफ्नो ठाउँमा बसेर काम गर्नुपर्छ । तपाईंले पौडेललाई स्पष्टीकरण सोध्नुहोस् ।’
मुख्यसचिवले यसो भनेपछि वैरागी केही समय अल्मलिए । अन्कनाउँदै मुख्यसचिवलाई भने, ‘हैन यो कार्यले त मुख्यसचिवज्यूलाई नै सजिलो बनाएको छ नि हैन र ? सामाजिक सञ्जाल र सञ्चारमाध्यममा हजुरले चालेको कदमको प्रशंसा भएको छ । राजदूत पौडेलले पनि पत्रमा हजुर सक्षम र जिम्मेवार हुनुहुन्छ भनेर प्रशंसा गर्नुभएको पढेको थिएँ । फेरि स्पष्टीकरण कसरी सोध्ने ? उहाँ राजदूत भएर पनि एउटा जिम्मेवार नागरिकका हैसियतले बाग्मती सफाइ र त्यहाँको सौन्दर्यप्रति चिन्ता प्रकट गर्न पाउने अधिकार त छ नि हैन ? यति भनिसक्दा सुवेदीले वैरागीको सातो खाएका थिए । उनले भने, ‘तपाईं मलाई सिकाउने ?’
मुख्यसचिव सुवेदी राजदूत लीलामणि पौडेलसँग रिसाउनुको भित्री कारणचाहिँ ठेकेदारको दबाब रहेछ । विश्व बैंकको ऋण सहयोगमा बाग्मती नदी किनार तटबन्धको ठेक्का लागेपछि स्थानीय समुदायले तीन वर्षअगाडि रोपेर हुर्काएका बिरुवा नष्ट गर्ने काम शुरु भएको छ । ती बिरुवालाई आफ्ना सन्तानजत्तिकै माया गर्ने स्थानीय समुदायले त्यसरी ठेक्का नलगाउन बारम्बार अनुरोध गर्दा पनि नमानिएपछि ठेकेदारले बिरुवा तहसनहस बनाउँदै बालुवा झिक्ने, इँटा र ढुंगा झार्ने, तारबार काट्ने, काम गरिरहेका थिए ।
राजदूत पौडेलको पत्र सञ्चार माध्यममा आएपछि रोक्नुपर्ने बाध्यता मुख्यसचिवको काँधमा आयो । बाग्मती सफाइ अभियन्ता, सामाजिक सञ्जाल र सञ्चारमाध्यमको दबाबमा परेर उनले परिपत्र त जारी गरे तर त्यसपछि ठेकेदार कम्पनीले दबाब दिन थाल्यो । राजदूतले संबोधन गरेर पत्र लेखेपछि कारबाही नगरौँ भने आफू निरीह देखिने डर उनीमाथि परेको थियो । पौडेल मुख्यसचिव हुँदा र हटेपछि पनि बाग्मती सफाइमा लागेकाले उनको सामाजिक उचाइ चुलिएको हो ।
यस्तो अवस्थामा कारबाही गर्दा सुवेदीले पनि थोरै जस पाउँथे तर लीलामणिको पत्रले कारबाही गर्न बाध्य भएको जस्तो देखिन गयो । त्यसमाथि ठेकेदारले उनलाई त्यस्तो परिपत्रमार्फत आफ्नो काममा भाँजो हालेको आरोप लगाउन थाल्यो । तेहेरो चेपुवामा फसेपछि यो सबै समस्याको जड उनले राजदूत लीलामणि पौडेललाई ठानेका रहेछन् । मौसम सुख्खा भए पनि यतिबेला मुख्यसचिव सोमलाल सुवेदीलाई बाग्मतीले बगाउन थालेको छ ।
टिप्पणीहरू